
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठले नेपाल र भारतबीचको सम्बन्धलाई अब केवल इतिहास र संस्कृतिको भाषामा मात्र सीमित नराखी ‘व्यवसाय र समृद्धिको भाषा’ मा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
प्रधानमन्त्रीको पहिलो द्विपक्षीय भारत भ्रमणका अवसरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) र एफएनसीसीआईद्वारा नयाँ दिल्लीमा आयोजित विशेष बिजनेस फोरमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपाल–भारत आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन ‘७ कडी र २ प्रत्याभूति’ (Seven Links and Two Guarantees) को ठोस मार्गचित्र प्रस्तुत गरे।
कार्यक्रममा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, भारत सरकारका मन्त्री, लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) याङ्की उक्याब तथा दुवै देशका विशिष्ट व्यावसायिक प्रतिनिधिहरूको उपस्थिति थियो।
‘भूगोलले छिमेकी र इतिहासले परिवार बनायो, अब व्यापारले साझेदार बनाउनुपर्छ’
अध्यक्ष श्रेष्ठले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख लगानीकर्ता रहेको उल्लेख गर्दै गत वर्ष दुई देशबीच करिब ९.४ अर्ब अमेरिकी डलरको व्यापार भएको र नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी हिस्सा भारतमै रहेको तथ्याङ्क प्रस्तुत गरे।
यस्तै, गत वर्ष नेपालले भारत र बङ्गलादेशलाई बिजुली बिक्री गरेर ६८ प्रतिशतको वृद्धिसहित २९ अर्ब रुपैयाँ आम्दानी गरेको स्मरण गराउँदै उनले ऊर्जा क्षेत्र क्षेत्रीय मूल्य शृङ्खला (Regional Value Chain) को प्रमुख आधार बनेको बताए। हवाई मार्गबाट नेपाल आउने प्रत्येक चार पर्यटकमध्ये एक भारतीय हुने गरेको र विदेशमा रहेका तीन नेपालीमध्ये एक जना भारतमै कार्यरत रहेको भन्दै उनले भारतका लागि नेपाल शीर्ष १० रेमिट्यान्स स्रोतमध्ये एक रहेको तथ्य पनि औँल्याए।
तर, यति ठूलो सम्भावना र सम्बन्धका बाबजुद नेपालमा भारतीय निजी क्षेत्रको लगानी भने अझै निराशाजनक रहेको उनको भनाइ थियो। "भारत आफैँले वार्षिक ९४.५ अर्ब डलरको कीर्तिमानी प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्र्याइरहँदा नेपालमा भारतीय लगानी वार्षिक १ अर्ब डलरभन्दा पनि कम हुनु सोचनीय विषय हो। विगत दुई दशकदेखि भारतीय निजी क्षेत्रबाट हाम्रो अपेक्षाअनुसार लगानी आउन सकेको छैन," श्रेष्ठले भने।
साझेदारीका ‘७ कडी’ र ‘२ प्रत्याभूति’
नेपाल–भारत आर्थिक सहकार्यलाई नतिजामुखी बनाउन अध्यक्ष श्रेष्ठले ‘७ कडी’ (Seven Links) अघि सारे:
१. दुईतर्फी व्यापार र गुणस्तर प्रमाणीकरण: नेपालबाट ब्रान्डेड र मूल्य अभिवृद्धि (भ्यालु–एडेड) भएका वस्तुहरूको निर्यात बढाउने। भारतको ‘बीआईएस’ (BIS) र ‘नेपाल गुणस्तर तथा नापतौल विभाग’ बीच पारस्परिक मान्यता कायम गरी सीमामा परीक्षणको समय हप्ताबाट दिनमा झार्ने।
२. पारवहन पूर्वाधार विस्तार: विशाखापट्टनम र कोलकाता बन्दरगाहसँगै कोलकाता–विराटनगर रेल कार्गो सेवा सुरु भएको सन्दर्भमा थप बन्दरगाह र रेल क्षमता बढाउने। भैरहवा, नेपालगञ्ज र दोधारा–चाँदनीका एकीकृत जाँच चौकी (ICP) लाई लजिस्टिक हबका रूपमा विकास गर्ने।
३. कनेक्टिभिटी र डिजिटल भुक्तानी: अयोध्या–जनकपुर रेल सञ्चालन, नयाँ सीमा बिन्दुहरूमा रेल विस्तार, भैरहवा र पोखरा विमानस्थलमा थप उडान तथा भारतीय युपीआईमार्फत नेपाली यात्रुले भारतभर क्यूआर कोडबाट सहजै भुक्तानी गर्न पाउने व्यवस्था।
४. पूर्वाधार विकास: द्रुतमार्ग, विमानस्थल, औद्योगिक पार्क र सहरी यातायातमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा संयुक्त लगानी।
