उता भारत पुगेपछि पनि त्यहाँका विपक्षी दलका नेताहरूसँग भेटघाटको कार्यक्रम देखिएन। एउटा देशको प्रधानमन्त्रीको विदेश भ्रमणमा दुई देशका विपक्षी राजनीतिक शक्तिहरू एकैपटक किन ओझेलमा परे ? यो संयोग मात्र हो कि बदलिँदो राजनीतिक संस्कारको संकेत ?
कूटनीतिमा कहिलेकाहीँ औपचारिक सम्झौताभन्दा साना घटनाले ठूलो राजनीतिक सन्देश दिन्छन्। प्रधानमन्त्रीको भ्रमणमा को सहभागी भयो, कसलाई भेटियो, कसलाई भेटिएन र कसको धारणा सुनियो भन्ने कुराले पनि सरकारको राजनीतिक सोच र कूटनीतिक प्राथमिकता बुझ्न मद्दत गर्छ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा यस्तै एउटा रोचक संयोग देखिएको छ।
नेपालबाट भारत जानुअघि उनले राष्ट्रिय महत्त्वका विषयमा विपक्षी राजनीतिक दलहरूसँग पर्याप्त छलफल नगरेको भन्दै आलोचना भयो । त्यतिमात्र होइन, उनले राष्ट्रपति रामचन्द्र पौडेललाईसमेत भारत भ्रमणको बारेमा औपचारिकरुपमा कुनै जानकारी गराएनन् ।

भारत पुगेपछि पनि भारतीय विपक्षी दलका प्रमुख नेताहरूसँग भेटघाटको कार्यक्रम सार्वजनिक भएन। अर्थात् भ्रमणको एउटा छेउमा नेपालका विपक्षी दलहरू परामर्शबाट बाहिर देखिए भने अर्को छेउमा भारतका विपक्षी दलहरू भेटघाटबाट बाहिर रहे।
यो घटनालाई दुई देशको राजनीतिक प्रणाली र नेतृत्वको कार्यशैलीसँग जोडेर हेर्दा एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ—के दक्षिण एसियाली लोकतन्त्रमा विदेश नीति र कूटनीति क्रमशः सरकार प्रमुख तथा सत्तारूढ दलको नियन्त्रणमा बढी केन्द्रित हुँदै गइरहेको छ ?
नेपालमा विपक्षीलाई परामर्शबाट बाहिर राखियो, भारतमा भेटघाटबाट
नेपाल, भारत मात्र होइन, अपवाद र निरंकुश सरकारहरु भएका देशहरुमा बाहेक कुनै पनि देशका सरकार प्रमुख विदेश भ्रमणमा जाँदा त्यो देशका विपक्षी दलका नेतालाई भेट्ने प्रचलन रहंदै आएको छ । नेपालको राजनीतिक अभ्यासमा प्रधानमन्त्रीले कुनै महत्त्वपूर्ण विदेश भ्रमण गर्नुअघि राष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने परम्परा रहँदै आएको छ। यसको उद्देश्य प्रधानमन्त्रीलाई कमजोर बनाउनु होइन, राष्ट्रिय स्वार्थका विषयमा साझा धारणा निर्माण गर्नु हो।
तर बालेन शाहको भारत भ्रमणअघि यो परम्परा पालना भएन। उनले त्यहाँका कुनै पनि विपक्षी नेताहरुलाई भेटेनन् ।
भारतमा विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको भ्रमणमा विपक्षी दलका नेतासँग भेटघाट गर्ने अभ्यास लामो समयदेखि चल्दै आएको थियो।
सन् २०१० मा अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत भ्रमणमा आउँदा तत्कालीन विपक्षी दलकी नेता सुष्मा स्वराजले उनीसँग भेटेकी थिइन् । त्यतिबेला सुष्मा स्वराज भारतीय जनता पार्टीकी नेतृ थिइन् र कांग्रेस नेतृत्वको सरकार सत्तामा थियो।
तर सन् २०१५ मा ओबामा फेरि भारत आउँदा परिस्थिति बदलिएको थियो। यसपटक भाजपा सत्तामा थियो र कांग्रेस विपक्षमा। ओबामाले सोनिया गान्धी, मनमोहन सिंह, राहुल गान्धी र आनन्द शर्मासँग भेट गरेका थिए।
त्यसको केही समयअघि डिसेम्बर २०१४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत आउँदा पनि कांग्रेस अध्यक्ष सोनिया गान्धीले उनीसँग भेट गरेकी थिइन्।
अर्थात् सरकार परिवर्तन भए पनि विपक्षी दलका नेतासँग विदेशी पाहुनाको भेटघाट गर्ने अभ्यास निरन्तर रहन सक्थ्यो। तर पछिल्लो समय यो अभ्यास कमजोर भएको विषयमा भारतभित्रै बहस छ।
