बागमती प्रदेशको आर्थिक वृद्धि ५.४० प्रतिशत रहने राष्ट्र बैंकको प्रक्षेपण, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा

Oct 13, 2026 02:45 PM Merolagani



आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने अनुमान गरिएको छ । 

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्वारा सार्वजनिक ‘बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन (वार्षिक प्रतिवेदन २०८२/८३)’ अनुसार समीक्षा वर्षमा राष्ट्रिय अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने प्रक्षेपण हुँदा बागमती प्रदेशको वृद्धिदर भने राष्ट्रिय औसतभन्दा उच्च रहने देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशको आर्थिक वृद्धिदर ५.२९ प्रतिशत रहेको थियो ।

प्रतिवेदन अनुसार प्रचलित मूल्यमा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यो मुलुकको कुल गार्हस्थ्य उत्पादन (६६ खर्ब रुपैयाँ) को ३६.७१ प्रतिशत हिस्सा हो, जुन सातवटै प्रदेशमध्ये सबैभन्दा उच्च हो । कुल गार्हस्थ्य उत्पादनमा बागमतीपछि कोशी प्रदेशको १५.८० प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४.२० प्रतिशत हिस्सा रहेको छ ।

सेवा क्षेत्रको वर्चस्व, कृषि र उद्योगको अवस्था

बागमती प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको प्रभुत्व कायमै छ । प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ७६.५३ प्रतिशत, उद्योग क्षेत्रको १२.२४ प्रतिशत र कृषि क्षेत्रको योगदान ११.२३ प्रतिशत रहने अनुमान छ । राष्ट्रिय स्तरको सेवा क्षेत्रमा बागमतीको हिस्सा ४५.४५ प्रतिशत, उद्योग क्षेत्रमा ३१.७४ प्रतिशत र कृषि क्षेत्रमा १७.१४ प्रतिशत रहेको छ । प्रदेशको कुल उत्पादनमा थोक तथा खुद्रा व्यापारको अंश सबैभन्दा बढी (२१.७ प्रतिशत) रहेको छ भने घरजग्गा कारोबारको हिस्सा १४.५९ प्रतिशत र वित्तीय तथा बीमा क्षेत्रको हिस्सा ११.५८ प्रतिशत छ ।

समीक्षा वर्षमा प्रदेशमा खाद्यान्न तथा अन्य बालीले ढाकेको क्षेत्रफल १.४ प्रतिशतले घटेको भए पनि प्रमुख खाद्यान्न उत्पादनमा सामान्य सुधार देखिएको छ । समीक्षा अवधिमा धान ०.४ प्रतिशत, मकै ०.३ प्रतिशत, गहुँ २.५ प्रतिशत, कोदो ०.३ प्रतिशत, जौ १३.६ प्रतिशत र फापर २.५ प्रतिशतले बढेको छ । यसैगरी तरकारी तथा बागवानी २.८ प्रतिशत, फलफूल २.४ प्रतिशत र मसला १८.८ प्रतिशतले वृद्धि भएको छ । पशुजन्यतर्फ दूध उत्पादन ०.७ प्रतिशत र मासु ३.१ प्रतिशतले बढ्दा अण्डा उत्पादनमा भने ८.३ प्रतिशतको गिरावट आएको छ । माछा उत्पादन ४.० प्रतिशतले बढेको छ । प्रदेशको कुल खेती गरिएको जमिन (८ लाख ८ हजार ४७२ हेक्टर) मध्ये १४.६ प्रतिशत (१ लाख १८ हजार १६० हेक्टर) क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको छ ।

उद्योगको क्षमता उपयोगमा सुधार, थपिए ६४६ नयाँ उद्योग

अध्ययनमा समेटिएका २४ वटा प्रमुख उद्योगहरूको औसत क्षमता उपयोग ४१.०८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ३७.४९ प्रतिशत थियो । सबैभन्दा बढी चाउचाउ उद्योगले ८८.३ प्रतिशत क्षमता उपयोग गर्दा ओइन्टमेन्ट (मलम) उद्योगको क्षमता उपयोग सबैभन्दा न्यून (१३.८ प्रतिशत) पाइएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशमा १ खर्ब ५१ अर्ब २८ करोड रुपैयाँ कुल पुँजी प्रस्ताव गरिएका ६४६ वटा नयाँ उद्योग दर्ता भएका छन् । यी उद्योगहरूले २८ हजार ६४९ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कुल औद्योगिक कर्जा १०.१८ प्रतिशतले बढेर १३ खर्ब ३४ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । औद्योगिक कर्जाको ९२.७३ प्रतिशत हिस्सा काठमाडौँ जिल्लामा मात्र केन्द्रित रहेको पाइएको छ ।

