चक्रवातको प्रभावले वर्षा र बाढीको जोखिम, सतर्क रहन विद्युत् प्राधिकरणको आग्रह

Oct 28, 2026 11:40 AM merolagani



नेपाल विद्युत् प्राधिकरणले कात्तिक १३ र १४ गते देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार समुद्री क्षेत्रमा विकसित भइरहेको शक्तिशाली चक्रवातको प्रभावले नेपालमा वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । यसबाट बाढी, पहिरो, चट्याङ, हुरीबतास र डुबानको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिकूल मौसमका कारण विद्युतका पोल, तार, ट्रान्सफर्मरलगायत संरचनामा क्षति पुग्न सक्ने र विद्युत् सेवा अवरुद्ध हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्युत् संरचनाको सुरक्षा तथा सेवा अवरुद्ध भएमा तत्काल मर्मतसम्भार गरी आपूर्ति नियमित गर्न सम्बन्धित कार्यालयका कर्मचारीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रतिकूल मौसमका बेला जोखिमको आँकलन गरी सुरक्षित स्थानमा बस्न, अत्यावश्यक कामबाहेक आवतजावत नगर्न र विद्युतीय उपकरण सावधानीपूर्वक प्रयोग गर्न आग्रह गरेको छ । साथै,आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार मानेर आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

विद्युत् सेवा अवरुद्ध भएमा वा विद्युतीय संरचनामा क्षति पुगेको देखिएमा सम्बन्धित वितरण केन्द्र वा हेल्पडेस्कमा सम्पर्क गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।