शेयर बजारमा सूचिकृत कम्पनीले आफै जारी गरेकाे शयर बजारबाट पुन: खरिद गर्ने प्रक्रियालाई बाईब्याक भनिन्छ। सामान्य अवस्थामा कम्पनीले सर्वसाधारणबाट पूँजी जुटाउन शेयर जारी गरेका हुन्छन्। तर बाईब्याक प्रक्रियामा भने कम्पनीले अतिरिक्त नगद वा उपलब्ध स्रोत प्रयोग गरेर बजारमा रहेको आफ्नै शेयर पुनः खरिद गर्छ। खरिद गरिएका शेयर कानुन अनुसार रद्द गरिएमा बजारमा रहेको कुल शेयर संख्या घट्छ। यसले कम्पनीको पुँजी संरचना परिवर्तन हुन सक्छ। कम्पनीको संख्या घट्दा प्रतिकित्ता आम्दानी बढ्न सक्ने देखिन्छ। यो व्यवस्थालाई बजारमा शेयर सप्लाई घटाउने अस्त्रको रुपमा मात्रै लिन हुँदैन। यस व्यवस्थाले कम्पनीको पूँजी व्यवस्थापन गर्ने महत्वपूर्ण औजारका रूपमा काम गर्छ ।

पछिल्लो समय नेपाली बजारमा बाईब्याकको आवश्यकता महसुस गर्न थालिएको छ। कम्पनीहरूले पूँजी विस्तारका लागि बोनस, हकप्रद तथा अन्य माध्यमबाट शेयरको संख्या बढ्दो अवस्थामा रहेको छ। कम्पनीहरुको शेयर सप्लाई धेरै भएको गुनासोहरु आउने गरेको छ। बजारमा भएको बढ्दो सप्लाईलाई व्यवस्थापन गर्नुपर्ने लगानीकर्ताहरु माग राख्दै आएका थिए। तर बजारको माग, संस्थागत लगानी र लगानीका नयाँ उपकरण सोही गतिमा विस्तार हुन सकेको छैन। कम्पनीसँग रहेको अतिरिक्त पूँजीलाई व्यवस्थापन गर्ने र बजारमा रहेको शेयरको आपूर्ति घटाउनको लागि बाईब्याकको व्यवस्था अचुक उपाए बन्न सक्छ। विशेषगरी बलियो वित्तीय अवस्था भएका, दोस्रो बजारमा मूल्य पाउन नसकेका र तत्काल ठूलो लगानीको आवश्यकता नभएका कम्पनीका लागि बाईब्याक उपयोगी विकल्प हुन सक्छ।
नेपाली बजारमा बाइब्याकको व्यवस्था नयाँ हो। तर अन्य देशहरुले बाईब्याकको अभ्यास गर्दै आएका छन। यो व्यवस्था विश्वका विकसित पूँजी बजारमा नयाँ अवधारणा भने होइन। अमेरिका, बेलायत, भारत लगायतका बजारमा कम्पनीहरूले लामो समयदेखि बाईब्याकको अभ्यास हुँदै आएकोछ। अमेरिकामा खुला बजार मार्फत बाईब्याक गर्ने अभ्यास रहेको छ। कम्पनीले निश्चित अवधिमा निश्चित रकम वा निश्चित संख्यामा शेयर खरिद गर्ने घोषणा गर्छ र बजार मार्फत क्रमशः शयर खरिद गर्छ। अर्को महत्वपूर्ण विधि टेन्डर अफर हो। यसमा कम्पनीले निश्चित मूल्य वा मूल्यको दायरामा शेयरधनीबाट शेयर खरिद गर्ने प्रस्ताव राखिएको हुन्छ।
अन्तर्राष्ट्रिय अभ्यासले बाईब्याकलाई कम्पनीको अतिरिक्त नगद व्यवस्थापन गर्ने माध्यमका रूपमा स्थापित गरेको छ। कम्पनीले नयाँ परियोजनामा तत्काल लगानी गर्ने अवसर नदेखेमा सो पैसा शेयरधनीलाई फिर्ता गर्न सक्छ। तर यस्तो प्रकृतिको कारोबारमा नियामकले निगरानीमा मात्रै गरिएको हुन्छ। विकसित बजारमा बाईब्याकसँगै सूचना खुलासा, मूल्य हेरफेर नियन्त्रण र सञ्चालक तथा सम्बन्धित व्यक्तिको कारोबारमाथि समेत निगरानी गरिएको हुन्छ।
बाईब्याकपछि कम्पनी र शेयरधनीमा कस्तो प्रभाव पर्छ?
