५० रुपैयाँको नयाँ नोट राष्ट्र बैंकले चलनचल्तीमा ल्याउँदै

Sep 18, 2026 01:05 PM Merolagani



नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै नयाँ नोटमा समावेश सुरक्षा विशेषतासहितको विवरण सार्वजनिक गरेको हो। नयाँ नोटमा सर्वसाधारणले सहजै पहिचान गर्न सक्ने विभिन्न सुरक्षा विशेषता राखिएको राष्ट्र बैंकले जनाएको छ।

नयाँ नोटको अगाडिको मध्य भागमा सगरमाथाको चित्र छ। दायाँ भागमा लालीगुराँसको फूल आकारको पानी छाप र बायाँ भागमा ‘५०’ अंकको पानी छाप राखिएको छ। नोटमा गभर्नरको दस्तखतसँगै विक्रम संवत् २०८२ उल्लेख गरिएको छ।

नोटको सुरक्षाका लागि १.२ मिलिमिटर चौडाइको सुरक्षा धागो राखिएको छ। उक्त धागोमा विशेष सुरक्षा प्रणालीमार्फत विभिन्न संकेत देखिने व्यवस्था गरिएको छ।

नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र राखिएको छ। त्यस्तै, नेपाल राष्ट्र बैंकको अंग्रेजी नाम तथा ५० रुपैयाँ जनाउने शब्द र प्रकाशन वर्षसमेत उल्लेख गरिएको छ।

राष्ट्र बैंकले नयाँ नोट चलनचल्तीमा आएपछि यसअघि जारी गरिएका ५० रुपैयाँ दरका नोट पनि यथावत रूपमा चलनचल्तीमा रहने स्पष्ट पारेको छ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।