पीपीएमा सरकारी स्वामित्वका जलविद्युत् आयोजनालाई प्राथमिकता, वर्षौदेखि कुरेका निजी आयोजनालाई वेवास्ता

Nov 24, 2026 11:21 AM Merolagani



हरिप्रसाद शर्मा

नेपाल विद्युत् प्राधिकरणले सरकारी स्वामित्वका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

लामो समयदेखि पीपीए रोकिँदा निर्माण तथा वित्तीय व्यवस्थापनमा समस्या भोगिरहेका सरकारी आयोजनालाई प्राथमिकतामा राखेर सम्झौता प्रक्रिया अगाडि बढाउन लागिएको हो ।

ऊर्जा मन्त्रालयको निर्देशनपछि प्राधिकरणले सरकारी लगानी तथा सहायक कम्पनीमार्फत निर्माण गर्न लागिएका ठूला जलविद्युत् आयोजनाको पीपीए प्रक्रिया तीव्र बनाएको छ । प्रारम्भिक चरणमा करिब एक हजार मेगावाट क्षमताका आयोजनाको पीपीए अघि बढाउने तयारी भइरहेको छ ।

तर, सरकारी आयोजनालाई प्राथमिकता दिँदै पीपीए प्रक्रिया अगाडि बढाउन लागिए पनि निजी क्षेत्रका १६ हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाहरू भने अझै सम्झौताको प्रतिक्षामा छन् । लामो समयदेखि पीपीए स्वीकृति नपाउँदा निजी क्षेत्रको अर्बौं रुपैयाँ लगानी रोकिएको छ ।

प्राधिकरण सञ्चालक समितिका एक सदस्यका अनुसार सरकारी कम्पनीहरूले निर्माण गर्न लागेका आयोजनाको पीपीए गर्ने आन्तरिक तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । यस विषयमा सम्भवतः यसै साता बस्ने सञ्चालक समितिको बैठकबाट औपचारिक निर्णय हुनेछ ।

 

पीपीए प्रक्रिया अघि बढाउन लागिएका सरकारी आयोजनामा बेतन कर्णाली जलविद्युत् आयोजना, किमाथांका अरुण, चैनपुर सेती, जगदुल्ला ‘ए’, चिलिमे सेती, सिम्बुवा खोला र विद्युत् उत्पादन कम्पनीको सौर्य आयोजना रहेका छन् ।

बेतन कर्णाली जलविद्युत् आयोजना ४३९ मेगावाट, किमाथांका अरुण ४५४ मेगावाट, चैनपुर सेती २१० मेगावाट, जगदुल्ला ‘ए’ १२४ मेगावाट, चिलिमे सेती ७७ मेगावाट, सिम्बुवा खोला ७० मेगावाट र विद्युत् उत्पादन कम्पनीको सौर्य आयोजना ३० मेगावाट क्षमताका छन् ।

यी आयोजनाको कुल जडित क्षमता १ हजार ४०० मेगावाटभन्दा बढी छ । पहिलो चरणमा करिब एक हजार मेगावाट क्षमताका आयोजनाको पीपीए प्रक्रिया प्राथमिकताका साथ अघि बढाउने प्राधिकरणको तयारी छ ।

सरकारी आयोजनाको पीपीए रोकिँदा आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको, सरकारी कम्पनीको सञ्चालन खर्च बढ्दै गएको र लगानी निष्क्रिय रहेको भन्दै ऊर्जा मन्त्रालयले प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । पीपीए भएपछि आयोजनाले बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाउने र वित्तीय व्यवस्थापन पूरा गरी निर्माणमा जाने बाटो खुल्नेछ ।

विशेषगरी कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र नेपाल टेलिकमजस्ता संस्थाको लगानी रहने आयोजनाहरू पीपीए अभावमा लामो समयदेखि प्रभावित हुँदै आएका छन् । पीपीए सम्पन्न भएपछि आयोजनाको वित्तीय संरचना तयार गरी निर्माण प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

सरकारी आयोजनाको पीपीए प्रक्रिया अघि बढ्दा ऊर्जा क्षेत्रमा लगानी विस्तार, बैंक तथा वित्तीय संस्थाको लगानी परिचालन र पूँजी बजारमा नयाँ शेयर निष्कासनको सम्भावना बढ्ने देखिन्छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएपछि स्थानीय प्रभावित तथा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया पनि अघि बढ्न सक्नेछ ।

यता, निजी क्षेत्रका ऊर्जा प्रवर्द्धकहरूले भने सरकारी आयोजनालाई प्राथमिकता दिँदै पीपीए प्रक्रिया अघि बढाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका छन् । निजी क्षेत्रका आयोजनाको पीपीए लामो समयदेखि रोकिँदा लगानीकर्ता आर्थिक समस्यामा परेको र निर्माण प्रक्रिया प्रभावित भएको उनीहरूको भनाइ छ ।

निजी क्षेत्रका प्रवर्द्धकहरूले पीपीए खुलाउन सरकार तथा प्राधिकरणसँग पटकपटक माग गर्दै आएका छन् । तर, सरकारले निजी क्षेत्रका आयोजनाको पीपीए प्रक्रिया खुलाउनुभन्दा सरकारी स्वामित्वका आयोजनालाई प्राथमिकता दिएको छ ।

हाल निजी क्षेत्रका १६ हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजना पीपीएको प्रतीक्षामा रहेको बताइएको छ । पीपीए स्वीकृति नहुँदा ती आयोजनाको वित्तीय व्यवस्थापन, निर्माण प्रक्रिया तथा लगानी विस्तारमा अवरोध पुगेको छ ।

नेपालमा विद्युत् उत्पादन क्षमता विस्तार र भारत तथा बंगलादेशमा विद्युत् निर्यातको सम्भावना बढिरहेका बेला सरकारी आयोजनालाई मात्र प्राथमिकता दिएर निजी क्षेत्रका आयोजनाको पीपीए अनिश्चित बनाइराख्नुले ऊर्जा क्षेत्रमा लगानीको वातावरण प्रभावित हुन सक्ने सरोकारवालाहरूको चिन्ता छ ।

सरकारी तथा निजी दुवै क्षेत्रका जलविद्युत् आयोजनालाई समान रूपमा पीपीए प्रक्रिया अघि बढाउनुपर्ने माग निजी क्षेत्रले गर्दै आएको छ ।




सुनचाँदीको मूल्यमा भारि गिरावट

Nov 20, 2026 10:45 AM

मंसिर ४ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट भएको छ। यसदिन सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी तोलाको २२५ रुपैयाँले घटेको हो ।