नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा मनीष नारायण जोशी सर्वसम्मत चयन

Nov 29, 2026 11:16 AM Merolagani



नेपाल मर्चेण्ट बैंकर्स संघ (एमबान) को १७औँ वार्षिक साधारण सभाले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका मनीष नारायण जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। गत शुक्रबार धुलिखेलस्थित आगन्तुक रिसोर्टमा सम्पन्न साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपेश कुमार वैद्य (एनएमबि क्यापिटल लिमिटेड), महासचिवमा शिवान्त बहादुर पाँडे (एनआईएमबि एस क्यापिटल लिमिटेड) र कोषाध्यक्षमा पुष्प शर्मा (कुमारी क्यापिटल लिमिटेड) चयन भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरूमा सन्दीप कार्की (सिद्धार्थ क्यापिटल लिमिटेड), मन्दिप लुइँटेल (ग्लोबल आइएमई क्यापिटल लिमिटेड) र अर्पण खनाल (नेशनल क्यापिटल लिमिटेड) सर्वसम्मत चयन भएका छन्।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ मा संघले गरेका गतिविधि तथा आर्थिक कार्यसम्पादनको समीक्षा गर्दै लेखापरीक्षण गरिएको वित्तीय विवरण पारित गरेको छ । साथै, सभाले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट र प्रस्तावित कार्यक्रमहरूसमेत अनुमोदन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिले नेपालको पूँजी बजारलाई थप सुदृढ बनाउने, सदस्य संस्थाहरूबीच सहकार्य र समन्वय अभिवृद्धि गर्ने, दिगो वित्तीय अभ्यासलाई प्रवर्द्धन गर्ने र नियामक निकायहरूसँग रचनात्मक सहकार्य गर्दै मर्चेण्ट बैंकिङ क्षेत्रको संस्थागत तथा व्यावसायिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।