स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

Nov 27, 2026 01:00 PM Merolagani



सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको नेपाली तथा चिनियाँ मुद्रासहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ५१ वर्षीय सिरेनौ ओजी (CIRENOU OJI) र ४३ वर्षीय वुजियान्दुओजी (WUJIANDUOJI) रहेका छन्। उनीहरूको साथबाट १६ लाख ६ हजार ८ सय नेपाली रुपैयाँ र ६६ हजार ९ सय ५० युआन बरामद भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कोदारीबाट खटिएको प्रहरी टोलीले कोदारीबाट काठमाडौं जाँदै गरेको बा.५३ च ५२९३ नम्बरको स्कारपियो गाडी जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो।

पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।