नेपाल पर्यटन बोर्डको नेतृत्वमा नौ वटा पर्यटन व्यवसायी कम्पनी तथा होटल सहभागी भएर जापानी पर्यटन व्यवसायी तथा उपभोक्तामाझ नेपालको पर्यटन बजारीकरण गरिरहेका छन् ।
‘भ्रमणको बदलिँदो स्वरूप’ भन्ने मूल नारासहित बिहीबारदेखि सुरु भएको चारदिने एक्सपो जापान ट्राभल एन्ड टुरिजम एसोसिएसन, जापान एसोसिएसन अफ ट्राभल एजेन्ट्स (जाटा) र जापान नेसनल टुरिजम अर्गनाइजेसन (जेएनटीओ) को संयुक्त आयोजनामा भएको हो । एक्सपोको १२औँ संस्करणको उद्घाटन समारोहमा जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गरेकी थिइन् ।
यस वर्षको एक्सपोमा नेपालसहित ७४ देश तथा जापानका ४६ प्रान्तबाट १ हजार ४२० कम्पनी तथा संस्थाका १ हजार ५५३ वटा बुथ रहेका छन् । आयोजकका अनुसार चार दिनसम्म चल्ने एक्सपोमा करिब १ लाख ८० हजार पर्यटन व्यवसायी तथा पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय सहभागीका लागि मात्रै ५९७ वटा स्टल छुट्याइएको छ ।
नेपालले जापानलाई आफ्नो महत्वपूर्ण पर्यटक बजारका रूपमा लिएर हिमाली गन्तव्य, पदयात्रा, लुम्बिनी, सांस्कृतिक सम्पदा, जैविक विविधता तथा अन्य पर्यटकीय गतिविधिको प्रवर्द्धन गरिरहेको छ। एक्सपोमा सहभागी नेपाली व्यवसायीहरूले जापानी ट्राभल एजेन्सी, पर्यटन व्यवसायी तथा उपभोक्तासँग प्रत्यक्ष सम्पर्क गर्दै नेपालका पर्यटन प्याकेज र सेवाबारे जानकारी दिइरहेका छन् ।
एक्सपोको पहिलो दुई दिन अर्थात् सेप्टेम्बर २४ र २५ मा व्यावसायिक सहकार्यका लागि पूर्वनिर्धारित ६ हजार ४५४ वटा ‘बीटुबी’ बैठक भइरहेका छन् । ती बैठकमा ८५५ क्रेता र १ हजार १९ विक्रेता सहभागी छन् । सेप्टेम्बर २६ र २७ मा भने सर्वसाधारणलाई लक्षित ‘बीटुसी’ कार्यक्रम सञ्चालन हुनेछ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रदीप गैरेका अनुसार एक्सपोको पहिलो दिनदेखि नै नेपाली पर्यटन व्यवसायीले जापानी ट्राभल एजेन्सी तथा व्यवसायीसँग व्यावसायिक भेटवार्ता गरिरहेका छन् । भेटवार्तामा जापानी बजारलाई लक्षित पर्यटन प्याकेज, पदयात्रा र अन्य पर्यटकीय सेवाका साथै नेपालको पछिल्लो पर्यटन अवस्थाबारे जानकारी आदानप्रदान भइरहेको छ ।
विशेषगरी हालैको भोटेकोशी बाढीपछि नेपालको पर्यटन क्षेत्रको अवस्था, विभिन्न पर्यटकीय गन्तव्य तथा पदयात्रा मार्गको सञ्चालन अवस्था र पर्यटक सुरक्षाबारे जापानी व्यवसायीलाई जानकारी दिइएको गैरेले बताए ।
“जापानी पर्यटन व्यवसायीलाई नेपालको वर्तमान पर्यटन अवस्था र पर्यटकीय गन्तव्य सुरक्षित तथा सञ्चालनमा रहेको विषयमा तथ्यगत जानकारी दिँदै बजारमा विश्वास अभिवृद्धि गर्ने प्रयास भइरहेको छ,” उनले भने ।
नेपाल पर्यटन बोर्डसँगै गोचाली टुर एन्ड ट्राभल्स, सुमेघ टुर्स एन्ड ट्राभल्स, हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्स्पेडिसन, लाङटाङ री ट्रेकिङ एन्ड एक्स्पेडिसन, घले ट्रेक्स एन्ड एक्स्पेडिसन, बुद्ध माया गार्डेन्स, रुपाकोट रिसोर्ट, छायाँदेवी कम्प्लेक्स (अलोफ्ट काठमाडौँ ठमेल) र गोरखा इन्टरनेसनल ट्राभल्स एक्सपोमा सहभागी छन् ।
बोर्डका वरिष्ठ अधिकृत युवराज गुरुङले नेपाल र जापानबीच लामो समयदेखि कायम पर्यटन तथा जनस्तरीय सम्बन्धलाई थप विस्तार गर्न एक्सपो महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएको बताए ।
प्राकृतिक विपद्पछि पनि अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको उपस्थिति निरन्तर कायम राख्नुपर्ने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय पर्यटन मेलामार्फत नेपालका पर्यटकीय गन्तव्य सञ्चालनमा रहेको र विदेशी पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश प्रवाह गर्न सकिने बताए ।
एक्सपो अवधिभर नेपालको स्टलमा आउने जापानी तथा अन्य अन्तर्राष्ट्रिय आगन्तुकलाई श्रव्य–दृश्य सामग्री, ब्रोसर तथा अन्य प्रवर्द्धनात्मक सामग्रीमार्फत नेपालको पर्यटनबारे जानकारी दिइनेछ । हिमाल, पदयात्रा, सांस्कृतिक सम्पदा, लुम्बिनी, जैविक विविधता र अन्य पर्यटकीय गतिविधिलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ ।
नेपाल पर्यटन बोर्डले यसपटकको सहभागितालाई सरकारी तहको प्रवर्द्धनमा सीमित नराखी निजी क्षेत्रसँगै जापानी बजारमा प्रत्यक्ष व्यावसायिक सम्पर्क विस्तार गर्ने अवसरका रूपमा उपयोग गरिरहेको छ । बीटुबी बैठकमार्फत जापानी पर्यटन व्यवसायीसँग व्यावसायिक सम्बन्ध विस्तार गर्ने र बीटुसी कार्यक्रममार्फत सम्भावित पर्यटकमाझ नेपालको पर्यटन उत्पादन पुर्याउने रणनीति अपनाइएको छ ।