दसैँ–तिहारमा अटो कम्पनीका फरक–फरक अफर योजना, कस्ले कस्ता अफर योजना ल्याए ?

Oct 17, 2026 11:46 AM merolagani



दसैँ–तिहारलाई लक्षित गर्दै अटोमोबाइल कम्पनीहरूले ग्राहक आकर्षित गर्न नगद छुटदेखि बीमा, निःशुल्क सर्भिसिङ, एक्सचेन्ज बोनस र आकर्षक उपहारसम्मका योजना सार्वजनिक गरेका छन् ।

चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधन खरिदमा कम्पनीहरूले लाखौँ रुपैयाँसम्मको छुट र पुरस्कार जित्ने अवसर दिएका छन्  

चारपाङ्ग्रे सवारीतर्फ होन्डाले ‘सफर’ योजनाअन्तर्गत १० लाख रुपैयाँसम्म नगद छुट, एक आर्थिक वर्षको सडक कर, पूर्ण बीमा, पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षको रोडसाइड असिस्टेन्स सुविधा उपलब्ध गराएको छ । पुरानो गाडी एक्सचेन्ज गर्दा थप बोनससमेत पाइने कम्पनीले जनाएको छ ।

हुन्डाईले ‘फेस्टिभ ड्राइभ’ योजनाअन्तर्गत तीन लाख रुपैयाँसम्म नगद छुट र स्क्र्याच कार्डमार्फत थप पाँच लाख रुपैयाँसम्म छुट जित्ने अवसर दिएको छ । त्यस्तै, सुजुकी ब्रेजा खरिदमा एक लाख रुपैयाँसम्म नगद छुट र एक्सचेन्जमा थप एक लाख रुपैयाँसम्म छुट उपलब्ध छ । फ्रन्क्स खरिदमा एक लाख रुपैयाँसम्म नगद छुट र एक्सचेन्जमा ५० हजार रुपैयाँसम्म छुटका साथै निःशुल्क एसेसरिज र अटो प्लस बीमाको सुविधा दिइएको छ ।

अशोक लेल्यान्डले गाडी खरिदमा बाली भ्रमण वा सामसुङको ५५ इन्चको फोरके टेलिभिजनमध्ये एक विकल्प रोज्न सकिने योजना ल्याएको छ । अर्को कम्बो योजनामा सामसुङको ४५ इन्चको टेलिभिजन र ग्यालेक्सी एस२६ उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

म्याक्सस नेपालले २० प्रतिशत डाउनपेमेन्टमा गाडी खरिद, सात वर्षसम्मको किस्ताबन्दी, एक वर्ष निःशुल्क चार्जिङ र एक वर्षको अटो प्लस बीमाको सुविधा ल्याएको छ ।

निसानले गाडी खरिदमा एक वर्षको बीमा, सडक कर र गाडी वासको सुविधा दिने जनाएको छ । बीएसी आयोनले नौ लाख रुपैयाँसम्म छुट तथा एक्सपेडले १२ लाख रुपैयाँसम्मको फाइदा उपलब्ध गराउने योजना ल्याएका छन् ।

दुईपाङ्ग्रे सवारीसाधनतर्फ पनि कम्पनीहरूले आकर्षक योजना सार्वजनिक गरेका छन् । टीभीएसले ‘गोल्डेन की’ योजनाअन्तर्गत १० लाख रुपैयाँसम्म नगद छुट, गोल्डेन की वा खरिद मूल्यको शतप्रतिशत क्यासब्याकमध्ये एक पुरस्कार जित्ने अवसर दिएको छ । दैनिक लक्की ड्रमार्फत पाँच वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा पनि उपलब्ध गराइएको छ ।

होन्डाले मोटरसाइकल तथा स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म जित्ने अवसरसहित सातै प्रदेशमा हरेक साता एक जना विजेता छनोट गर्ने योजना ल्याएको छ । ग्राहकले १० हजार रुपैयाँसम्मको स्क्र्याच कुपन, सात वर्षको निःशुल्क सर्भिसिङ वा पाँच वर्षको एएमसीमध्ये एउटा सुविधा रोज्न सक्नेछन् ।

हिरोले ‘कोर्यो कि पर्यो’ योजनाअन्तर्गत डिजिटल स्क्र्याच कार्डबाट १० लाख रुपैयाँसम्म नगद पुरस्कार जित्ने अवसर दिएको छ । हरेक साता शतप्रतिशत क्यासब्याक जित्न सकिने तथा एक्सचेन्ज र फाइनान्सिङ सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सुजुकीका दुईपाङ्ग्रे सवारीसाधन खरिदमा एक लाख रुपैयाँसम्म छुट वा एक्सचेन्ज बोनस पाइनेछ । यस्तै, यामाहाले बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकलाई स्क्यान र रजिस्टरमार्फत एक लाख रुपैयाँसम्म जित्ने अवसर दिएको छ भने हरेक खरिदमा १० लाख रुपैयाँसम्म जित्न सकिने योजना सार्वजनिक गरेको छ ।

चाडपर्वमा सवारीसाधनको बिक्री बढाउने उद्देश्यले ल्याइएका यी योजनाले ग्राहकलाई खरिदमा राहत दिने अपेक्षा गरिएको छ । यद्यपि, छुट तथा पुरस्कारका सर्त, उपलब्धता र वास्तविक लाभ कम्पनीअनुसार फरक हुने भएकाले सवारीसाधन खरिद गर्नुअघि योजनाको विस्तृत विवरण बुझ्नुपर्ने हुन्छ ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।