स्टेज ५ बाट किन उक्लिएनन् कुनै पनि कम्पनी स्टेज ६ मा ?
धितोपत्र बोर्डले अघिल्लो हप्ता स्टेज ६ मा रहेका आशुतोष इनर्जी र कान्तिपुर फर्मास्युटिकल्स ल्याबको आईपीओ स्वीकृत गरिसकेको छ। तर, स्टेज ५ (रिप्लाई अन्डर रिभ्यु) मा रहेका १० वटा कम्पनीमध्ये कुनै पनि कम्पनी स्टेज ६ (फाइनल रिभ्यु) मा उक्लन सकेनन्।
स्टेज ५ बाट कम्पनीहरू माथि नउक्लिनुको मुख्य कारण उनीहरूको जवाफ र वित्तीय विवरणमाथिको प्राविधिक पुनरावलोकन नसकिनु हो। बोर्डको कार्यविधि अनुसार स्टेज ५ भनेको कम्पनीहरूले बोर्डले पठाएको कैफियतको जवाफ दिएपछि बोर्डको सम्बन्धित विभागले ती कागजात, नेटवर्थ र पछिल्लो वित्तीय विवरण सन्तोषजनक छ कि छैन भनी अध्ययन गर्ने चरण हो।
बोर्डका प्रवक्ता निरन्जय घिमिरेका अनुसार स्टेज ५ मा रहेका सानिमा हाइड्रोपावर, आईएमई लिमिटेड, सिउरी न्यादी, हिल्टन हाइड्रो लगायतका १० वटा कम्पनीले पेश गरेका थप विवरण र जवाफमाथि बोर्डको नियमन तथा प्राविधिक टोलीले अध्ययन गरिरहेको छ। प्रवक्ता घिमिरेले स्पष्ट पारेका छन्, "स्टेज ५ का कम्पनीहरूको अध्ययन प्रक्रिया नसकिएकाले उनीहरूको स्टाटस परिवर्तन नभएको हो। विभागले अध्ययन सकेर अन्तिम निर्णयका लागि तयार नपारेसम्म कम्पनीहरू स्वतः स्टेज ६ मा चढ्दैनन्। प्रक्रिया पूरा हुनासाथ ती कम्पनीहरू क्रमशः स्टेज ६ मा उक्लिनेछन्।" अर्थात्, अध्ययन विचाराधीन रहेकै कारण स्टेज ६ हाललाई कुनै कम्पनी नभई खाली देखिएको हो।
कुन–कुन कम्पनीको बदलियो स्टेज ? (२०८३ कात्तिक ११ को विवरणसँग तुलना)
बोर्डको २०८३ कात्तिक ११ गतेको विवरण र हालको २०८३ कात्तिक २० गतेको अद्यावधिक विवरण तुलना गर्दा तीनवटा कम्पनीको अवस्था (स्टाटस) मा प्रत्यक्ष फेरबदल देखिएको छ:
१. सेञ्चुरी इनर्जी स्टेज १ बाट सोझै स्टेज ३ मा :
धेरैमा सेञ्चुरी इनर्जी पहिले स्टेज २ मा थियो कि भन्ने भ्रम पर्न सक्छ। तर, सेञ्चुरी इनर्जी २०८३ कात्तिक ११ गतेको विवरणमा स्टेज २ मा नभई स्टेज १ (आवेदन दर्ता भएको चरण) मै थियो। (स्टेज २ मा पहिलेदेखि नै ६ वटा कम्पनी थिए)। बोर्डले २०८३ कात्तिक १८ गते यस कम्पनीलाई आवश्यक सुधारका लागि औपचारिक पत्र (Comment) पठाएपछि यो कम्पनी स्टेज १ बाट सोझै स्टेज ३ (कमेन्ट सेन्ट) मा स्तरोन्नति भएको हो।
२. लक्ष्मी टेक्नोप्लास्ट स्टेज ३ बाट स्टेज ४ मा :
