नारायणी नदीमा अड्किएको ‘राइनो क्रुज’ क्रेनको सहायताले निकालिँदै, पृथ्वीराजमार्ग आज साँझसम्म खुलाउने तयारी

Sep 28, 2026 03:00 PM Merolagani



नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुज सिपलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपाने क्रुज सिपलाई क्रेनको सहयताले निकाल्ने प्रयास भइरहेको बताएका हुन्। उनकाअनुसार ७० टन तौल रहेको क्रुज सिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसँगको समन्वयमा विभागले काम गरिरहेको बताए । अबको केही घण्टामा क्रुज निकाल्न सकिने उनको भनाइ छ । उनले क्रुजसम्म पुग्नको लागि ट्र्याक खोलिसकेको जानकारी दिए । झन्डैं १५ करोडको लगानीमा बनेको क्रुज नेपाल कै पहिलो क्रुज हो ।

उनले भने, ‘यही असोज ९, १० र ११ गतेसम्म परेको अविरण वर्षाको कारण गण्डकी बेसिनमा पानीको वहाव बढी भयो । नारायणी नदी खतराको तहभन्दा निकै माथि पुगेको थियो । त्यहीबीचमा त्यहाँ सञ्चालन भइराखेको क्रुज बगाएको हो । क्रुज बगाइसकेपछि त्यसले पनि असर पार्यो । पुलको दायाँ किनारातर्फ रहेको अन्तिम पेयर र एबटमेन्टको बीचमा गएर त्यो अड्किएको छ । यस्तो हुन्छ भनेर हामीले सोचेका थिएनौँ । त्यहा क्रुजलाई अलि सुरक्षित हिसाबले राख्नुपथ्र्यो । तर त्यसो गरिएन । हामीले हिजो बेलुकादेखि नै तीन ठाउँबाट क्रेनहरु मगायौँ । दुई वटा बुटवल–नारायणघाट सडकमा भएको कन्ट्र्याक्टरको क्रेन र एउटा चाहिँ त्रिशूलीमा रहेको हाइड्रोपावरको क्रेन जुन ८० टन क्यापासिटीको छ । त्यो मगाएर हिजो बेलुकादेखि नै हामीले काम गरिरहेका छौँ । हामीले त्यो ठाउँसम्म पुग्नको लागि ट्रयाक खोलिसक्यौँ । सडक विभागले नै त्यो ट्रयाक खोल्ने काम गरिरहेको छ । हामी जिल्ला प्रशासन, सशस्त्र प्रहरी, नेपाली सेना, प्रहरी सबैसँग समन्वय गरेर काम गरिरहेका छौँ । अहिले त्यसलाई हटाउनको लागि हाम्रो टोली तयारी अवस्थामा रहेको छ । विभागकै एकजना इन्जिनियर टोलीको नेतृच्व गरिरहेको छ । सोमवार दिउँसोम्म हामी त्यो क्रुज हटाइसकेका हुन्छौँ ।’

पृथ्वीराजमार्ग आज साँझसम्म खुलाउने तयारी

उनले पृथ्वीराजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । राजमार्गको विभिन्न स्थानमा गएको पहिरो हटाइसकिएको र कृष्णभीरसमेत खुलिसकेको भन्दै साँझ राजमार्ग सञ्चालनमा ल्याउनेगरी विभागले काम गरिरहेको उनको भनाइ छ । अहिले कृष्णभीरमा रहेको बोल्डर हटाउने कार्य भइरहेको उनले बताए । उनले वर्षाको कारण अन्य राजमार्ग र पुलमा पुगेको क्षतिको विवरण संकलनको कार्य भइरहेको समेत बताए । उनले सडक विभागले सरकारी तथा निजी क्षेत्रबाट समेत मेसिन भाडामा लिएर सडक तथा राजमार्ग खुलाउने कार्य गरिरहेको बताए ।

उनले भने, ‘अन्य ठाउँमा राजमार्ग भत्किएको र पुलहरु बगाएको कुरा आएको छ । हामीले अहिले बुझ्ने, जानकारी लिने कार्य गरिरहेका छौँ । पोखराबाट हेभी इक्विपमेन्ट डिभिजनबाट मेसिनहरु मोबिलाइज भइसकेका छन् । राजमार्गहरु ठ्याक्कै यति दिनमा खुल्छन् भनेर भन्न सक्ने अवस्था छैन । तर हामीले सरकारी सबै तथा निजी क्षेत्रसँग मेसिन भाडामा लिएर पनि काम शुरु गरिसकेको अवस्था छ । मालढुङ्गाको पुललाई पनि मर्मत गरेर चलाउने तयारी गरिरहेका छौँ । त्यसको मर्मतको लागि हिजो नै त्यहाँ मेसिनहरु पुगिसकेको अवस्था छ । पृथ्वीराजमार्ग आज साँझसम्म खोल्ने तयारीमा छौँ ।’

उनले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल समेत तत्काल सुचारु गर्नेगरी काम भइरहेको बताए ।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।