पर्यटन र घरजग्गा व्यवसाय

समीक्षा अवधिमा नमुना छनोटमा परेका होटलहरूको औसत अकुपेन्सी ४७.०९ प्रतिशत रहेको छ । २०८२ कात्तिकपछि सुधारोन्मुख रहेको होटल अकुपेन्सी २०८३ जेठमा सबैभन्दा बढी (५८.८१ प्रतिशत) पुगेको थियो ।

घरजग्गा कारोबारतर्फ रजिस्ट्रेसन सङ्ख्या ९.६ प्रतिशतले बढेर १ लाख ४ हजार ६२३ पुगेको छ भने स्थायी नक्सापास सङ्ख्या ४.० प्रतिशतले वृद्धि भएको छ । तर, रजिस्ट्रेसनबाट प्राप्त हुने राजस्व भने १६.८ प्रतिशतले घटेर २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ ।

बैंकिङ, वित्तीय स्थिति र रोजगारी

२०८३ असार मसान्तसम्म बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाका कुल २ हजार ९२३ शाखा सञ्चालनमा छन् । प्रदेशबाट संकलन भएको कुल निक्षेप ९.७९ प्रतिशतले वृद्धि भई ५२ खर्ब ६७ अर्ब २३ करोड रुपैयाँ र कर्जा प्रवाह ९.०७ प्रतिशतले बढेर ३६ खर्ब २४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । प्रदेशको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ६८.८२ प्रतिशत कायम भएको छ ।

पूर्वाधारतर्फ समीक्षा वर्षमा प्रदेशभित्र ४९.५८ कि.मी. नयाँ सडक निर्माण, ११७.९२ कि.मी. कालोपत्रे स्तरोन्नति, १४३.६९ कि.मी. ग्राभेल स्तरोन्नति तथा ४४ वटा सडक पुल र ६ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।

वैदेशिक रोजगारीतर्फ यस प्रदेशबाट समीक्षा वर्षमा १ लाख २९ हजार ६५१ जनाले श्रम स्वीकृति लिएका छन्, जुन मुलुकको कुल श्रम स्वीकृतिको १६.३७ प्रतिशत हो । यसमा सबैभन्दा बढी चितवनबाट १९ हजार ८०३ जना र सबैभन्दा कम रसुवाबाट १ हजार ७७१ जना रहेका छन् । राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रममार्फत प्रदेशका ४ हजार ३४८ जनाले रोजगारी पाएका छन् ।

प्रदेश सरकारी वित्त र प्राकृतिक विपत्तिको असर

आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेश सरकारले कुल ६७ अर्ब ४८ करोड रुपैयाँको बजेट विनियोजन गरेकोमा ६८.१८ प्रतिशत अर्थात् ४६ अर्ब रुपैयाँ खर्च गरेको छ । जसमा चालूतर्फ ६७.२७ प्रतिशत र पुँजीगततर्फ ६८.७४ प्रतिशत खर्च भएको छ । प्रदेशले सो अवधिमा ३० अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ भने संघीय सरकारबाट ११ अर्ब ३८ करोड अनुदान प्राप्त गरेको छ ।

प्रतिवेदनले २०८३ भदौ १० मा रसुवा–भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढी–पहिरोले जलविद्युत, मितेरी पुल, टिमुरे सुक्खा बन्दरगाह, रसुवागढी भन्सार र सडक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएकाले आगामी आर्थिक वर्षको उत्पादन, व्यापार र पर्यटनमा केही प्रतिकूल असर पर्न सक्ने औंल्याएको छ । यद्यपि पुनर्निर्माणको तीव्रता र अनुकूल मनसुनले समग्र आर्थिक पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकको छ ।