नेप्सेको नयाँ बेन्चमार्कः लगानीकर्ताको विश्वास जित्ने अर्को आधार

Nov 16, 2026 04:59 AM Merolagani



दिपेश ढकाल

हरेक कारोबार दिन दिउँसो तीन बजे नेपालको शेयर बजारमा लाखौँ लगानीकर्ताको ध्यान एउटै तथ्यांकमा केन्द्रित हुन्छ– नेप्से परिसूचक आज कति अंकले बढ्यो वा घट्यो ? परिसूचक बढ्दा बजारमा उत्साह छाउँछ, घट्दा निराशा देखिन्छ ।

सञ्चारमाध्यम, लगानीकर्ता र सामाजिक सञ्जालमा पनि बजारको अवस्था बुझाउने प्रमुख आधार यही अंक बनेको छ । तर एउटा महत्वपूर्ण प्रश्न सधैँ ओझेलमा परेको छ । नेप्से परिसूचकले वास्तवमै सर्वसाधारणले किनबेच गर्न पाउने शेयरको मूल्य परिवर्तनलाई कति प्रतिनिधित्व गर्छ ?

बजारको वास्तविक अवस्था बुझ्न यही प्रश्नको उत्तर खोज्नु आवश्यक छ । किनकि कुनै कम्पनीको कुल शेयर संख्या ठूलो हुँदैमा ती सबै शेयर दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुन्छन् भन्ने हुँदैन । संस्थापक, सरकार, रणनीतिक लगानीकर्ता वा लकिङ अवधिमा रहेका शेयरलाई समेत कुल बजार पुँजीकरणमा समावेश गर्दा सूचकांकले बजारको एउटा तस्बिर त देखाउँछ, तर सर्वसाधारणले प्रत्यक्ष कारोबार गर्ने हिस्साको प्रभाव भने फरक हुन सक्छ । यही अन्तरलाई सम्बोधन गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले कारोबारयोग्य शेयरमा आधारित नयाँ बेन्चमार्क सूचकांकको प्रस्ताव अघि सारेको छ ।

यो प्रस्तावलाई केवल अर्को एउटा सूचकांक थप्ने प्रयासका रूपमा बुझ्नु हुँदैन । नेपालको पुँजी बजारलाई आधुनिक, पारदर्शी, लगानीयोग्य र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने दिशामा यसले नयाँ बहस सुरु गरेको छ ।

पुरानो सूचकांक र नयाँ बेन्चमार्कबीचको अन्तर

हालको नेप्से परिसूचक कुल बजार पूँजीकरणमा आधारित छ । कम्पनीको कुल सूचीकृत शेयर संख्या र बजार मूल्यका आधारमा त्यसको सूचकांकमा पर्ने प्रभाव निर्धारण हुन्छ । तर प्रस्तावित नयाँ बेन्चमार्कले सर्वसाधारणले वास्तवमै खरिदबिक्री गर्न सक्ने शेयर अर्थात् फ्री फ्लोटलाई प्राथमिकता दिनेछ ।

एउटा उदाहरणबाट यसलाई बुझ्न सकिन्छ । मानौँ, कुनै बैंकको कुल शेयर संख्या १० करोड छ र प्रतिकित्ता बजार मूल्य पाँच सय रुपैयाँ छ । यसअनुसार बैंकको कुल बजार पूँजीकरण ५० अर्ब रुपैयाँ हुन्छ । तर कुल शेयरमध्ये सात करोड कित्ता संस्थापक, सरकारी वा कारोबार प्रतिबन्धित स्वामित्वमा छन् भने सर्वसाधारणले कारोबार गर्न सक्ने शेयर तीन करोड कित्ता मात्रै हुन्छन् । यसरी कारोबारयोग्य हिस्साको बजार मूल्य १५ अर्ब रुपैयाँ हुन्छ।

पुरानो गणना विधिमा कम्पनीको ५० अर्ब रुपैयाँको कुल पूँजीकरणले प्रभाव पार्छ भने फ्री फ्लोटमा आधारित गणनाले १५ अर्ब रुपैयाँको कारोबारयोग्य हिस्सालाई आधार बनाउँछ । यसको अर्थ कम्पनीको वास्तविक मूल्य घटेको होइन । सूचकांकमा त्यस कम्पनीको प्रभाव मापन गर्ने आधार मात्र फरक भएको हो ।

यही कारणले भविष्यमा पुरानो नेप्से परिसूचक घट्दा नयाँ बेन्चमार्क बढ्न पनि सक्छ । यसको विपरीत पुरानो परिसूचक बढ्दा नयाँ सूचकांक घट्न सक्छ । यस्तो अवस्था बजारको गणनामा त्रुटि भएको संकेत होइन । दुई सूचकांकले बजारका फरक पक्षलाई प्रतिनिधित्व गरिरहेका हुन्छन् ।

