यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै सवारीसाधन खरिदबिक्री तथा नामसारी प्रक्रियालाई सहज बनाएको हो ।
विभागले असोज २६ गते जारी गरेको सार्वजनिक सूचनाअनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान मन्त्रीस्तरीय निर्णयबाट संशोधन गरिएको हो ।
संशोधित व्यवस्थाअनुसार निजी तथा सार्वजनिक सवारीसाधनको पहिलो पटक नामसारी गर्दा डिलरमा गरिएको जाँचलाई नै मान्यता दिइनेछ । यसअघि नामसारीका क्रममा यातायात व्यवस्था कार्यालयमा पुनः जाँच गराउनुपर्ने व्यवस्था थियो ।
त्यस्तै, सवारीसाधन बिक्री गर्ने डिलरले खरिदकर्तासँग उपस्थित नभई पनि नामसारी प्रक्रिया पूरा गर्न सक्ने भएका छन् । यसका लागि खरिदकर्ताले वारेसनामा दिनुपर्नेछ । वारेसनामासँगै नेपाल सरकारबाट जारी भएको सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र सक्कल परिचयपत्रसहित वारेसनामा प्राप्त गर्ने व्यक्ति यातायात व्यवस्था कार्यालयमा उपस्थित भएमा दर्ता तथा नामसारीको काम सम्पन्न गर्न सकिने विभागले जनाएको छ ।
सवारीसाधनको बीमा गर्ने वा बीमा नवीकरण गर्ने प्रयोजनका लागि पनि सवारीधनी यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ । संशोधित व्यवस्थाले बीमा तथा नवीकरण प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ ।
विभागले निजी तथा सार्वजनिक सवारीसाधनको नामसारी प्रक्रियामा भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) प्रणाली लागू गर्ने तयारीसमेत अघि बढाएको छ । भीआरएस प्रणालीमा सवारी विक्रेता, वितरक वा कम्पनीलाई आबद्ध गर्न मिल्ने प्राविधिक व्यवस्था गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ ।
विभागका अनुसार भीआरएस प्रणालीमा आबद्ध हुन सवारी विक्रेता, वितरक वा कम्पनीले आवश्यक पूर्वाधारको व्यवस्था गरी यातायात व्यवस्था कार्यालयमा माग गर्नुपर्नेछ । त्यसपछि कार्यालयले एकपटक मात्र पहुँच हुने गरी बायोमेट्रिक लिन मिल्ने व्यवस्था गरेर सम्बन्धित विक्रेता, वितरक वा कम्पनीलाई प्राविधिक पहुँच उपलब्ध गराउनुपर्नेछ ।
विभागको यो निर्णयले सवारीसाधन खरिदबिक्री, नामसारी तथा बीमा प्रक्रियामा लाग्ने समय र झन्झट घटाउने अपेक्षा गरिएको छ ।