सन् २०२५ डिसेम्बरमा पुटिन भारत भ्रमणमा आउँदा राहुल गान्धी र राज्यसभामा विपक्षी दलका नेता मल्लिकार्जुन खड्गेलाई औपचारिक रात्रिभोजमा निमन्त्रणा नगरिएको विषयले ठूलो चर्चा पायो।
राहुल गान्धीले विदेशी पाहुनासँग विपक्षी नेताको भेटघाट पुरानो परम्परा भएको र भारतको प्रतिनिधित्व सरकारमा रहेका दलले मात्र नगर्ने बताएका थिए।
पूर्वकेन्द्रीय मन्त्री आनन्द शर्माले यसलाई संसदीय लोकतन्त्रको सम्मानसँग जोड्दै विपक्षी नेताको संवैधानिक हैसियतको बेवास्ता भएको टिप्पणी गरेका थिए।
तर भाजपाका प्रवक्ता सम्बित पात्राले विदेशी पाहुनाले कसलाई भेट्ने भन्ने निर्णय स्वयं भ्रमणकारी प्रतिनिधिमण्डलले गर्ने भन्दै सरकारको बचाउ गरेका थिए।
यसरी भारतको आफ्नै आन्तरिक राजनीतिमा पनि विपक्षीलाई कूटनीतिक भेटघाटमा समावेश गर्ने कि नगर्ने भन्ने विषय विवादको विषय बनेको छ।
रोचक तथ्य : भारतले नेपालका विपक्षी नेतासँग भेट्ने परम्परा पनि राखेको थियो
भारतले नेपालका प्रधानमन्त्रीसँग मात्र होइन, नेपालका विपक्षी राजनीतिक दलका नेताहरूसँग पनि सम्बन्ध कायम राख्ने अभ्यास गरेको इतिहास छ।
सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग मात्र भेटेका थिएनन्, उनले तत्कालीन विपक्षी दलका नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड तथा अन्य राजनीतिक नेताहरूसँग पनि भेटघाट गरेका थिए।
त्यसैगरी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल भ्रमणका क्रममा विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गरेकी थिइन् ।
यसले भारतले नेपालसँगको सम्बन्धलाई एउटा सरकारसँग मात्र सीमित नगरी विभिन्न राजनीतिक शक्तिसँग सम्पर्क कायम राख्ने अभ्यास गरेको देखाउँछ।
तर अहिले बालेनको भारत भ्रमणमा भारतीय विपक्षी दलका नेताहरूसँग भेटघाटको कार्यक्रम सार्वजनिक नभएको अवस्थाले यो परम्परा कति निरन्तर छ भन्ने प्रश्न फेरि उठाएको छ।
संयोग कस्तो परेको छ भने मोदी र बालेन दुवै आ आफ्नो देशमा झण्डै २ तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेका छन् र विपक्षी राजनीतिक पार्टीहरुलाई निषेध गर्ने प्रयासमा देखिएका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री बालेनको भ्रमणमा नेपालमा राष्ट्पतिसहित विपक्षी नेताहरुलाई पूर्णरुपमा बेवास्ता गर्नु र भारतमा विपक्षी दलका नेताहरुसंग भेटघाट नगर्नु विपक्षीलाई निषेध गर्ने प्रयासकै निरन्तरता भएको कतिपय राजनीतिक विश्लेषकहरु बताउँछन् ।
विपक्षीलाई बाहिर राखेर राष्ट्रिय स्वार्थको प्रतिनिधित्व कति बलियो हुन्छ ?
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा देखिएको नेपाल र भारतको राजनीतिक संयोग सामान्य कूटनीतिक घटनाभन्दा फराकिलो छ।
नेपालमा प्रधानमन्त्रीले विपक्षी दलसँग पर्याप्त परामर्श नगरेको विषयमा आलोचना भयो। भारतमा विदेशी पाहुनासँग विपक्षी नेताको भेटघाट गर्ने पुरानो परम्परा कमजोर भएको विषयमा त्यहाँकै नेताहरूले प्रश्न उठाउँदै आएका छन्।
दुवै घटनाले एउटा साझा बहस जन्माएका छन्—लोकतन्त्रमा सरकारलाई जनताले शासन गर्ने अधिकार दिन्छन्, तर राष्ट्रिय स्वार्थका विषयमा विपक्षी दलको भूमिका पनि महत्त्वपूर्ण हुन्छ।
प्रधानमन्त्रीले विपक्षी दलको सबै सुझाव मान्नुपर्छ भन्ने होइन। विपक्षीले पनि हरेक सरकारी निर्णयमा सहमति जनाउनुपर्छ भन्ने होइन। तर राष्ट्रिय महत्त्वका विषयमा एकअर्काको धारणा सुन्ने, छलफल गर्ने र आवश्यकताअनुसार साझा आधार निर्माण गर्ने संस्कार लोकतन्त्रको शक्ति हो।