तीन महिनामै विश्वका कम्पनीले बाँडे ४२४ अर्ब ५० करोड डलर लाभांश, बाइब्याकमा पनि उस्तै रकम खर्च

Nov 13, 2026 06:11 AM Merolagani



विश्वका ठूला कम्पनीहरूले सन् २०२६ को पहिलो तीन महिनामा शेयरधनीलाई ४२४ अर्ब ५० करोड अमेरिकी डलर लाभांश वितरण गरेका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो रकम १०.१ प्रतिशत बढी हो। 

तर कम्पनीहरूले शेयरधनीलाई प्रतिफल दिने अर्को माध्यम आफ्नै शेयर पुनर्खरिद (बाइब्याक) मा पनि लगभग त्यत्तिकै रकम खर्च गरेका छन्। जनवरीदेखि मार्चसम्म कम्पनीहरूले ४२५ अर्ब ७० करोड डलर बराबरको आफ्नै शेयर बजारबाट खरिद गरेका हुन्।

लगानी व्यवस्थापन कम्पनी जानुस हेन्डरसनले सार्वजनिक गरेको ‘ग्लोबल डिभिडेन्ड एन्ड बाइब्याक इन्डेक्स’ को पहिलो संस्करणमा यस्तो तथ्यांक देखिएको हो। प्रतिवेदनअनुसार पहिलो त्रैमासिकमा कम्पनीहरूले लाभांशका रूपमा वितरण गरेको रकमभन्दा शेयर पुनर्खरिदमा खर्च गरेको रकम १ अर्ब २० करोड डलर बढी छ। यद्यपि, अघिल्लो वर्षको सोही अवधिको तुलनामा लाभांश वितरण १०.१ प्रतिशत बढ्दा शेयर पुनर्खरिद भने ३.१ प्रतिशत घटेको छ। यसले कम्पनीहरूले नियमित लाभांश वितरणलाई निरन्तरता दिँदै शेयर पुनर्खरिदमा भने तुलनात्मक रूपमा सावधानी अपनाउन थालेको संकेत गर्छ। 

प्रतिवेदनले विश्वका कम्पनीले शेयरधनीलाई प्रतिफल दिने दुई फरक माध्यमलाई एउटै अध्ययनमा समेटेको छ। पहिलो नगद लाभांश हो, जसमा कम्पनीले आफ्नो नाफा वा वितरणयोग्य सञ्चित रकमबाट शेयरधनीलाई नगद दिन्छ। दोस्रो शेयर पुनर्खरिद हो। यसमा कम्पनीले बजारमा कारोबार भइरहेको आफ्नै शेयर खरिद गर्छ। बाइब्याकपछि बजारमा उपलब्ध शेयर संख्या घट्न सक्छ र बाँकी शेयरधनीको कम्पनीमा स्वामित्व अनुपात बढ्न सक्छ। तर यो नगद लाभांशजस्तै सबै शेयरधनीलाई प्रत्यक्ष नगद भुक्तानी गर्ने प्रक्रिया होइन।

अमेरिकी कम्पनीबाट सबैभन्दा धेरै प्रतिफल

देशगत रूपमा हेर्दा अमेरिकाका कम्पनीले सबैभन्दा धेरै लाभांश वितरण गरेका छन्। पहिलो त्रैमासिकमा अमेरिकी कम्पनीले १८३ अर्ब ५० करोड डलर लाभांश दिएका छन्। यो अध्ययनमा समेटिएको विश्वव्यापी लाभांशको ४६.३ प्रतिशत हो। त्यस्तै, अमेरिकी कम्पनीले सोही अवधिमा २६६ अर्ब ७० करोड डलर बराबरको आफ्नै शेयर पुनर्खरिद गरेका छन्। यसरी लाभांश र बाइब्याक दुवै माध्यमबाट शेयरधनीलाई प्रतिफल दिनेमा अमेरिका सबैभन्दा ठूलो बजार देखिएको छ।

युरोपमा बेलायतबाहेकका देशका कम्पनीले पहिलो त्रैमासिकमा ६७ अर्ब ४० करोड डलर लाभांश वितरण गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.५ प्रतिशत बढी हो। यस क्षेत्रमा स्विट्जरल्यान्डका कम्पनीले सबैभन्दा धेरै २७ अर्ब ३० करोड डलर लाभांश वितरण गरेका छन्। डेनमार्कका कम्पनीले ९ अर्ब ४० करोड डलर दिएका छन्।

बेलायतका कम्पनीले भने पहिलो त्रैमासिकमा १७ अर्ब ७० करोड डलर लाभांश वितरण गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिभन्दा १७.७ प्रतिशत बढी हो। बेलायतमा केही कम्पनीले विशेष लाभांश वितरण गरेकाले पनि कुल रकम बढेको प्रतिवेदनमा उल्लेख छ। विशेषगरी नेक्स्ट र रेकिटले विशेष लाभांश दिएका थिए। बेलायतका कम्पनीले यही अवधिमा ५ अर्ब ८० करोड डलर बराबरको शेयर पुनर्खरिद गरेका छन्। 

वित्तीय क्षेत्रबाट सबैभन्दा धेरै लाभांश

क्षेत्रगत रूपमा हेर्दा बैंक तथा वित्तीय संस्थासम्बन्धी कम्पनीले सबैभन्दा धेरै लाभांश वितरण गरेका छन्। पहिलो त्रैमासिकमा यस क्षेत्रका कम्पनीले ९० अर्ब ८० करोड डलर लाभांश दिएका छन्। उनीहरूले ११० अर्ब ७० करोड डलर बराबरको शेयर पुनर्खरिद पनि गरेका छन्। यसले बैंक तथा वित्तीय संस्थाहरू विश्वव्यापी रूपमा शेयरधनीलाई प्रतिफल दिने प्रमुख क्षेत्रका रूपमा रहेको देखाउँछ।

