लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा, सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार

Sep 22, 2026 02:51 PM Merolagani



सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन र चैनपुरमा निर्माण गरिएको १३२/३३/११ केभी सबस्टेसन सञ्चालनमा ल्याएको हो।

लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्म करिब २० किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको छ। चैनपुर सबस्टेसनमा ३० एमभीएका दुईवटा १३२/३३ केभी र २४ एमभीएको एउटा ३३/११ केभी पावर ट्रान्सफर्मर जडान गरिएको छ।

सबस्टेसनको कुल क्षमता ८४ एमभीए रहेको छ। स्थानीय विद्युत् वितरणका लागि ३३ केभीका पाँच र ११ केभीका छवटा फिडर सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।

आयोजना सञ्चालनमा आएपछि मलंगवा, हरिपुर, हरिपूर्वा, डुमरिया र बरहथवालगायत क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ। यसबाट न्यून भोल्टेज, बारम्बार हुने ट्रिपिङ र विद्युत् चुहावटको समस्या घट्नुका साथै बढ्दो विद्युत् माग व्यवस्थापनमा सहयोग पुग्नेछ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन प्रसारण तथा वितरण प्रणालीका पूर्वाधार विस्तार र सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताए।

आयोजना निर्माणका लागि २०७९ चैतमा १ अर्ब १२ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०८० वैशाखदेखि कार्यान्वयनमा आएको आयोजना नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण गरिएको हो।