टानका अनुसार कञ्चनजङ्घा, मकालु, सगरमाथा, रोल्वालिङ र हेलम्बु क्षेत्रका पदयात्रा मार्ग बाढीपहिरोबाट पूर्ण रूपमा अप्रभावित छन्। त्यसैगरी पश्चिम तथा सुदूरपश्चिम खण्डका धौलागिरी, डोल्पो, रारा, जुम्ला, हुम्ला, खप्तड, बडीमालिका, अपि र साइपाल क्षेत्र पनि पूर्ण रूपमा सुरक्षित रहेका छन्।
पोखरा र अन्नपूर्ण खण्डअन्तर्गत मनाङ र मुस्ताङका सबै पर्यटकीय स्थलहरू सुरक्षित छन्। माथिल्लो मुस्ताङको लोमान्थाङमा ५.३ म्याग्निच्युडको भूकम्पले केही निजी घर र गुम्बामा क्षति पुर्याए पनि पदमार्ग, चियाघर र सञ्चार सञ्जाल सञ्चालनमै रहेका छन्। तर, पृथ्वी राजमार्गको कृष्णभीरमा गएको पहिरोले सडक यात्रा प्रभावित भएकाले काठमाडौंबाट पोखराका लागि हवाई उडान गर्न वा बेनीघाट-फुजेल वा गल्छी-धादिङबेंसी-आरुघाट हुँदै आँबुखैरेनी निस्कने वैकल्पिक सडक प्रयोग गर्न सुझाइएको छ।

मनास्लु, चुम, नुब्री र लार्के पास क्षेत्र पदयात्राका लागि सुरक्षित रहेका छन्। बाढीले क्षति पुर्याएको घप र नामरुङ बीचको बाटोमा स्थानीयले काठको पुल बनाएपछि आवतजावत पुनः सञ्चालनमा आएको छ भने चौरीखर्कको पहिरो पनि हटाइएको छ। मलेखु पुल भत्किएकाले मलेखु-धादिङबेंसी सडकको सट्टा गल्छी-सुनौलाबाजार-धादिङबेंसी-सल्यानटार-आरुघाट हुँदै लापुबेंसी पुग्ने वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ। सुरक्षाका कारण यस क्षेत्रमा घोडा वा खच्चर प्रयोग नगर्न भनिएको छ।
लमटाङ, क्यान्जिन उपत्यका र गोसाइँकुण्ड गन्तव्य सुरक्षित रहे पनि बट्टार, बेत्रावती, धुन्चे हुँदै स्याफ्रुबेंसी जोड्ने सडक बन्द छ। यसका लागि पदयात्रीलाई काठमाडौंबाट सुन्दरीजल, हेलम्बु, ठाडेपाटी, घोप्टे, गोसाइँकुण्ड, ठूलोस्याफ्रु र लामाहोटल हुँदै लामटाङ पुग्ने र सोही बाटो फर्किने वैकल्पिक पदमार्ग प्रयोग गर्न आग्रह गरिएको छ। गणेश हिमाल र रुबी भ्याली क्षेत्र सुरक्षित रहे पनि धुन्चेको बाटो बन्द भएकाले धादिङबेंसी वा आरुघाटबाट वैकल्पिक बाटो प्रयोग गर्नुपर्नेछ।
नेपाल हुँदै कैलाश मानसरोवर जाने तीर्थयात्रीका लागि रसुवागढी र केरुङ नाका पूर्ण रूपमा बन्द रहेको छ भने कोदारी र तातोपानी नाका फर्किनेहरूका लागि मात्र खुला गरिएको छ। तीर्थयात्रीले प्रवेश र प्रस्थानका लागि सिमकोट-हिल्सा मार्ग वा ल्हासा हुँदै जाने हवाई तथा सडक मार्ग प्रयोग गर्न सक्नेछन्। मनसुन अझै पूर्ण रूपमा नसकिएकाले पदयात्रा अघि आवश्यक सावधानी र पूर्वतयारी अपनाउन टानले आग्रह गरेको छ।
