मारुती सुजुकी, टाटा मोटर्स, हुन्डाई, महिन्द्रा, किया, टोयोटालगायत कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा बिक्री बढाएका छन्।
मारुती सुजुकी इन्डियाले सेप्टेम्बरमा कुल २ लाख ३६ हजार १३ युनिट बिक्री गरेको छ। गत वर्षको सेप्टेम्बरमा १ लाख ३२ हजार ८२० युनिट बिक्री गरेको कम्पनीले यसपटक ३६.९१ प्रतिशत वार्षिक वृद्धि हासिल गरेको हो। कम्पनीले घरेलु बजारमा १ लाख ८५ हजार २५२ युनिट बिक्री गरेको छ भने अन्य ओईएमलाई ६ हजार ५४२ युनिट बिक्री गरेको छ। त्यस्तै, ४४ हजार २१९ युनिट निर्यात गरेको छ।

टाटा मोटर्सले सेप्टेम्बरमा ६८ हजार ८१० युनिट बिक्री गरेको छ। गत वर्षको सोही महिनामा ५९ हजार ६६७ युनिट बिक्री गरेको टाटाको बिक्री १५.३२ प्रतिशतले बढेको हो। अगस्टको तुलनामा पनि कम्पनीको बिक्री ५.४५ प्रतिशत बढेको छ।
हुन्डाई मोटर इन्डियाले स्थापनापछिकै उच्च मासिक कुल बिक्री रेकर्ड गरेको जनाएको छ। कम्पनीले सेप्टेम्बरमा घरेलु बिक्री र निर्यात गरी ७७ हजार ९१६ युनिट बिक्री गरेको छ। यो गत वर्षको तुलनामा १०।८ प्रतिशत बढी हो। घरेलु बजारमा ५७ हजार १६६ युनिट र निर्याततर्फ २० हजार ७५० युनिट बिक्री भएको छ।
महिन्द्रा एन्ड महिन्द्राले सेप्टेम्बरमा घरेलु बजारमा ५६ हजार २३३ युनिट एसयूभी बिक्री गरेको जनाएको छ। कम्पनीका अनुसार यो गत वर्षको तुलनामा १३.९८ प्रतिशत वृद्धि हो। मासिक आधारमा भने बिक्री ८.१६ प्रतिशत बढेको छ।
दक्षिण कोरियाली कम्पनी कियाले भारतीय बजारमा प्रवेश गरेयताकै उच्च मासिक बिक्री गरेको छ। कम्पनीले सेप्टेम्बरमा ३२ हजार १७ युनिट बिक्री गरेको छ, जुन गत वर्षको २२ हजार ७०० युनिटको तुलनामा ४१ प्रतिशत बढी हो। तेस्रो त्रैमासिकमा पनि कियाले ८९ हजार २५९ युनिट बिक्री गरेको छ, जुन अघिल्लो वर्षको ६४ हजार ४४३ युनिटभन्दा ३८.५ प्रतिशत बढी हो।
टोयोटा किर्लोस्कर मोटरले सेप्टेम्बरमा कुल २८ हजार २१८ युनिट बिक्री गरेको छ। यसमध्ये २५ हजार २७ युनिट घरेलु बजारमा र ३ हजार १९१ युनिट निर्यात भएको छ। सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म टोयोटाको कुल बिक्री २ लाख ९४ हजार ९१४ युनिट पुगेको छ।
होन्डा कार्स इन्डियाले सेप्टेम्बरमा कुल ६ हजार ९५५ युनिट बिक्री गरेको छ। कम्पनीले घरेलु बजारमा ४ हजार ४६५ युनिट बिक्री गर्दा २ हजार ४९० युनिट निर्यात गरेको छ।
रेनो इन्डियाले सेप्टेम्बरमा ३ हजार ३९९ युनिट बिक्री गरेको छ। कम्पनीले वर्षको सुरुदेखि सेप्टेम्बरसम्म ३५ हजारभन्दा बढी युनिट बिक्री गरेको जनाएको छ। अगस्टको तुलनामा सेप्टेम्बर बिक्री २० प्रतिशतले बढेको छ।
फोर्स मोटर्सले पनि सेप्टेम्बरमा घरेलु थोक बिक्रीमा गत वर्षको सोही अवधिको तुलनामा ६२ प्रतिशत वृद्धि हासिल गरेको जनाएको छ।