वर्षायाम र निर्माण क्षेत्रमा देखिएको सुस्तताका कारण समीक्षा अवधिमा कम्पनीले १६ करोड १५ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनी १२ करोड ८० लाख रुपैयाँ खुद नोक्सानीमा रहेको थियो।
बजारमा सिमेन्टको मागमा आएको कमी र मूल्यमा देखिएको प्रतिस्पर्धी दबाबका कारण कम्पनीकाे नाेक्सानी बढ्न पुगेकाे हाे।
प्रकाशित वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८७ करोड ९० लाख रुपैयाँ कायम भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ९० करोड ६० लाख रुपैयाँ रहेको थियो। बिक्री लागत ७३ करोड १३ लाख रुपैयाँ कटाएपछि कम्पनीको कुल मुनाफा १४ करोड ७६ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीकाे वित्तीय खर्च १७ करोड ६३ लाख रुपैयाँबाट घटेर १३ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको चुक्ता पूँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ३ अर्ब ११ करोड ८९ लाख रुपैयाँभन्दा बढी रकम सञ्चित छ। यसले कम्पनीको कुल इक्विटीलाई ८ अर्ब ११ करोड ८९ लाख रुपैयाँको बलियो स्तरमा राखेको छ।
वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ८ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ४२० रुपैयाँ ८३ पैसा कायम भएको छ।
