काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगासहित कलंकी, बालाजु, कोटेश्वर र बल्खु क्षेत्रमा यात्रु तथा सवारीसाधनको चहलपहल बढेको छ । नयाँ बसपार्क क्षेत्रमा पनि काठमाडौं फर्किने यात्रु र सार्वजनिक सवारीसाधनको भिडभाड देखिन थालेको छ । दशैं मनाउन अधिकांश मानिस उपत्यकाबाहिर गएपछि केही दिनयता काठमाडौंका सडक सुनसानजस्तै बनेका थिए ।
सार्वजनिक यातायातमा यात्रुको चाप घटेको थियो भने बजार क्षेत्रमा पनि चहलपहल कम भएको थियो । तर, दशैं बिदा सकिन लागेसँगै उपत्यकामा पुनः चहलपहल बढ्न थालेको छ । सडकमा सवारीसाधनको आवागमन बढेको छ भने सार्वजनिक यातायातमा पनि यात्रुको उपस्थिति बाक्लिन थालेको छ । यसैगरी, उपत्यकाका बजार तथा पसलहरू पनि अधिकांश खुलिसकेका छन् । सरकारी कार्यालय नियमित सञ्चालनमा आउने तयारीसँगै काठमाडौंको जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ ।