नेपाल पर्यटन बोर्डले भदौ २६ गते सीईओ नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो। बोर्डको आधिकारिक सूचनाअनुसार योग्यता पुगेका नेपाली नागरिकले १० दिनभित्र आवेदन दिन सक्ने व्यवस्था थियो। आवेदनसँगै बोर्डको प्रभावकारिता अभिवृद्धि गर्ने रणनीतिक कार्ययोजना तथा आफ्नो अनुभव र उपलब्धिसम्बन्धी विवरणसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको थियो।
आवेदन दिनेमा बोर्डभित्र लामो समयदेखि काम गरिरहेका अधिकारीहरू उल्लेख्य संख्यामा छन्। निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐर, निमित्त निर्देशक लक्ष्मण गौतम र रोहिणीप्रसाद खनाल, वरिष्ठ प्रबन्धकहरू उदय भट्टराई, नवीन पोखरेल र सूर्य थपालिया, वरिष्ठ अधिकृत सुधन सुवेदी र सन्तोषविक्रम थापा तथा अधिकृत प्रज्ञा घिमिरे प्रतिस्पर्धामा छन्।
बोर्डका निमित्त सीईओ ऐर भने बोर्डमा २५ वर्षभन्दा बढी समयदेखि कार्यरत छन् र यसअघि पनि बोर्डका विभिन्न प्रमुख महाशाखाको नेतृत्व गरिसकेका छन्। उनलाई मन्त्रालयले गत वैशाखमा निमित्त सीईओको जिम्मेवारी दिएको थियो।
यसपटकको प्रतिस्पर्धामा बोर्डभित्रका कर्मचारीसँगै बाहिरका अनुभवी व्यक्तिहरू पनि छन्। पूर्वमन्त्री श्रद्धा श्रेष्ठ, पर्यटनविद् ज्ञानेन्द्ररत्न तुलाधर, ज्ञानेश्वर महतो, होटल संघ नेपालका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महत, प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुढाललगायतले आवेदन दिएका छन्।
ट्राभल व्यवसायी युविका भण्डारी र पर्यटन प्रवर्द्धन तथा डिजिटल क्षेत्रमा सक्रिय श्री गुरुङ पनि प्रतिस्पर्धामा रहेको उल्लेख छ। भण्डारी हालै सम्पन्न नाट्टा निर्वाचनमा वर्तमान अध्यक्ष भरतजंग पाण्डेबाट पराजित भएका थिए।
अब प्रतिस्पर्धाको निर्णायक चरण
बोर्डले आवेदन प्राप्त भएपछि पहिलो चरणमा उम्मेदवारहरूको योग्यता तथा कागजात परीक्षण गर्नेछ। त्यसपछि मापदण्ड पूरा गर्ने उम्मेदवारहरूको संक्षिप्त सूची तयार हुनेछ।
छनोट प्रक्रियामा रणनीतिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता मुख्य चरण हुनेछन्। त्यसपछि छनोट उपसमितिले उत्कृष्ट तीन उम्मेदवारको नाम बोर्ड सञ्चालक समितिमा सिफारिस गर्नेछ। अन्तिम निर्णय भने सञ्चालक समितिले गर्नेछ।
यसले गर्दा अहिले आवेदन दिएका व्यक्तिहरूमध्ये को अगाडि छ भन्ने निष्कर्ष निकाल्नुभन्दा सर्टलिस्ट, कार्ययोजना प्रस्तुति र अन्तर्वार्तापछि मात्रै प्रतिस्पर्धाको वास्तविक तस्वीर देखिनेछ।
सीईओ छनोटमा यसपटक नयाँ प्रक्रिया
बोर्डले यसपटक सीईओ छनोट तथा नियुक्ति सिफारिसका लागि नयाँ ‘कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३’ समेत सार्वजनिक गरेको छ। उक्त कार्यविधि बोर्डको आधिकारिक वेबसाइटमा उपलब्ध छ।
नेपाल पर्यटन बोर्डको सीईओ पद चार वर्षका लागि नियुक्त हुने महत्वपूर्ण कार्यकारी पद हो। यसअघि पनि बोर्डको सीईओ छनोटमा बोर्डभित्रका कर्मचारी र बाहिरका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुँदै आएको थियो। २०८० सालको छनोट प्रक्रियामा समेत बोर्डका हिक्मतसिंह ऐर, श्रद्धा श्रेष्ठ, लक्ष्मण गौतम, नवीन पोखरेललगायत कर्मचारीले आवेदन दिएका थिए।
यसपटक भने आवेदनको संख्या विगतभन्दा ठूलो देखिएको छ। अब प्रश्न आवेदन कसले दियो भन्नेभन्दा पनि सर्टलिस्टमा को पर्छ, कार्ययोजनामा कसले प्रभाव पार्छ र अन्ततः सञ्चालक समितिले तीनमध्ये कसलाई रोज्छ भन्नेमा केन्द्रित भएको छ।