आज धनतेरस मनाइदै, यस्तो छ परम्परा र महत्व

Nov 06, 2026 06:04 AM Merolagani



उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ ।

 

यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ ।

यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण छैन तर धन्वन्तरिको प्रादुर्भाव समुद्रमन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।

परम्पराअनुसार धनतेरसका दिन यमपञ्चक पनि प्रारम्भ हुन्छ, त्यसैले यस दिन साँझको समयमा यमराजको स्वागतार्थ एउटा दियो बाली घरको मूल दैलोबाहिर बाटोमा राख्ने चलन छ । यस दिन बहिनी यमुनाको निम्तो मान्न यमलोक (नरक) का सबै काम बन्द गरी यमराज पृथ्वीतलमा ओर्लन्छन् । बहिनीका घरतर्फ हिँडेका कालका देवता यमराज झुक्किएर आफ्ना घरमा नपसून् अर्थात् परिवारका कुनै सदस्यलाई शारीरिक रोगव्याधी र दुःखकष्ट नहोस् भनेर उनको प्रसन्नताका लागि त्यसरी घरबाहिर बत्ती बालिएको हो । धनतेरस र यमपञ्चक पर्वसँग सम्बन्धित विभिन्न लोकआह्वान र शास्त्रीय कथा प्रचलनमा रहेका पाइन्छन् ।