भारतको शेयर बजारमा सबैभन्दा रोचक पक्ष, शेयर किनबेच गर्ने कम्पनीले नै आईपीओ ल्याउँदै

Sep 14, 2026 05:48 PM Merolagani



भारतको शेयर बजारमा आगामी बिहीवार अर्थात सेप्टेम्बर १७ तारिखमा अचम्मको घटना हुँदैछ ।

अर्थात  जसले भारतमा लाखौँ लगानीकर्तालाई शेयर किनबेच गर्ने मञ्च दिएको छ, त्यही राष्ट्रिय शेयर बजार अर्थात् नेसनल स्टक एक्सचेन्ज (एनएसई) अब आफैं सार्वजनिक कम्पनीका रूपमा शेयर बजारमा प्रवेश गर्दैछ।

एनएसईको लामो समयदेखि प्रतीक्षित प्राथमिक शेयर निष्कासन आगामी सेप्टेम्बर १७ मा खुल्ने र सेप्टेम्बर २१ मा बन्द हुने तय भएको छ। सेप्टेम्बर १६ मा ठूला संस्थागत लगानीकर्ताका लागि प्रारम्भिक बोलकबोल हुनेछ र शेयरको कारोबार सेप्टेम्बर २४ आसपास सुरु हुने अपेक्षा गरिएको छ।

यो केवल अर्को ठूलो कम्पनीको आईपीओ होइन। जुन संस्थाले अरू कम्पनीलाई शेयर बजारमा ल्याउँछ, त्यही संस्था पहिलोपटक आफैं शेयर बजारमा आउनु यसको सबैभन्दा रोचक पक्ष हो।

 

एनएसईको सार्वजनिक सूचीकरण नयाँ कुरा होइन। कम्पनीले सार्वजनिक रूपमा शेयर जारी गर्ने प्रक्रिया धेरै वर्षअघि सुरु गर्न खोजेको थियो। तर नियामकीय तथा कानुनी विवादका कारण प्रक्रिया लामो समय रोकियो। अन्ततः भारतीय प्रतिभूति तथा विनिमय बोर्डले २०२६ मा आईपीओ अघि बढाउने अनुमति दिएपछि प्रक्रिया तीव्र भएको हो।

यसैले पनि यो आईपीओलाई भारतको शेयर बजार इतिहासकै महत्त्वपूर्ण सूचीकरणमध्ये एक मानिएको छ। एनएसई आफैं शेयर बजारमा सूचीकरण हुँदैछ, तर उसले आफ्नै शेयर बजारमा आफ्नो शेयर कारोबार गराउन भने पाउँदैन।

यसको कारण नियामकीय संरचना हो । उपलब्ध विवरणअनुसार एनएसईको शेयर बम्बई स्टक एक्सचेन्ज (बीएसई) मा सूचीकरण हुने व्यवस्था गरिएको छ । 

२२ हजार करोड भारुको शेयर बिक्री

हालको योजनाअनुसार एनएसईको आईपीओबाट करिब २२,५६० करोड भारु बराबरको शेयर बिक्री हुनेछ। मूल्य दायरा १,७०० देखि १,७८५ भारु तोकिएको छ। यो सबै पुराना शेयरधनीले आफ्नो शेयर बेच्ने प्रक्रिया हो, अर्थात् एनएसईले नयाँ शेयर सिर्जना गरेर पैसा उठाउने होइन। त्यसैले आईपीओबाट प्राप्त रकम कम्पनीको खातामा जानेभन्दा पनि शेयर बेच्ने विद्यमान लगानीकर्तातर्फ जानेछ।

कम्पनीले आईपीओबाट नयाँ पूँजी नउठाए पनि सार्वजनिक सूचीकरणले कम्पनीको शेयरलाई बजारमा कारोबारयोग्य बनाउँछ र त्यसको वास्तविक बजार मूल्य निर्धारण हुन्छ।

 ४६ अर्ब डलरको कम्पनी

१,७८५ भारुको माथिल्लो मूल्यमा एनएसईको मूल्यांकन करिब ४.४२ लाख करोड भारु अथवा ४६ अर्ब डलर पुग्ने अनुमान छ। यसले एनएसईलाई भारतका सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक बनाउने छ।

अझ रोचक कुरा के छ भने केही समयअघिसम्म दोस्रो बजारको अनौपचारिक कारोबारमा एनएसईको मूल्यांकन करिब ५५ अर्ब डलर आसपास पुगेको अनुमान गरिएको थियो। अहिले आईपीओको मूल्यांकन त्यसभन्दा कम राखिएको छ। यही कारण कतिपय प्रारम्भिक शेयरधनीले तत्काल सबै शेयर बेच्नुको सट्टा भविष्यमा अझ राम्रो मूल्य पर्खन खोजेका छन्। 

किन घटाइयो आईपीओको आकार ?

एनएसईले सुरुमा यसभन्दा ठूलो हिस्सा बिक्री गर्ने योजना बनाएको थियो। तर पछिल्लो योजनामा प्रस्तावित शेयर संख्या घटाइएको छ। रोयटर्सका अनुसार आईपीओको आकार १५ प्रतिशतभन्दा बढीले घटाइएको छ।

यसको एउटा अर्थ बजारका लागि महत्वपूर्ण छ—एनएसईका पुराना लगानीकर्ता कम्पनीको भविष्यको मूल्य अझ बढ्न सक्ने सम्भावनालाई लिएर आशावादी छन्।

अर्थात्, “अहिले बेचेर पैसा लिने कि केही वर्षपछि अझ महँगो मूल्यमा बेच्ने?” भन्ने प्रश्न एनएसईका पुराना लगानीकर्तासामु पनि छ।

एनएसई यति मूल्यवान किन ?

एनएसई केवल शेयर किनबेच गर्ने ठाउँ होइन। यसको आम्दानीका विभिन्न स्रोत छन्—शेयर कारोबार शुल्क, सूचीकरणसम्बन्धी शुल्क, तथ्यांक सेवा, कारोबारसम्बन्धी अन्य सेवा तथा वायदा–विकल्प कारोबार आदि।

विशेषगरी भारतीय वायदा तथा विकल्प बजारमा एनएसईको प्रभुत्व निकै ठूलो छ। यो विश्वकै सबैभन्दा सक्रिय व्युत्पन्न बजारमध्ये एक हो। साथै भारतको चर्चित निफ्टी ५० सूचकांक पनि एनएसईसँग जोडिएको छ।

त्यसैले एनएसईमा लगानी गर्नु भनेको एउटा साधारण वित्तीय कम्पनीमा लगानी गर्नु मात्र होइन, भारतको पूरै पूँजी बजारको पूर्वाधारमा लगानी गर्नु जस्तो देखिन्छ।