पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धको मूल आधारशिला हुन्। अतुलनीय यस सम्बन्धको केन्द्रमा हाम्रा दुई देशका जनताहरू रहेका छन्। नेपाल र भारत बीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ गहिरो छ। यो यस्तो आत्मीयता, यो यस्तो आत्मीय निकटता हो, जसलाई शब्दको सीमिततामा बाँध्न सकिँदैन।
एक विश्वसनीय छिमेकीका नाताले हरेक प्राकृतिक विपद्को घडीमा अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएकोमा म भारत सरकार र यहाँका जनताप्रति कृतज्ञता व्यक्त गर्दछु।
भर्खरै प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको छ। शताब्दीऔँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युगसापेक्ष बनाउने उद्देश्यसहित हामीले सम्बन्धका बहुआयामिक पक्ष गहन, सार्थक र दूरगामी छलफल गरेका छौँ। यस क्रममा नेपाल–भारत सहकार्यका विविध क्षेत्रमा महत्त्वपूर्ण साझेदारी तथा पूर्वाधारको उद्घाटन एवं शिलान्यास समेत सम्पन्न भएका छन्।

हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ, युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ, विद्यार्थीका सपना नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न सक्नुपर्छ।
मित्रहरू,
यो ऐतिहासिक समझदारीहरूले नेपाल–भारत सम्बन्धलाई नवीन उचाइमा पुर्याउने कुरामा म पूर्ण विश्वस्त छु। आजको आवश्यकता भनेको यही चिरस्थायी सम्बन्धको सुदृढ जगमा उभिएर भविष्यका लागि बलिया स्तम्भहरू निर्माण गर्नु हो।
स्वच्छ जलका स्रोत हाम्रा हिमालयहरूले यस क्षेत्रका करोडौँ जनतालाई जीवन दिइरहेका छन्। हिमालयबाट बगेर गङ्गामा मिसिने निर्मल नदीहरूले हाम्रो भविष्य र गन्तव्यको स्मरण गराउँदै जलवायु परिवर्तनका चुनौतीहरूलाई सहकार्यमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता उजागर गर्दछन्। नेपाल र भारत बीचको सम्बन्ध भगवान श्री राम र माता जानकीको पावन युगदेखि नै ऐतिहासिक, सांस्कृतिक र सभ्यताको आधारमा गाँसिएका छन्। आज हामीले यस सम्बन्धलाई थप जीवन्त बनाउने रेल सेवाको शुभारम्भ गरेका छौँ।
हाम्रा पुर्खाले स्थापित गरेको यस बलियो ऐतिहासिक जगलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समझदारीतर्फ नेपाल–भारत सम्बन्धलाई नयाँ युगको आवश्यकताअनुरूप विकास साझेदारीका रूपमा परिणत गर्ने एवं हाम्रा नव युवा पुस्ताका लागि सम्भावनाको ढोका खोल्ने असाधारण जिम्मेवारी आज समयले हामीमा सुम्पिएको छ।
मित्रहरू,
यही अवसरमा हाम्रो साझा आर्थिक समुन्नति साझेदारी निम्ति भारतीय लगानीकर्ताहरूलाई नेपालमा हार्दिक स्वागत गर्न चाहन्छु। आगामी दिनमा भारतीय विद्यार्थी नेपालमा स्थापना हुने आईआईटीमा अध्ययन गर्न आउने वातावरण बनाउनका साथै नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्ने दिशामा हामी अघि बढ्नुपर्छ।
हाम्रा दुई मुलुकको समृद्धि, हाम्रा दुई मुलुकको समृद्ध भविष्यको लागि मिलेर काम गर्न हामीले जोइन्ट भिजन डकुमेन्ट एवं हाम्रा साझा उपलब्धिहरू जोइन्ट प्रेस रिलिजमार्फत यहाँहरूसमक्ष प्रस्तुत गर्दैछौँ।
यस महत्त्वपूर्ण अवसरमा महामहिम श्री नरेन्द्र मोदीज्यूलाई सम्पूर्ण नेपाली जनताको तर्फबाट नेपाल भ्रमणको लागि हार्दिक निमन्त्रणा दिन चाहन्छु। साथै मित्रराष्ट्र भारतका आत्मीय जनतालाई हिमालको काखमा अवस्थित मुक्तिनाथ, भगवान श्री पशुपतिनाथ, तराईको समथर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल नेपालको भ्रमणका लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु।
नेपाल र भारत बीचको मित्रता यस्तो होस् जहाँ विश्वास हिमालझैँ अग्लो होस्, सहकार्य नदीझैँ अविरल बगोस्, र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फक्रियोस्।
हामी सबैको जय होस्, धन्यवाद। थ्याङ्क यु।"