दोस्रो बजारमा सर्ट सेलिङको भनेकाे के हाे ?

Oct 22, 2026 06:39 PM Merolagani



वास्तवमा सर्ट सेलिङ भनेको शेयरको मूल्य घट्ने अनुमान गरेर पहिले नै शेयर बिक्री गर्ने र पछि मूल्य घटेपछि सस्तोमा किनेर फिर्ता गर्ने कारोबार विधि हो। यसमा लगानीकर्ता अर्थात बिक्रीकर्तासँग नभएको शेयर शेयरधनी वा अन्य स्वीकृत स्रोतबाट उधारोमा कारोवार गरिएको हुन्छ।

उदाहरणका लागि, कुनै ए भन्ने कम्पनीको शेयर मूल्य प्रतिकित्ता पाँच सय रुपैयाँ छ। लगानीकर्ताले एक हजार कित्ता शेयर उधारो लिएर पाँच लाख रुपैयाँमा बिक्री गर्छन्। पछि शेयरको मूल्य चार सय रुपैयाँमा झरेमा चार लाख रुपैयाँमा एक हजार कित्ता शेयर किनेर उधारो लिएको शेयर फिर्ता गर्न सक्छन्। ब्रोकर वा अन्य खर्चहरु नकाटि हेर्दा एक लाख रुपैयाँ नाफा हुन्छ। यस्तो कारोबारमा नाफ मात्रै हुन्छ भन्ने हुदैन। सोही कम्पनीको मूल्य घट्नुको सट्टा बढेर सात सय रुपैयाँ पुगेमा उही एक हजार कित्ता किन्न सात लाख रुपैयाँ खर्च गर्नुपर्छ।

यस अवस्थामा अन्य खर्च नकटाउदै लगानीकतर्चालाई दुई लाख रुपैयाँसम्मको घाटा हुने छ। शेयरको मूल्य अत्यधिक बढेको अवस्थामा मूल्य घट्ने अनुमान गर्ने लगानीकर्ताले पनि कारोबार गर्न सक्छन्। यसबाट माग र आपूर्तिबीच सन्तुलन कायम गर्न तथा शेयरको मूल्य निर्धारण प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुग्न सक्छ। पर्याप्त शेयर उपलब्धता र लगानीकर्ताको सहभागिता भएमा यसले बजारको कारोबार र तरलता बढाउन समेत भूमिका खेल्न सक्छ। संस्थागत लगानीकर्ताले उपयुक्त व्यवस्था र रणनीतिमार्फत सम्भावित मूल्य गिरावटबाट हुने जोखिम व्यवस्थापन गर्नपनि सर्ट सेलिङ प्रयोग गर्न सक्छन्।

तर सर्ट सेलिङबाट प्राप्त हुन सक्ने लाभसँगै जोखिम पनि जोडिएको हुन्छ। शेयरको मूल्य घट्नुको सट्टा बढेमा लगानीकर्ताले ठूलो नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ। मूल्य बढ्ने सीमा नहुने भएकाले सर्ट सेलिङमा सम्भावित घाटा पनि निकै ठूलो हुन सक्छ। धेरै लगानीकर्ताले एउटै कम्पनीको शेयर मूल्य घट्ने अनुमान गरेर सर्ट कारोबार गरेका बेला सकारात्मक समाचारका कारण मूल्य तीव्र रूपमा बढेमा उनीहरू शेयर किन्न बाध्य हुन सक्छन्। यसले माग थप बढाएर मूल्य उकालो लगाउन सक्छ। यस्तो अवस्थालाई सर्ट स्क्विज भनिन्छ। त्यस्तै, शेयर उधारो लिने व्यवस्था प्रभावकारी नभएमा बिक्री गरिएको शेयर समयमै उपलब्ध नहुने र राफसाफमा समस्या आउने जोखिम रहन्छ।

सर्ट सेलिङबाट हुने जोखिम नियन्त्रण गर्न सबैभन्दा पहिले शेयर उधारो लिएको सुनिश्चित भएपछि मात्र बिक्री गर्न पाउने व्यवस्था आवश्यक हुन्छ। कारोबारको सम्भावित जोखिम अनुसार पर्याप्त धरौटी राख्ने, शेयरको मूल्य प्रतिकूल दिशामा गएमा थप धरौटी माग्ने र आवश्यक धरौटी उपलब्ध नभएमा जोखिम घटाउने वा कारोबार बन्द गर्ने स्पष्ट व्यवस्था हुनुपर्छ। एउटै कम्पनीको शेयरमा अत्यधिक सर्ट कारोबार हुन नदिन सीमा तोक्न सकिन्छ। कुन कम्पनीमा कति सर्ट कारोबार भइरहेको छ भन्ने विवरण नियामक निकायले नियमित रूपमा निगरानी गर्नुपर्छ। अस्वाभाविक कारोबार वा कृत्रिम रूपमा मूल्य घटाउने प्रयास देखिएमा तत्काल अनुसन्धान गर्ने संयन्त्र आवश्यक हुन्छ।

नेपालमा सर्ट सेलिङ लागू गर्नुअघि नेपाल स्टक एक्सचेन्ज, सिडिएससी र ब्रोकरहरूको प्राविधिक तथा जोखिम व्यवस्थापन क्षमता बलियो बनाउनुपर्छ। सामान्य शेयर बिक्री र सर्ट सेलिङ छुट्याउन सक्ने कारोबार प्रणाली, शेयर उधारोको अभिलेख राख्ने व्यवस्था र समयमै राफसाफ तथा फछ्र्योट सुनिश्चित गर्ने संरचना तयार हुनुपर्छ। शेयर उधारो दिने र लिने पक्षको अधिकार, दायित्व, शुल्क तथा शेयर फिर्ता गर्ने समय सम्बन्धी नियम पनि स्पष्ट हुनुपर्छ। सर्ट सेलिङको प्रभावकारिता कारोबार खुला गर्नुमा मात्र होइन, त्यसबाट सिर्जना हुन सक्ने जोखिमलाई समयमै पहिचान र नियन्त्रण गर्न सक्ने नियामकीय क्षमतामा निर्भर हुन्छ। त्यसैले नेपालमा यस्तो कारोबार सुरु गर्दा बजारको अवस्था र पूर्वाधारको तयारीअनुसार स्पष्ट नियम, प्रभावकारी निगरानी र लगानीकर्ता संरक्षणलाई प्राथमिकता दिन आवश्यक छ।




लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरको सानेपाबाट पक्राउ

Oct 18, 2026 05:25 AM

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।