सयपत्री हाइड्रोपावरले बाढीका कारण विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको जानकारी गराएको छ भने यूनाइटेड अजोडले नयाँ महिला सञ्चालक नियुक्त गरेको छ। त्यस्तै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका सञ्चालकको राजीनामा स्वीकृत भएको छ।

बाढीले सयपत्री हाइड्रोपावरको २.५ मेगावाट विद्युत् उत्पादन र प्रसारण ठप्प
सयपत्री हाइड्रोपावर लिमिटेडको बागलुङ जिल्लास्थित दरमखोला ‘ए’ जलविद्युत आयोजना (२.५ मेगावाट) को विद्युत् उत्पादन तथा प्रसारण कार्य बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
कम्पनीका अनुसार असोज ९ गते शुक्रबार दरम खोलामा आएको भीषण बाढीका कारण आयोजनाको स्वीचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको हरिचौर सबस्टेसनसम्म रहेको ३३ केभी प्रसारण लाइनका पोल तथा तारहरूमा क्षति पुगेको छ। सोही क्षतिका कारण असोज ९ गते राति ११:०० बजेदेखि विद्युत् उत्पादन तथा प्रसारण बन्द भएको हो।
साथै, असोज १० गते रातिदेखि ताराखोला गाउँपालिकामा रहेका सञ्चार टावरहरूमा समेत विद्युत् आपूर्ति बन्द हुँदा आयोजनास्थलमा रहेका कर्मचारीहरूसँग सम्पर्क विच्छेद भएको कम्पनीले जनाएको छ। सञ्चार सम्पर्क पुनः स्थापित भएपछि आयोजनास्थलको थप क्षतिको विस्तृत विवरण सार्वजनिक गरिने कम्पनी सचिव रमेशप्रसाद भण्डारीले जानकारी दिएका छन्। हाल क्षति पुगेको संरचनाहरू चालु अवस्थाको बीमा व्यवस्थाअन्तर्गत बीमित रहेको कम्पनीले स्पष्ट पारेको छ।
यूनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व हुने गरी महिला सञ्चालक पदमा बिन्जु दाहाललाई नियुक्त गरेको छ।
कम्पनी सञ्चालक समितिको असोज ११ गते बसेको ८९ औँ बैठकले बीमा ऐन, २०७९ को दफा ४७ बमोजिम दाहाललाई महिला सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनीले उक्त नियुक्ति सम्बन्धी जानकारी नेप्सेलाई औपचारिक पत्रमार्फत गराएको छ।
सानिमा रिलायन्स लाइफका सञ्चालक तेज बहादुर चन्दको राजीनामा स्वीकृत
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक तेजबहादुर चन्दले दिएको राजीनामा स्वीकृत भएको छ।
सञ्चालक चन्दले आफ्नो व्यक्तिगत कारण देखाउँदै भदौ २२ गते सञ्चालक पदबाट राजीनामा दिएका थिए। कम्पनी सञ्चालक समितिको असोज १ गते बसेको ६९ औँ बैठकले उनको राजीनामा असोज १ गतेदेखि नै लागू हुने गरी स्वीकृत गरेको कम्पनी सचिव प्रीती श्रेष्ठले नेप्सेलाई जानकारी गराएकी छिन्।