प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीमा ‘गार्ड अफ अनर’सहित भव्य स्वागत, मोदीसँग द्विपक्षीय वार्ता सुरु

Nov 23, 2026 12:15 PM Merolagani



 

  • राष्ट्रपति भवनमा भारतीय सेनाद्वारा सम्मान गारत अर्पण, प्रधानमन्त्रीद्वारा निरीक्षण

  • राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण, सत्य र अहिंसाप्रति प्रतिबद्धता

  • हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच औपचारिक द्विपक्षीय

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई आज बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भव्य औपचारिक स्वागत गरिएको छ।

भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेकाे उक्त विशेष समारोहमा प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ (सम्मान गारत) अर्पण गरेको थियो। प्रधानमन्त्री शाहले उक्त सम्मान गारतको निरीक्षण गरेका थिए।

राजघाटमा गान्धीप्रति श्रद्धाञ्जली

राष्ट्रपति भवनको औपचारिक स्वागतलगत्तै प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सो क्रममा प्रधानमन्त्री शाहले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै गान्धीको जीवन, आदर्श र विश्व समुदायका लागि उनको अतुलनीय योगदानप्रति उच्च सम्मान प्रकट गरे। साथै, उनले गान्धीले देखाएकाे सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्य-मान्यताप्रति दृढ प्रतिबद्धतासमेत व्यक्त गरे।

हैदरावाद हाउसमा औपचारिक द्विपक्षीय वार्ता

राजघाटको कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह औपचारिक द्विपक्षीय भेटवार्ताका लागि हैदरावाद हाउस पुगे। हैदरावाद हाउस परिसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई पुनः हार्दिक स्वागत गरेका थिए।

सो अवसरमा दुई देशका प्रधानमन्त्रीहरूबीच संक्षिप्त भलाकुसारी तथा शिष्टाचार अभिवादन आदानप्रदान भएको थियो। स्वागत कार्यक्रमलगत्तै हैदरावाद हाउसमा दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहितको औपचारिक द्विपक्षीय वार्ता सुरु भएको छ। वार्तामा नेपाल–भारत सम्बन्धका विविध आयाम, आपसी हित, विकास साझेदारी तथा क्षेत्रीय सहकार्यका विषयमा छलफल हुने बताइएको छ।




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।