जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणाली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पछिल्लो समय नेपालमा भारी वर्षा भएको हो।
विभागका अनुसार पछिल्लो २४ घण्टामा मकवानपुर, चितवन, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, पाल्पा र नवलपरासी पश्चिमका केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। कास्की, लमजुङ, बागलुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र सर्लाहीलगायत जिल्लामा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।
आज दिउँसो पनि पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ्नुका साथै पहिरोको जोखिम रहेकाले प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद्का अनुसार आज रातिदेखि भारी वर्षाको सम्भावना घट्नेछ। सोमबारदेखि भने देशभर मौसममा सुधार आउने र कुनै मौसमी जोखिम नरहने विभागले जनाएको छ।