वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै लाखौँ रुपैयाँ ठगी गर्ने पाँच जना पक्राउ

Nov 03, 2026 02:25 PM Merolagani



काठमाडौं उपत्यकामा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेहरूमा आशिका सिम्खडा, विष्णु खत्री, दिनेश पाख्रेन तामाङ, राजेश बराम र छिरिङ शेर्पा रहेका छन्।

प्रहरीका अनुसार आशिकाले बेलायत पठाइदिने भन्दै एक जनाबाट ७ लाख ५० हजार रुपैयाँ, विष्णुले माल्टा पठाइदिने भन्दै ६ लाख रुपैयाँ र दिनेशले यूएई पठाइदिने भन्दै २ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो।

त्यस्तै, राजेशले सिंगापुर पठाइदिने भन्दै दुई जनाबाट १५ लाख ५० हजार रुपैयाँ र छिरिङले क्यानडा पठाइदिने भन्दै दुई जनाबाट ७ लाख ४० हजार रुपैयाँ लिएको आरोप छ।

यसरी पाँचै जनाले विभिन्न व्यक्तिबाट कुल ३८ लाख ४० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।