बोर्डले २०८३ कात्तिक ११ गते जारी गरेको विवरणमा स्टेज ४ मा ठीक १९ वटा कम्पनी थिए र लक्ष्मी टेक्नोप्लास्ट स्टेज ३ मा थियो। लक्ष्मी टेक्नोप्लास्टले बोर्डले मागेको कैफियतको जवाफ पेश गरेपछि यो कम्पनी स्टेज ४ (रिप्लाई रिसिभ्ड) मा उक्लिएको छ। यसैका कारण अहिले स्टेज ४ मा कम्पनी संख्या १९ बाट बढेर २० पुगेको हो।
३. टेन्क्स हाइड्रो होल्डिङ नयाँ कम्पनीका रूपमा दर्ता :
बोर्डको २०८३ कात्तिक ११ गतेको प्रारम्भिक सूचीमा टेन्क्स हाइड्रो होल्डिङ लिमिटेड समावेश थिएन। यस कम्पनीको आवेदन नै २०८३ कात्तिक ११ गते दर्ता भएको हुनाले यो कम्पनी नयाँ प्रविष्टिका रूपमा स्टेज १ को अन्तिम (क्र.सं. ७७) मा थपिएको हो।

माथिको मितिले नझुक्किनुहोस्: भित्रका मितिले पुष्टि गर्छ अद्यावधिक विवरण
धितोपत्र बोर्डको यस प्रतिवेदनको माथिपट्टि ‘Circular Dated 2083/05/09’ लेखिएको लिङ्क देखिन्छ। यो मिति देखेर धेरै सर्वसाधारणमा यो पुरानै विवरण त होइन भन्ने अन्योल भएको पाइएको छ। तर, त्यो मिति बोर्डले वित्तीय विवरण तथा नेटवर्थ सम्बन्धी जारी गरेको पुरानो ‘सर्कुलर’ (परिपत्र) को मिति मात्र हो।
यो प्रतिवेदन पूर्ण रूपमा पछिल्लो समयको अद्यावधिक विवरण हो भन्ने प्रमाण प्रतिवेदनको माथि दायाँपट्टि स्पष्ट लेखिएको ‘As on 2083/07/20’ ले गर्छ। यसका अलावा भित्र उल्लेखित कारबाही मितिले पनि यसलाई प्रमाणित गर्छ:
-
उदाहरण १: सेञ्चुरी इनर्जीको Date of Comment कोलममा २०८३/०७/१८ उल्लेख छ। यदि यो पुरानो विवरण हुन्थ्यो भने कात्तिक १८ गतेको मिति यसमा दर्ता हुने थिएन।
-
उदाहरण २: टेन्क्स हाइड्रो होल्डिङको Date of Application कोलममा २०८३/०७/११ उल्लेख छ, जसले कात्तिक ११ पछि मात्र यो सूची तयार भएको प्रमाणित गर्छ।
-
उदाहरण ३: धेरै कम्पनीको Remarks कोलममा २०८३ असोज र कात्तिक महिनामा प्राप्त भएका विवरणहरूको स्पष्ट मिति (जस्तै: २०८३/०६/२९, २०८३/०७/१७) समावेश छ।
संख्या ११७ नै देखिए पनि भित्र भएको फेरबदल (तथ्याङ्क तुलना)
पछिल्लो विवरण हेर्दा कुल कम्पनी संख्या ११७ नै देखिए पनि कित्ता र रकममा भने स्पष्ट भिन्नता आएको छ, जसले पाइपलाइनको परिवर्तन प्रमाणित गर्छ:
-
यसअघिको स्थिति : कुल ११७ कम्पनी, ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता शेयर र कुल रकम रु. ७१ अर्ब ४२ करोड २० लाख २३ हजार ४९६।
-
अहिलेको स्थिति : कुल ११७ कम्पनी, ५० करोड ९३ लाख १६ हजार ५४६ कित्ता शेयर र कुल रकम रु. ७१ अर्ब २१ करोड २० लाख २३ हजार ४९६।
यो अन्तर किन आयो ?