कुनै कम्पनीले शेयर बाईब्याक गर्दा पूँजीमा प्रभाव पारेको हुन्छ। उदाहरणका लागि कुनै कम्पनीको बजारमा एक करोड कित्ता शेयर छ र कम्पनीले २० लाख कित्ता शेयर खरिद गरेर रद्द ग-यो भने बजारमा बाँकी शेयरको संख्या ८० लाख कित्तामा झर्छ। कम्पनीको नाफा पहिलेकै १० करोड रुपैयाँ रह्यो भने पहिले एक करोड कित्तामा बाडिने नाफा अव ८० लाख कित्तामा मात्रै बाडिन्छ। फलस्वरूप कम्पनीको प्रतिकित्ता आम्दानी बढोत्तरी हुन्छ।
सोही कारण बाईब्याकपछि बाँकी शेयरधनीको स्वामित्वको प्रतिशत पनि बढ्नेछ। यदि यसलाई कम्पनीको बलियो वित्तीय अवस्था र गतिलो व्यवस्थापन भएमा शेयर मूल्यमा समेत सकारात्मक प्रभाव पर्न सक्छ। बाईब्याकले मात्रै कम्पनीको शेयर मूल्य बढाउँछ भन्न भने सकिदैन। यसमा कम्पनीको नाफा,व्यवसाय,ब्याजदर,अर्थतन्त्र र लगानीकर्ताको मनोविज्ञानले पनि प्रभाव पारेको हुन्छ।
बाईब्याकले बजारमा माग र आपूर्तिको सन्तुलन कसरी बदल्छ?
शेयर बजारमा मूल्य निर्धारणको आधार नै माग र आपूर्ति हो। बजारमा शेयरको आपूर्ति बढ्दै जाने तर माग सोही अनुपातमा बढेन भने कम्पनीको मूल्यमा दबाब पर्छ । कम्पनी आफै बजारमा खरिदकर्ता बनेपछि केही अवधिका लागि माग बढ्न सक्ने छ। खरिद गरिएका शेयर रद्द गरिएमा आपूर्ति पनि घट्छ। यसरी बजारमा माग र आपूर्तिको सन्तुलनमा प्रभाव पार्नेछ। तर बाईब्याकलाई नै मूल्य बढाउने ग्यारेन्टीका रूपमा भने लिनु हुदैन। कम्पनीले ठूलो रकम खर्च गरेर शेयर फिर्ता लिएतापनि व्यवस्थापन र व्यवसाय विस्तार गर्न सकेन भने दीर्घकालीन मूल्यमा प्रभाव पर्न सक्छ। त्यसैले बाईब्याकलाई कम्पनीको आधारभूत वित्तीय अवस्था र खरिद गरिएको मूल्यसँग जोडेर हेर्नुपर्छ।
कानुनी आधार
नेपालमा बाईब्याकको सम्बन्धमा पहिले नै कानूनी व्यवस्था गरिएको छ। कम्पनी ऐन, २०६३ को दफा ६१ ले निश्चित सर्तमा कम्पनीलाई आफ्नै शेयर खरिद गर्न सक्ने व्यवस्था गरेको छ। सार्वजनिक कम्पनीको शेयर सूचीकृत भएको हुनुपर्ने, शेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्ने र सम्बन्धित कम्पनीले तोकिएका कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। खरिद गरिएका शेयर रद्द गर्नुपर्ने व्यवस्था समेत कानुनमा छ। बाईब्याक कुन प्रक्रियाबाट गर्ने, मूल्य कसरी निर्धारण गर्ने, कति कित्तासम्म खरिद गर्न पाउने, सूचना कसरी सार्वजनिक गर्ने र बजार हेरफेर कसरी रोक्ने भन्ने विषयमा भने स्पष्ट र व्यावहारिक नीतिगत व्यवस्था गरिनुपर्ने हुन्छ।
त्यसैगरी, कम्पनीले बाईब्याक गर्नु अघि कति रकम खर्च गर्ने, कति कित्ता खरिद गर्ने, कुन अवधिसम्म खरिद गर्ने र अधिकतम मूल्य कति हुने लगायतका सम्बन्धमा लगानीकर्तालाई जानकारी गर्नुउचित हुने देखिन्छ। बाईब्याक मार्फत कित्ता खरिद भयो, औसत मूल्य कति रह्यो र स्वीकृत रकममध्ये कति खर्च भयो भन्ने विवरण पनि नियमित रूपमा सार्वजनिक गर्नुपर्छ। यस्तो व्यवस्था भएमा लगानीकर्ताले कम्पनीको बाईब्याक प्रकृया वास्तविक वा मूल्य प्रभावित पार्ने प्रयास हो भन्नेमा मूल्यांकन गर्न सक्छन्।