नेप्से बुल्स र गभर्नरको बिक्री बढेपछि सागर डिस्टिलरीको बिक्री आम्दानी ८५ प्रतिशत बढ्यो

Nov 16, 2026 06:56 AM Merolagani



सागर डिस्टिलरी लिमिटेड (SAGAR) ले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असोज मसान्त, २०८३) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बिक्री र व्यापारमा उच्च वृद्धि भएकाे देखाएको छ।

नेप्से बुल्स र गभर्नरको बिक्री बढेपछि यस समीक्षा अवधिमा कम्पनीको कुल बिक्री आम्दानीमा भारी वृद्धि हुनुका साथै वर्षौंदेखिको अपरेटिङ घाटालाई चिर्दै कम्पनीले खुद सञ्चालन मुनाफामा पुनरागमन गरेको छ। बजार बिस्तारमा गरिएको आक्रामक रणनीति र नेप्से बुल्स र गभर्नर जस्ता प्रिमियम ब्रान्डहरूको बढ्दो लोकप्रियताले कम्पनीलाई यो सफलता दिलाएको हो।

प्रकाशित वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८५.१ प्रतिशत बढेर ११ करोड ९ लाख ८६ हजार रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ९९ लाख ७० हजार रुपैयाँ मात्र रहेको थियो। यसैगरी, खुद बिक्री आम्दानी ६३.२ प्रतिशत वृद्धि भई ४ करोड ५० लाख ५९ हजार रुपैयाँ कायम भएको छ। बजारमा कम्पनीका उत्पादनहरूको माग उच्च हुँदा कुल मुनाफा ५८.२ प्रतिशत उक्लिँदै २ करोड ७४ लाख २३ हजार रुपैयाँ पुगेको छ।

बिक्रीमा आएको यो ऐतिहासिक वृद्धिको प्रत्यक्ष सकारात्मक प्रभाव कम्पनीको सञ्चालन नतिजामा देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा १ करोड ११ लाख रुपैयाँ ऋणात्मक (घाटा) रहेको सञ्चालन मुनाफा चालु वर्ष सुधार भएर ४५ लाख ६८ हजार रुपैयाँ धनात्मक बनेको छ। यसले कम्पनीको मुख्य व्यापारिक तथा बिक्री गतिविधि अब पूर्ण रूपमा सबल र नाफामूलक ट्र्याकमा फर्किएको पुष्टि गर्छ। बढ्दो व्यापार र परिचालन दक्षताका कारण कम्पनीको खुद नोक्सानी पनि ६७.९ प्रतिशतले घटेर ४९ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ, जुन गत वर्ष १ करोड ५३ लाख रुपैयाँ घाटामा रहेको थियो।

कम्पनीको चुक्ता पूँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ (सम्पत्ति पुनर्मूल्यांकनसहित) ११९ रुपैयाँ १५ पैसा र करेन्ट रेसियो २.१८ रहेको छ। 

कम्पनीले टायर-२ (Tier-2) सहरहरूमा आफ्नो वितरण सञ्जाललाई व्यापक रूपमा बिस्तार गरेको छ। प्रिमियम ब्रान्डहरूमा केन्द्रित हुँदै लजिस्टिक्स र वितरकको क्षमता अभिवृद्धि गरिएको कारण खुद्रा पसलहरूमा सामानको सहज उपलब्धता, बजार हिस्सामा वृद्धि र निरन्तर बिक्री आदेशहरू प्राप्त गर्न सफल भएको व्यवस्थापनले जनाएको छ। आन्तरिक उपभोक्ता बजारका सामान्य चुनौतीहरूका बाबजुद बिक्री केन्द्रित आक्रामक बजार रणनीति अपनाएका कारण सागर डिस्टिलरीले पहिलो त्रैमासमै बिक्रीमा ऐतिहासिक छलाङ मार्न सफल भएकाे हाे।