टेलिफोन संवादका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिए। उनले बाढीमा परी बेपत्ता भएका सबै नागरिकहरूको खोजी कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे।
विपद्को यस कठिन घडीमा न्यूजिल्याण्ड सरकारले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहायताप्रति प्रधानमन्त्री शाहले विशेष धन्यवाद तथा कृतज्ञता व्यक्त गरे।
सो अवसरमा प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च जोखिमयुक्त र संवेदनशील राष्ट्रको रूपमा रहेको उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा 'क्षति तथा नोक्सानी' (Loss and Damage) सम्बन्धी वित्तीय सहयोग जुटाउनका लागि न्यूजिल्याण्ड सरकारको रचनात्मक सहयोग र साथको अपेक्षा गरे।
वार्ताका क्रममा न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै न्यूजिल्याण्ड सरकार र त्यहाँका जनताको तर्फबाट हार्दिक समवेदना तथा ऐक्यबद्धता प्रकट गरेका थिए।