यसअघि स्टेज ६ मा रहेका आशुतोष इनर्जी (१२ लाख कित्ता/रु. १२ करोड) र कान्तिपुर फर्मास्युटिकल्स (१७ लाख कित्ता/रु. १७ करोड) गरी कुल २९ लाख कित्ता र रु. २९ करोड बराबरको आईपीओ स्वीकृत भएर पाइपलाइनबाट बाहिरियो। अर्कोतर्फ, टेन्क्स हाइड्रो होल्डिङको ८ लाख कित्ता (रु. ८ करोड) नयाँ थपियो। अर्थात्, साविकको कुल रकमबाट २९ करोड घटेर ८ करोड थपिँदा खुद २१ करोड रुपैयाँ घटेर अहिले कुल रकम ७१ अर्ब २१ करोड कायम भएको हो।
हाल कुन स्टेजमा कुन–कुन कम्पनी छन् ? (विस्तृत सूची)
धितोपत्र बोर्डको २०८३ कात्तिक २० को अद्यावधिक विवरण अनुसार विभिन्न स्टेजमा रहेका कम्पनीहरूको नामावली यस प्रकार छ:
स्टेज ५: रिप्लाई अन्डर रिभ्यु (जवाफमाथि अध्ययन भइरहेका १० कम्पनी)
यस चरणमा रहेका कम्पनीहरूको प्रक्रिया अन्तिम चरण नजिक पुगेको छ:
१. सानिमा हाइड्रोपावर कम्पनी लिमिटेड
२. आईएमई लिमिटेड
३. रिचेट जलविद्युत् कम्पनी लिमिटेड
४. अन्नपूर्ण केबलकार लिमिटेड
५. हिम रिभर पावर लिमिटेड
६. सिउरी न्यादी पावर लिमिटेड
७. हिल्टन हाइड्रो इनर्जी लिमिटेड
८. म्यादमे खोला हाइड्रोपावर लिमिटेड
९. ह्याविट्याट पावर कम्पनी लिमिटेड
१०. एनसी एग्रो टेक इन्डस्ट्रिज लिमिटेड
स्टेज ४: रिप्लाई रिसिभ्ड (कैफियतको जवाफ बोर्डमा दर्ता भएका २० कम्पनी)
बोर्डले मागेको स्पष्टीकरण वा कागजात बुझाइसकेका कम्पनीहरू:
१. डिश मिडिया नेटवर्क लिमिटेड
२. एपेक्स हस्पिटालिटी लिमिटेड
३. जगदम्बा स्टील्स लिमिटेड
४. हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी (ह्याम्स हस्पिटल)
५. सौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड
६. बरुण इन्भेष्टमेन्ट लिमिटेड
७. तल्लो इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेड
८. सीड इनर्जी लिमिटेड
९. लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड (नयाँ स्तरोन्नति भई आएको)
१०. बिग एग्रो ग्रुप लिमिटेड
११. पुवा खोला–वान हाइड्रोपावर लिमिटेड
१२. निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेड
१३. पिपुल्स इनर्जी लिमिटेड
१४. भुगर्भ सिमेन्ट लिमिटेड
१५. प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड
१६. चम्पावती हाइड्रोपावर लिमिटेड
१७. ठमेल प्लाजा होटल एन्ड सुइट्स लिमिटेड
१८. आरती पावर कम्पनी लिमिटेड
१९. दाउन्ने एग्रो फार्म लिमिटेड
२०. गोदावरी स्टील लिमिटेड
स्टेज ३: कमेन्ट सेन्ट (बोर्डले कैफियत/सुझाव पठाएका ४ कम्पनी)
बोर्डले अध्ययन गरी थप कागजात मागेका कम्पनीहरू:
१. सेञ्चुरी इनर्जी लिमिटेड (कात्तिक १८ मा कमेन्ट पठाइएको)
२. महाशक्ति सिमेन्ट लिमिटेड
३. शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेड
४. ज्यास्मिन पेन्ट्स लिमिटेड
स्टेज २: प्रारम्भिक अध्ययनमा रहेका ६ कम्पनी
आवेदन परेपछि प्रारम्भिक जाँच भइरहेका कम्पनीहरू:
१. एपेक्स मकालु हाइड्रोपावर लिमिटेड
२. गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड
३. श्री डिस्टिलरी लिमिटेड
४. आकामा होटल लिमिटेड
५. जी.आई. सोलार लिमिटेड
६. वर्णबास म्युजियम होटल लिमिटेड
स्टेज १: आवेदन दर्ता भएका (प्रारम्भिक चरणका ७७ कम्पनी)
यस चरणमा भर्खरै आवेदन दर्ता भएका ठूला सिमेन्ट उद्योग, स्टील, केबलकार, हाइड्रोपावर तथा अन्य उत्पादनमूलक क्षेत्रका ७७ कम्पनी छन्। यस सूचीमा मारुती सिमेन्ट्स, नेपाल ब्रोडकास्टिङ च्यानल, कैलाश हेलिकप्टर, शिवम होल्डिङ्स, छायाँदेवी कम्प्लेक्स, रिद्धिसिद्धि सिमेन्ट, अम्बे स्टील्स, स्टार माइक्रो इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ, युनाइटेड मेवा खोला, मौलाकाली केबलकार, हुलास इन्फ्रा, हुलास आइरन, कालिञ्चोक इन्भेष्टमेन्ट तथा पछिल्लो पटक दर्ता भएको टेन्क्स हाइड्रो होल्डिङ लिमिटेड लगायतका कम्पनीहरू रहेका छन्।
तल हेर्कुनुहोस् कुन स्टेजमा कुन कम्पनी ?