राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

Oct 16, 2026 01:09 PM Merolagani



नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषहरूमा रहेको कुल २४ अर्ब ८३ करोड ६७ लाख रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकको वित्त व्यवस्थापन विभागले एक सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट ब्याजदर प्रस्ताव आह्वान गरेको हो।

उक्त रकम आगामी २०८३ कात्तिक १६ गतेदेखि ३६६ दिन (१ वर्ष) का लागि मुद्दती निक्षेपका रूपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ।

कुन वर्गका वित्तीय संस्थालाई कति रकम ?

राष्ट्र बैंकले कुल लगानीयोग्य रकमलाई वित्तीय संस्थाहरूको वर्गअनुसार निम्नानुसार बाँडफाँट गरेको छ:

  • ‘क’ वर्गका वाणिज्य बैंकहरूका लागि: १९ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ

  • ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूका लागि: ३ अर्ब ७२ करोड ५५ लाख रुपैयाँ

  • ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूका लागि: १ अर्ब २४ करोड १८ लाख रुपैयाँ

प्रस्ताव पेश गर्ने समय र प्रक्रिया

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदर खुलाएर सिलबन्दी फाराम भरी ‘पासवर्ड प्रोटेक्टेड’ (Password Protected) पीडीएफ फर्म्याटमा आवेदन दिनुपर्नेछ।

आवेदन आगामी २०८३ कात्तिक १० गते राति १२:०० बजेभित्र राष्ट्र बैंकको इमेल (fmdinvestment@nrb.org.np) मा पठाइसक्नुपर्नेछ भने सो फाइलको पासवर्ड कात्तिक ११ गते राति १२:०० बजेभित्र सोही इमेलमा पठाउनुपर्ने सूचनामा उल्लेख छ। आवेदन पठाउँदा आधिकारिक संस्थागत इमेलबाट मात्र पठाउनुपर्नेछ; जीमेल, याहू, हटमेल जस्ता व्यक्तिगत इमेल मान्य हुने छैनन्।

लगानी पाउन बैंक तथा वित्तीय संस्थाले पूरा गर्नुपर्ने मुख्य सर्तहरू :

राष्ट्र बैंकको यो मुद्दती निक्षेप लिन वित्तीय संस्थाहरूले देहायका सर्तहरू अनिवार्य रूपमा पूरा गरेको हुनुपर्नेछ:

१. संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको।
२. केन्द्रीय बैंकले तोकेबमोजिम न्यूनतम कुल पूँजीकोष (बफरसहित) कायम गरेको।
३. निष्क्रिय कर्जा (NPL) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (Net NPL) अनुपात ३ प्रतिशत ननाघेको।
४. खुद तरल सम्पत्ति अनुपात र कर्जा–निक्षेप अनुपात (CD Ratio) राष्ट्र बैंकको तोकिएको सीमाभित्र रहेको।
५. निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफा आर्जन गरेको।
६. सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिसकेको।
७. राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही वा समस्याग्रस्त घोषणामा परेको भए सो फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने।

 



माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।