यसका साथै उनले हालैको अविरल वर्षा, बाढी, पहिरो र हावाहुरीका कारण देशका विभिन्न जिल्लामा २१ जनाको मृत्यु भएको र ५ जना बेपत्ता रहेको जानकारी दिएका छन्।
आइतबार साँझ सामाजिक सञ्जालमार्फत देशवासीका नाममा सम्बोधन गर्दै उनले अझै जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन सबैमा अपिल गरेका हुन्।
असोज ८ गतेदेखि यता चट्याङ, बाढी, पहिरो र वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ नागरिकले ज्यान गुमाएका छन्। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले विपद्मा घाइते भएका ५ जनाको सम्पूर्ण उपचार खर्च सरकारले निःशुल्क बेहोर्ने बताए।
प्रधानमन्त्रीका अनुसार हालसम्म देशभर ४३९ वटा मनसुनजन्य विपद्का घटनाहरू दर्ता भएका छन्। मनाङको हिमपहिरोमा परेकासहित ५ जना नागरिक बेपत्ता रहेको र उनीहरूको खोजी तथा बाढीमा फसेकाहरूको उद्धारमा सुरक्षाकर्मीहरू अहोरात्र खटिरहेका छन्।
विपद्का कारण ऊर्जा क्षेत्रमा गम्भीर असर परेको छ। कालीगण्डकी करिडोर, मर्स्याङ्दी र सेती-मादी करिडोरबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको १,०१३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ।
जसमध्ये प्रसारण टावर ढल्दा ३१८ मेगावाट क्षमताका आयोजना पूर्ण रूपमा ठप्प भएका छन् भने जोखिम न्यूनीकरणका लागि सुरक्षात्मक उपायस्वरूप ६९५.२ मेगावाट उत्पादन बन्द गरिएको छ। विद्युत् पुनःस्थापनाका लागि प्राविधिक टोली परिचालन भइसकेको छ।
उता, नारायणी नदीमा आएको बाढीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि सावधानीका लागि पूर्व-पश्चिम राजमार्ग बन्द गरिएको छ। काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडक अवरुद्ध छन्।
कालीगण्डकीको पक्की पुल बगेको छ भने भोटेकोशी-त्रिशूली नदी तटीय सडकमा पुनः क्षति पुगेको छ। क्षतिग्रस्त सडक द्रुत गतिमा मर्मत भइरहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
महाकाली नदीमा बहाव उच्च भएपछि कञ्चनपुरको गड्डाचौकी भएर हुने नेपाल-भारत आवागमन प्रभावित भएको छ भने बनवासा पुलमा दुवैतर्फ सवारी रोकिएको छ।
सेती, नारायणी र कमला नदी तथा कुलेखानी क्षेत्रमा पनि पानीको बहाव उच्च भएकाले सतर्कता अपनाइएको छ। हावाहुरीसहितको वर्षाले किसानहरूको धान र तरकारी बालीमा समेत ठूलो क्षति पुर्याएको छ।
मौसम पूर्वानुमानअनुसार सरकारले पहिले नै रात्रीकालीन यातायात र विद्यालय बन्द गराएको तथा ७७ वटै जिल्ला कमान्ड पोस्ट सक्रिय बनाएका कारण हिमाली क्षेत्रका पदयात्री र विद्यार्थीहरू जोगिएको प्रधानमन्त्रीको भनाइ छ। प्रभावित परिवारलाई स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ।
प्रधानमन्त्री शाहले विपद्को जोखिम अझै नटरेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र संकट परेमा निःशुल्क नम्बर १२३४ मा फोन गर्न नागरिकलाई आग्रह गरे।