आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

Nov 20, 2026 08:58 AM RSS



निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको छ । 

आयोगले आज विभिन्न राजनीतिक दलहरूसँग छलफल सुरु गर्ने भएको छ । सो प्रयोजनका लागि राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरूलाई आयोगले छलफलका लागि आमन्त्रण  गरेको छ ।

आयोगले आज बिहान ११ः३० बजे दलका नेताहरूलाई छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आजका लागि राजनीतिक दलहरूलाई छलफलमा बोलाइएको जानकारी दिए । 

प्रवक्ता भट्टराईले भने, “स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि नै उहाँहरूलाई आयोगमा आमन्त्रण गरिएको हो ।”

राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई आज छलफलका लागि आयोगमा आमन्त्रण गरिएको उनले बताए । स्थानीय एवं प्रदेश तहको निर्वाचनका सन्दर्भमा आयोगमा आज ती राजनीतिक दलका प्रतिनिधिहरूसँग आवश्यक परामर्श एवं छलफल हुने भएको हो ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । 

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदै छ । त्यसैले आयोगले नयाँ निर्वाचनको मिति घोषणा र निर्वाचनको तयारीका सन्दर्भमा गृहकार्य थालेको हो ।

निर्वाचनको मिति तथा व्यवस्थापन, आवश्यक पूर्वतयारीका सम्बन्धमा राजनीतिक दलहरूको सुझावका लागि सो छलफल गर्न लागिएको आयोगले जनाएको छ । 

आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अरु राजनीतिक दलहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय गरेको छ ।




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।