नेपालका लागि नयाँ अवधारणा होइन, परिष्कृत गर्ने अवसर

नेपाल स्टक एक्सचेन्जले सन् २००८ देखि नै फ्लोट इन्डेक्स गणना गर्दै आएको छ । त्यसैले कारोबारयोग्य शेयरका आधारमा सूचकांक बनाउने अवधारणा नेपालका लागि पूर्णतः नयाँ होइन । अहिलेको प्रस्तावको महत्व विद्यमान अभ्यासलाई अझ व्यवस्थित, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरको बेन्चमार्कका रूपमा विकास गर्ने प्रयासमा छ ।

सरकारले २०८३ भदौ २९ मा सार्वजनिक गरेको २१ बुँदे पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले हालको नेप्से परिसूचकलाई अल इक्विटी इन्डेक्सका रूपमा कायम राख्दै नयाँ बेन्चमार्क विकास गर्ने लक्ष्य राखेको छ । प्रस्तावित नयाँ सूचकांकको नाम नेप्से बेन्चमार्क इन्डेक्स अर्थात् एनबीआई हुन सक्ने विषय पनि सार्वजनिक भएको छ ।

धितोपत्र बोर्डको कार्यपत्रले कारोबारयोग्य शेयरसँगै बजार पूँजीकरण, कम्पनीको वित्तीय अवस्था, कारोबारको तरलता, संस्थागत सुशासन र सूचना प्रवाहको गुणस्तरलाई समेत महत्व दिने अवधारणा अघि सारेको छ । यसले बजारको मापनलाई केवल शेयरको मूल्यमा सीमित नराखी लगानीयोग्यताको दृष्टिकोणबाट हेर्ने प्रयास गरेको छ ।

अन्तर्राष्ट्रिय बजारले दिएको पाठ

कारोबारयोग्य शेयरमा आधारित सूचकांक अन्तर्राष्ट्रिय बजारमा स्थापित अभ्यास हो । अमेरिकाको एस एन्ड पी ५००, भारतको निफ्टी ५०, जापानको टोपिक्स, बेलायतका एफटीएसई सूचकांक तथा हङकङको हाङसेङले विभिन्न स्वरूपमा फ्री फ्लोट समायोजित बजार पुँजीकरणलाई प्रयोग गर्दै आएका छन् ।

अमेरिकाको एस एन्ड पी ५०० मा संस्थापक, सरकार तथा सार्वजनिक कारोबारका लागि उपलब्ध नभएका रणनीतिक स्वामित्वका शेयरलाई हटाएर कारोबारयोग्य हिस्साका आधारमा कम्पनीको भार निर्धारण गरिन्छ । यसले ठूलो कम्पनीको आकारसँगै लगानीकर्ताले वास्तवमा किन्न सक्ने शेयरको प्रभावलाई पनि प्रतिनिधित्व गर्छ ।

भारत नेपालको बजार संरचनासँग तुलना गर्न अझ सान्दर्भिक उदाहरण हो । निफ्टी ५० ले सन् २००९ जुन २६ देखि फ्री फ्लोट बजार पूँजीकरण विधि अपनाएको हो । यसमा प्रवद्र्धकको स्वामित्वमा रहेका र नियमित कारोबारका लागि उपलब्ध नभएका शेयरलाई छुट्याइन्छ । साथै कारोबारको नियमितता र तरलतालाई पनि महत्त्व दिइन्छ । भारतको यो अभ्यासले कारोबारयोग्य सूचकांकलाई आधार बनाएर इन्डेक्स फन्ड तथा अन्य वित्तीय उपकरण विकास गर्न सहयोग पुर्याएको छ ।

जापानको टोपिक्स सन् १९६९ देखि सञ्चालनमा छ र फ्री फ्लोट समायोजित बजार पूँजीकरणमा आधारित छ । यसको विशेषता समयअनुसार सूचकांकको संरचना सुधार्नु, तरलताको मापदण्ड बलियो बनाउनु र परिवर्तनलाई चरणबद्ध रूपमा लागू गर्नु हो । जापानको पछिल्लो सुधार प्रक्रियाले पनि सूचकांकको निरन्तरता जोगाउँदै लगानीयोग्यतालाई प्राथमिकता दिएको छ ।

बेलायतको एफटीएसई प्रणालीमा पनि कारोबारयोग्य हिस्सासँगै विदेशी लगानीकर्ताको पहुँच र लगानीयोग्यताको अवस्थालाई ध्यान दिइन्छ । हङकङको हाङसेङले भने कम्पनीको भारमा सीमा राख्ने अभ्यास गरेको छ । यसको उद्देश्य कुनै एउटा ठूलो कम्पनीको मूल्य परिवर्तनले समग्र सूचकांकलाई अस्वाभाविक रूपमा प्रभावित नगरोस् भन्ने हो ।

यी उदाहरणले नेपाललाई एउटा स्पष्ट सन्देश दिन्छन् । फ्री फ्लोटको गणना मात्रै पर्याप्त हुँदैन । तरलता, कम्पनीको भार, नियमित पुनरावलोकन र पारदर्शी छनोट प्रक्रिया पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।

सर्वसाधारण लगानीकर्तालाई के फाइदा ?