प्रविधि क्षेत्रका कम्पनीले पनि लाभांश र बाइब्याक दुवै माध्यमबाट ठूलो रकम शेयरधनीलाई फर्काएका छन्। उक्त अवधिमा प्रविधि कम्पनीले ४३ अर्ब ७० करोड डलर लाभांश वितरण गरेका छन् भने ६६ अर्ब ६० करोड डलर बराबरको शेयर पुनर्खरिद गरेका छन्। कृत्रिम बुद्धिमत्ता (एआई), डेटा सेन्टर र सेमिकन्डक्टर उद्योगको विस्तारका कारण तामा र लिथियमजस्ता खनिजको माग बढ्दा आधारभूत सामग्री क्षेत्रको लाभांशमा सबैभन्दा उच्च वृद्धि देखिएको छ। यस क्षेत्रको लाभांश अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७.१ प्रतिशत बढेको छ।

लाभांश बढ्ने, बाइब्याक घट्ने अनुमान

जानुस हेन्डरसनले सन् २०२६ मा विश्वव्यापी लाभांश वितरण ८.३ प्रतिशत बढ्ने प्रक्षेपण गरेको थियो। सन् २०२५ मा लाभांश वृद्धि ६.८ प्रतिशत रहेको थियो। यसको विपरीत, सन् २०२५ मा ६.१ प्रतिशत बढेको शेयर पुनर्खरिद सन् २०२६ मा १.१ प्रतिशत घट्ने अनुमान प्रतिवेदनमा गरिएको थियो। उच्च ब्याजदर, व्यापारसम्बन्धी अनिश्चितता र भूराजनीतिक जोखिमले कम्पनीको निर्णयमा प्रभाव पार्न सक्ने प्रतिवेदनको विश्लेषण छ।

जानुस हेन्डरसनकी ग्लोबल इक्विटी इन्कम टिमकी क्लाइन्ट पोर्टफोलियो म्यानेजर जेन शुमेकका अनुसार लाभांश कम्पनीको दीर्घकालीन निर्णय र दिगो वितरण क्षमतासँग जोडिएको हुन्छ। शेयर पुनर्खरिद भने कम्पनीले आफ्नो अवस्था र आवश्यकताअनुसार परिवर्तन गर्न सक्ने तुलनात्मक रूपमा लचिलो माध्यम हो। त्यसैले आर्थिक अवस्था बिग्रँदा कम्पनीले नियमित लाभांशलाई निरन्तरता दिएर बाइब्याक घटाउन सक्छन्।

तर पहिलो त्रैमासिकको तथ्यांकपछि प्रकाशित दोस्रो त्रैमासिकको प्रतिवेदनले शेयरधनीलाई प्रतिफल दिने प्रवृत्तिमा अर्को परिवर्तन देखाएको छ। जानुस हेन्डरसनको सेप्टेम्बर १५ मा सार्वजनिक विवरणअनुसार सन् २०२६ को दोस्रो त्रैमासिकमा विश्वव्यापी लाभांश ७५७ अर्ब ८० करोड डलर पुगेको छ। सोही अवधिमा शेयर पुनर्खरिद ५७२ अर्ब डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २६.८ प्रतिशत बढी हो। दोस्रो त्रैमासिकमा प्रविधि क्षेत्रले १२१ अर्ब १० करोड डलर बराबरको शेयर पुनर्खरिद गर्दै वित्तीय क्षेत्रलाई उछिनेको छ। वित्तीय क्षेत्र भने २३९ अर्ब ७० करोड डलर लाभांश वितरण गर्ने सबैभन्दा ठूलो क्षेत्र बनेको छ।

पहिलो र दोस्रो त्रैमासिकको लाभांश रकम सीधै जोडेर वर्षको कुल लाभांशको निष्कर्ष निकाल्न भने मिल्दैन। युरोपका धेरै कम्पनीले दोस्रो त्रैमासिकमा वार्षिक लाभांश वितरण गर्ने भएकाले विभिन्न क्षेत्रको भुक्तानी समयअनुसार त्रैमासिक रकममा ठूलो उतारचढाव आउन सक्छ। जानुस हेन्डरसनले पनि लाभांश वृद्धिको गणनामा भुक्तानीको समय, मुद्रा विनिमय दर र विशेष लाभांशको प्रभावलाई अलग्गै विश्लेषण गर्ने गरेको छ।

नेपालमा सूचीकृत कम्पनीहरूले पनि नगद लाभांश र बोनस शेयरमार्फत शेयरधनीलाई प्रतिफल दिने गरेका छन्। तर विश्वका ठूला बजारमा आफ्नै शेयर पुनर्खरिदलाई पनि प्रतिफल वितरणको महत्त्वपूर्ण माध्यमका रूपमा प्रयोग गरिएको देखिन्छ। पहिलो त्रैमासिकमा लाभांश र बाइब्याक दुवैमा करिब ४२५ अर्ब डलर खर्च भएको तथ्यांकले कम्पनीहरूले शेयरधनीलाई प्रतिफल दिने अभ्यास नगद लाभांशमा मात्र सीमित नरहेको देखाउँछ।




हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

Nov 08, 2026 06:30 AM

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ।