सरकारले पूँजीगत लाभकरको दर घटाए पनि संस्थागत लगानीकर्ता थप निस्क्रिय, दीर्घकालीन लगानीकर्ताको भरोसा भने बढ्दो

Oct 28, 2026 11:24 AM merolagani



सुवास निरौला

सरकारले नीतिगत सहुलियत दिए पनि दोस्रो बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति कमजोर बन्दै गएको छ भने दीर्घकालीन व्यक्तिगत लगानीकर्ताको सक्रियतामा निरन्तर सुधार देखिन थालेको छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) मा संकलित  पूँजीगत लाभकर (सीजीटी) को तथ्याङ्कले बजारमा लगानीकर्ताको प्रवृत्ति र व्यवहार परिवर्तन भइरहेको संकेत गरेको हो।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा संस्थागत लगानीकर्ताले दाखिला गर्ने लाभकर लगातार ओरालो लागेको छ। साउनमा ३५ करोड ७१ लाख ५ हजार रुपैयाँपूँजीगतलाभकर बुझाएका संस्थागत लगानीकर्ताले भदौमा २३ करोड ७३ लाख र असोजमा थप खुम्चिएर १७ करोड ७३ लाख रुपैयाँमा मात्र सीमित भएका छन्। यसले बजारमा ठूला र संस्थागत लगानीकर्ता अझै पनि ‘पर्ख र हेर’ को रणनीतिमा रहेको वा नाफा सुरक्षित गरेर थप ठूलो कारोबार गर्न हिचकिचाइरहेको देखाउँछ।

दीर्घकालीन लगानीकर्तामा भने उत्साह
संस्थागत लगानीकर्ता सुस्ताइरहँदा ३६५ दिनभन्दा बढी समय शेयर होल्ड गरेर बिक्री गर्ने व्यक्तिगत दीर्घकालीन लगानीकर्ताको संख्या र कर योगदान भने लगातार बढेको छ। साउनमा यस्ता लगानीकर्ताबाट १९ करोड ३५ लाख रुपैयाँ कर संकलन भएकोमा भदौमा बढेर २० करोड ७४ लाख र असोजमा थप वृद्धि भई २१ करोड ५७ लाख रुपैयाँ पुगेको छ। यसले बजारमा दीर्घकालीन रणनीति बनाएर लगानी गर्ने व्यक्तिगत लगानीकर्ताको नाफा बुक गर्ने क्रम र विश्वास बढिरहेको पुष्टि गर्छ।

अल्पकालीन कारोबारीमा तीव्र उतारचढाव
बजारमा छोटो समयका लागि कारोबार गर्ने (ट्रेडर) हरूको मनोविज्ञान भने निकै अस्थिर देखिएको छ। साउनमा व्यक्तिगत अल्पकालीनपूँजीगतलाभकर ७ करोड ४२ लाख मात्र रहेकोमा बजार बढेपछि भदौमा ह्वात्तै बढेर १८ करोड ७९ लाख रुपैयाँ नाघेको थियो। तर, असोजमा बजार केही दबाबमा परेसँगै यो रकम झन्डै आधा घटेर १० करोड ५६ लाख रुपैयाँमा झरेको छ। यसले ट्रेडरहरूले बजार बढ्दा मात्र आक्रामक नाफा बुक गर्ने र थोरै सुस्तता आउँदा कारोबार रोक्ने प्रवृत्ति देखाउँछ।

समग्र राजस्व ४१ प्रतिशतले संकुचित
लगानीकर्ताको कारोबार प्रवृत्तिमा आएको यही फेरबदलका कारण समग्र शेयर कारोबारबाट संकलन हुने सरकारी राजस्वमा भने भारी गिरावट आएको छ। चालु आवको असोज मसान्तसम्म कुल १ अर्ब ७५ करोड ६४ लाख रुपैयाँ मात्रपूँजीगतलाभकर संकलन भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको (३ अर्ब २७ लाख रुपैयाँ) तुलनामा करिब ४१.५ प्रतिशतले कम हो।

मासिक रूपमा हेर्दा पनि साउनमा ६२ करोड ४९ लाख र भदौमा ६३ करोड २७ लाख रुपैयाँ संकलन भएकोमा असोजमा एकाएक घटेर ४९ करोड ८६ लाख रुपैयाँमा खुम्चिएको छ। भदौको तुलनामा असोजमा मात्रै लाभकर १३ करोड ४० लाख रुपैयाँभन्दा बढीले घटेको छ।

लगानीकर्तालाई दोस्रो बजारतर्फ आकर्षित गर्न सरकारले करको दर घटाए पनि संस्थागत लगानीकर्ता सक्रिय नहुँदा र समग्र कारोबार रकम बढ्न नसक्दा त्यसको प्रभाव राजस्वमा प्रत्यक्ष देखिएको विश्लेषकहरूको भनाइ छ।