बालेनको प्रशंसा गर्दै मोदीले भने- उहाँको दूरदर्शिता राष्ट्रसंघको सम्बोधनमै देखेको हुँ

Nov 23, 2026 05:09 PM Merolagani



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को दूरदर्शिता आफूले गत महिना संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने क्रममा नै देखेको बताएका छन् ।

हाल भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आज नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले सो धारणा राखेका हुन् ।

प्रधानमन्त्री शाहले गत सेप्टेबरमा न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई गरेको सम्बोधनको प्रसंग भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गरेका हुन् ।

विश्वका कान्छो उमेरका प्रधानमन्त्रीका रूपमा प्रधानमन्त्री शाहले गरेको सो सम्बोधनबाट आफूले उनको दुरदर्शिता देखेको भारतीय प्रधानमन्त्री मोदीको भनाइ थियो ।

साथै प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको धारणा राख्दै नेपाली जनताले विश्वास गरेर ऐतिहासिक जनादेश दिएका प्रधानमन्त्री शाहको कार्यकालमा पनि भारत नेपाल सम्बन्ध उस्तै प्रगाढ र ऐतिहासिक रहने विश्वास व्यक्त गरे ।

 

सम्बोधनका क्रममा उनले भारत-नेपाल सम्बन्ध केबल छिमेकीको सम्बन्धमा मात्र सीमित राख्न नमिल्ने भन्दै यो सम्बन्ध ऐतिहासिक, धार्मिक, सांस्कृति लगायतको रहेको पनि स्पष्ट पारे ।

उनले दुई देशबीचको सम्बन्ध भगवान् राम र सीताप्रतिको आस्थासँग जोडिएको प्रसंग उल्लेख गर्दै भने, “भारतको अयोध्याधाम या भगवान् राम नेपाल र नेपाली नागरिकबिना अधुरो नै रहन्छन् । त्यसैले पनि हाम्रो सम्बन्ध अतुलनीय र महत्त्वपूर्ण रही आएको छ ।” रासस




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।