पहिलो त्रैमासमा निर्जीवन बीमकले संकलन गरे १५ अर्ब ७८ करोड बीमाशुल्क

Nov 13, 2026 12:56 PM Merolagani



चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले १५ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणको असोज मसान्तसम्मको तथ्याङ्कअनुसार यस अवधिमा ९ लाख १५ हजार ७१७ वटा बीमालेख जारी भएका छन्। असोज महिनामा मात्रै ३ लाख ८३ हजार ६५० बीमालेख जारी भएका छन् भने ५ अर्ब ८१ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ।

सगरमाथा लुम्बिनी बीमाशुल्कमा पहिलो

कम्पनीगत रूपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै पहिलो स्थान हासिल गरेको छ। दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ।

तर, बीमालेख जारी गर्ने संख्यामा भने शिखर इन्स्योरेन्स अगाडि रहेको छ। कम्पनीले पहिलो त्रैमासमा १ लाख २ हजार ३१२ वटा बीमालेख जारी गरेको छ।

हिमालयन एभरेष्टले १ अर्ब ६० करोड ९९ लाख, एनएलजीले १ अर्ब ४९ करोड १८ लाख, आइजिआई प्रुडेन्सियलले १ अर्ब ३३ करोड ४ लाख र सिद्धार्थ प्रिमियरले १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

बागमती प्रदेशमा ६९ प्रतिशतभन्दा बढी व्यवसाय

प्रदेशगत रूपमा निर्जीवन बीमा व्यवसाय बागमती प्रदेशमा केन्द्रित देखिएको छ। कुल बीमाशुल्कको ६९.१५ प्रतिशत अर्थात् १० अर्ब ९१ करोड ७७ लाख रुपैयाँ बागमती प्रदेशबाट संकलन भएको छ।

दोस्रो स्थानमा लुम्बिनी प्रदेश १ अर्ब ३१ करोड ५७ लाख रुपैयाँसहित रहेको छ। त्यसपछि कोशीमा १ अर्ब २८ करोड ५४ लाख र मधेशमा १ अर्ब १ करोड ९० लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।

कर्णाली प्रदेशमा भने सबैभन्दा कम १२ करोड ५१ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन भएको छ।

मोटर बीमाको हिस्सा सबैभन्दा ठूलो

बीमाको क्षेत्रगत विवरणमा मोटर बीमा पहिलो स्थानमा रहेको छ। यस क्षेत्रबाट ४ अर्ब ८३ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। दोस्रो स्थानमा रहेको सम्पत्ति बीमाबाट ३ अर्ब ८७ करोड २ लाख रुपैयाँ संकलन भएको छ।

त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिमबाट २ अर्ब ३९ करोड ८८ लाख, विविध बीमाबाट १ अर्ब ३४ करोड २७ लाख र सामुद्रिक बीमाबाट १ अर्ब २२ करोड ६८ लाख रुपैयाँ संकलन भएको छ।

चारवटा लघु निर्जीवन बीमा कम्पनीले पनि पहिलो त्रैमासमा २४ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

निर्जीवन बीमा व्यवसायमा मोटर र सम्पत्ति बीमाको बलियो उपस्थिति देखिँदा प्रदेशगत रूपमा बागमतीमा अत्यधिक निर्भरता र कर्णालीमा न्यून पहुँच रहेको तथ्याङ्कले देखाएको छ।