एनपीएल: कर्णाली-सुदूरपश्चिम भिड्दै, पोखरालाई पहिलो जितको दबाब

Nov 06, 2026 08:35 AM Merolagani



नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुईवटा रोमाञ्चक भिडन्त हुँदैछन्। मौसममा सुधार आएपछि लिगको अङ्क तालिकामा आफ्नो पकड बनाउन टोलीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

आज दिउँसो १२:३० बजे सुरु हुने दिनको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। दुवै टोलीका लागि यो खेल प्रतिष्ठा र शीर्ष चारको होडका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ। कर्णाली याक्स आज जित दर्ता गर्दै अङ्क तालिकाको माथिल्लो स्थानमा पकड कायम राख्ने दाउमा छ भने सुदूरपश्चिम रोयल्स पनि उत्कृष्ट रणनीतिसहित अङ्क जोड्ने लक्ष्यका साथ मैदान उत्रनेछ।

यसैगरी, आजै अपराह्न साढे ४ बजे आयोजना हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच भिडन्त हुनेछ। जारी प्रतियोगितामा अझै जितको खाता खोल्न नसकेको पोखरा एभेन्जर्स आज जुनसुकै मूल्यमा पहिलो जित दर्ता गर्ने दबाबमा हुनेछ। अर्कातर्फ, सन्तुलित टोली मानिएको चितवन राइनोज पोखरालाई पन्छाउँदै अङ्क तालिकामा आफ्नो स्थिति थप सुदृढ बनाउने रणनीतिमा रहनेछ।