५. ऊर्जा सहकार्य: नेपालमा ४० हजार मेगावाटभन्दा बढी आर्थिक रूपमा सम्भाव्य जलविद्युत् रहेको र हालसम्म १० प्रतिशत मात्र उत्पादन भएको अवस्थामा आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् व्यापार गर्ने दुवै सरकारको सम्झौतालाई तीव्र कार्यान्वयन गर्ने।
६. प्रमुख क्षेत्रमा लगानी: पर्यटन, कृषि प्रशोधन, औषधि, सिमेन्ट र सूचना प्रविधि (आईटी) मा लगानी। नेपाल लिभर, नेपाल एसबीआई बैंक, डाबर नेपाल र सूर्य नेपालजस्ता भारतीय संयुक्त उपक्रमले दशकौँदेखि नेपाल आकर्षक प्रतिफल दिने गन्तव्य भएको प्रमाणित गरिसकेको स्मरण।
७. प्रविधि हस्तान्तरण: ज्ञान, सीप र प्राविधिक क्षमता नेपाली जनशक्तिमा हस्तान्तरण हुने गरी संयुक्त उद्यम (Joint Ventures) स्थापना गर्ने।
यससँगै उनले लगानीकर्तालाई आश्वस्त पार्न ‘२ प्रत्याभूति’ (Two Guarantees) प्रस्तुत गरे:
-
सुरक्षित र स्मार्ट सीमा: जहाँ सामानको ट्र्याकिङ, सिलिङ र भन्सार जाँचपास ढिलाइ नगरी समयमै सम्पन्न हुनेछ।
-
लगानी सुरक्षाको प्रत्याभूति: नेपाल सरकारले लागू गरेको ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ (PIPPS) मार्फत कम्तीमा ५ वर्षसम्म नीतिगत स्थिरता र लगानीको कानुनी तथा भौतिक सुरक्षाको पूर्ण ग्यारेन्टी।
नेपाली उद्योगका ३ प्रमुख समस्या: तत्काल सहजीकरण गर्न माग
अध्यक्ष श्रेष्ठले भारतीय नीतिका कारण नेपाली उद्योगले भोग्नुपरेका तीन गम्भीर समस्याबारे भारतीय पक्षको ध्यानाकर्षण गराए:
१. जुट उद्योगमाथिको एन्टी–डम्पिङ शुल्क: सन् २०१७ देखि नेपाली जुट उत्पादनमा भारतले लगाउँदै आएको एन्टी–डम्पिङ महसुल गत सेप्टेम्बरमा पुनरावलोकन गरिएको र थप काउन्टरभेलिङ शुल्क लगाउने तयारी भइरहेकोप्रति उनले चिन्ता व्यक्त गरे। पूर्वी नेपालका हजारौँ मजदुर र किसान जोडिएको नेपाली जुट उद्योगले कच्चा जुट र मेसिनरी भारतबाटै किन्ने भएकाले यो भारतीय जुट अर्थतन्त्रका लागि खतरा नभई साझेदार भएको प्रष्ट पारे।
२. स्टिल निर्यातमा सेफगार्ड ड्युटी: गत डिसेम्बरदेखि भारतले लगाएको सेफगार्ड ड्युटी नेपालमा पनि लागू हुँदा गत आर्थिक वर्षमा भारततर्फको नेपाली स्टिल निर्यात ६० प्रतिशतभन्दा बढीले घटेको बताउँदै उनले विश्वकै दोस्रो ठूलो स्टिल उत्पादक भारतका लागि नेपालको निर्यात नगण्य भए पनि नेपाली उद्योगका लागि यो जीवनरेखा भएको उल्लेख गरे।
३. बीआईएस (BIS) प्रमाणीकरणको ढिलाइ: बीआईएस नवीकरणमा हुने प्रक्रियागत ढिलाइ र कच्चा पदार्थसम्बन्धी कडा प्रावधानका कारण सीमामा सामान रोकिने समस्या समाधान गर्न आग्रह गरे।
यी व्यापारिक अवरोध र मापदण्डका समस्या समाधानका लागि अध्यक्ष श्रेष्ठले सीआईआई र एफएनसीसीआई सम्मिलित एक संयुक्त कार्यदल (Joint Task Force) गठन गरी दुवै सरकारलाई साझा सिफारिस पेश गर्न औपचारिक प्रस्ताव गरे।
लगानीमैत्री सुधार र नेपालको दीर्घकालीन लक्ष्य
नेपालले पछिल्लो समय लगानी वातावरण सुधारका लागि १०२ वटा उद्योगमा एकलबिन्दु सेवा केन्द्रमार्फत कुनै सीमा नतोकी स्वचालित मार्ग (Automatic Route) बाट प्रत्यक्ष विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था मिलाएको र ५९ वटा ऐन तथा करिब ५०० दफाहरू संशोधनको प्रक्रियामा रहेको उनले जानकारी दिए।
सम्बोधनको अन्त्यमा अध्यक्ष श्रेष्ठले भने, "भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने लक्ष्य राखेको छ भने नेपालले आगामी ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउँदै १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बन्ने महत्त्वाकाङ्क्षा लिएको छ। नेपाल बलियो हुनु भनेको भारतीय उत्पादनका लागि अझ ठूलो बजार बन्नु पनि हो। त्यसैले अब हामी केवल वार्ताबाट सम्झौतामा, सम्भावनाबाट परियोजनामा र असल छिमेकीबाट उत्कृष्ट साझेदारमा रूपान्तरण हौँ।"