नेपाल राष्ट्र बैंकको पछिल्लो वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरूले प्रवाह गरेको कुल धितोमा आधारित कर्जामध्ये सुन तथा चाँदी सुरक्षणमा प्रवाह भएको कर्जाले उल्लेख्य हिस्सा ओगटेको छ।
आव २०८२।८३ असार मसान्तसम्मकाे तथ्यांक विश्लेषण गर्दा सरकारी स्वामित्वका पुराना बैंकहरूले सुन तथा चाँदी धितो कर्जालाई प्राथमिकतामा राखेको देखिन्छ। कुल प्रवाह भएको १ खर्ब १६ अर्ब ३० करोड कर्जामध्ये दुई सरकारी बैंकहरू नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको मात्रै संयुक्त हिस्सा ८२.४६ प्रतिशत अर्थात् ९५ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी रहेको छ।

वित्तीय प्रतिवेदन अनुसार नेपाल बैंक लिमिटेड यस शीर्षकमा सबैभन्दा बढी कर्जा प्रवाह गर्ने बैंक बनेको छ। नेपाल बैंकले सुन तथा चाँदी धितोमा ५४ अर्ब ४० करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो बैंकले प्रवाह गरेको कुल २ खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ कर्जाको २०.७८ प्रतिशत हिस्सा हो।
दोस्रो स्थानमा रहेको अर्को सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ४१ अर्ब ५० करोड ८९ लाख रुपैयाँ सुन चाँदी धितोमा कर्जा दिएको छ। यो राष्ट्रिय वाणिज्य बैंकको कुल कर्जा प्रवाहको ११.९७ प्रतिशत हुन आउँछ।
निजी क्षेत्रका बैंकहरूमा प्राइम कमर्सियल बैंकले यस शीर्षकमा सर्वाधिक कर्जा प्रवाह गरेको छ। प्राइम कमर्सियल बैंकले १० अर्ब ६९ करोड २४ लाख रुपैयाँ सुन चाँदी धितोमा लगानी गरेको छ, जुन बैंकको कुल कर्जाको ४.३७ प्रतिशत हो।
त्यस्तै नबिल बैंकले ३ अर्ब ७६ करोड १९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ सुन चाँदी सुरक्षणमा कर्जा प्रवाह गरेका छन्। सिटिजन्स बैंकले ८४ करोड ६३ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले ३४ करोड ७३ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले २४ करोड ७९ लाख रुपैयाँ र एभरेस्ट बैंकले ३ करोड ५२ लाख रुपैयाँ यस शीर्षकमा कर्जा दिएका छन्।
वाणिज्य बैंकहरूको सुन चाँदी धितो कर्जा विवरण:
| क्र.सं. |
वाणिज्य बैंकको नाम |
सुन चाँदी धितो कर्जा
(रुपैयाँ करोडमा)
|
कुल कर्जामा सुन चाँदी
धितोको हिस्सा (%)
|
| १ |
नेपाल बैंक |
५,४४०.३१ |
२०.७८% |
| २ |
राष्ट्रिय वाणिज्य बैंक |
४,१५०.८९ |
११.९७% |
| ३ |
प्राइम कमर्सियल बैंक |
१,०६९.२५ |
४.३७% |
| ४ |
नबिल बैंक |
३७६.२० |
०.७७% |
| ५ |
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक |
३२५.२१ |
०.९०% |
| ६ |
लक्ष्मी सनराइज बैंक |
११९.६६ |
०.३७% |
| ७ |
सिटिजन्स बैंक |
८४.६३ |
०.४८% |
| ८ |
एनआईसी एशिया बैंक |
३४.७४ |
०.१६% |
| ९ |
माछापुच्छ्रे बैंक |
२४.८० |
०.१४% |
| १० |
एभरेस्ट बैंक |
३.५२ |
०.०१% |
| ११ |
कुमारी बैंक |
०.४३ |
०.००% |
| १२ |
प्रभु बैंक |
०.४० |
०.००% |
| १३ |
कृषि विकास बैंक |
०.१७ |
०.००% |
| १४ |
एनएमबि बैंक |
०.०२ |
०.००% |
| कुल |
१४ वाणिज्य बैंकको जम्मा |
११,६३०.२३ |
२.४०% |
अन्य बैंकहरूको अवस्था हेर्दा कुमारी बैंकले ४३ लाख ३२ हजार रुपैयाँ, प्रभु बैंकले ३९ लाख ८८ हजार रुपैयाँ, कृषि विकास बैंकले १६ लाख ६० हजार रुपैयाँ र एनएमबि बैंकले १ लाख ९१ हजार रुपैयाँ मात्र सुन चाँदी धितोमा कर्जा प्रवाह गरेका छन्।
६ वटा वाणिज्य बैंकहरूको भने सुन तथा चाँदी धितो कर्जामा शून्य लगानी रहेको छ। नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सानिमा बैंकले असार मसान्तसम्म सुन तथा चाँदी धितोमा कुनै पनि कर्जा प्रवाह गरेका छैनन्।