नयाँ बेन्चमार्कको सबैभन्दा ठूलो व्यावहारिक लाभ बजारको वास्तविक अवस्था बुझ्न थप एउटा विश्वसनीय आधार प्राप्त हुनु हो । अहिले नेप्से बढेको देखिँदैमा सबै कम्पनीका शेयर मूल्य बढेका हुन्छन् भन्ने छैन । कहिलेकाहीँ केही ठूला कम्पनीको मूल्य वृद्धिले मात्र समग्र परिसूचकलाई माथि लैजान सक्छ ।

नयाँ सूचकांकले कारोबारयोग्य शेयरको प्रभावलाई प्राथमिकता दिएपछि बजारको वृद्धि व्यापक छ कि सीमित कम्पनीमा केन्द्रित छ भन्ने विश्लेषण गर्न सहज हुन सक्छ । उदाहरणका लागि, पुरानो नेप्से बढेको तर नयाँ बेन्चमार्क घटेको अवस्थामा बजारको सकारात्मक गति केही सीमित वा कम कारोबारयोग्य कम्पनीमा केन्द्रित हुन सक्ने संकेत मिल्छ । दुवै सूचकांक बढेमा भने कारोबारयोग्य हिस्सामा पनि सकारात्मक गतिविधि फैलिएको हुन सक्ने देखिन्छ ।

नेपाल टेलिकमलाई नै उदाहरणका रूपमा लिन सकिन्छ । कम्पनीको कुल शेयरमध्ये ९१.५३ प्रतिशत सरकारको र ८.४७ प्रतिशत सर्वसाधारणको स्वामित्वमा रहेको तथ्यांकलाई आधार मान्दा, कुल पूँजीकरणमा आधारित सूचकांक र कारोबारयोग्य हिस्सामा आधारित सूचकांकमा कम्पनीको प्रभाव फरक पर्न सक्छ । यसले सर्वसाधारणलाई सूचकांकको अंक र बजारमा वास्तवमै उपलब्ध शेयरको प्रभावबीचको अन्तर बुझ्न मद्दत गर्छ ।

तर एउटा कुरा स्पष्ट हुनुपर्छ । नयाँ बेन्चमार्कले कुन शेयर किन्नुपर्छ भन्ने निर्णय गर्दैन । यसले शेयरको मूल्य स्वतः बढाउँदैन र नाफाको ग्यारेन्टी पनि गर्दैन । यो बजारको अवस्था बुझ्ने थप मापन औजार मात्र हो । लगानीकर्ताले कम्पनीको प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात, नेटवर्थ, ऋणको अवस्था, लाभांश क्षमता, व्यवस्थापन र भविष्यको व्यावसायिक सम्भावनालाई प्राथमिकता दिनैपर्छ ।

नयाँ वित्तीय उपकरण विकासको आधार

नयाँ बेन्चमार्कको अर्को महत्त्वपूर्ण पक्ष भविष्यमा विविध वित्तीय उपकरण विकास गर्ने सम्भावना हो । नेपालको शेयर बजारमा अहिले व्यक्तिगत कम्पनीका शेयर किनबेच नै सर्वसाधारणको प्रमुख लगानी माध्यम बनेको छ । जोखिम विविधीकरण गर्न चाहने लगानीकर्ताका लागि विकल्प अझै सीमित छन् ।
यस सन्दर्भमा एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) उपयोगी हुन सक्छ । यसले एउटा निश्चित सूचकांकमा रहेका विभिन्न कम्पनीमा सामूहिक रूपमा लगानी गर्ने अवसर दिन्छ । लगानीकर्ताले प्रत्येक कम्पनीको शेयर छुट्टाछुट्टै खरिद गर्नुपर्ने अवस्था नहुन सक्छ । त्यस्तै, रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (रिट्स) मार्फत होटल, व्यावसायिक भवन तथा आम्दानी दिने सम्पत्तिमा सानो रकमबाट अप्रत्यक्ष लगानी गर्ने सम्भावना खुल्न सक्छ ।

सूचकांकमा आधारित डेरिभेटिभ्सले बजारको उतारचढावसँग सम्बन्धित जोखिम व्यवस्थापन गर्न सहयोग गर्न सक्छन् । तर यस्ता उपकरणमा उच्च जोखिम हुने भएकाले पर्याप्त लगानीकर्ता शिक्षा, मार्जिन व्यवस्थापन र नियामकीय निगरानी अनिवार्य हुन्छ ।

धितोपत्र बोर्डले बन्ड, ईटीएफ, रिट्स, इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ट्रस्ट तथा डेरिभेटिभ्सलगायत नयाँ वित्तीय उपकरणको कानुनी, प्राविधिक र संस्थागत संरचना अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ । यो सकारात्मक संस्थागत तयारी हो । तर समिति गठन हुनु र उपकरण सञ्चालनमा आउनु फरक विषय हुन् । वास्तविक उपलब्धि कार्यान्वयनपछि मात्र देखिनेछ ।

संस्थागत लगानीकर्ताको भूमिका

बजारलाई दीर्घकालीन र स्थिर बनाउन संस्थागत लगानीकर्ताको सहभागिता पनि आवश्यक छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी र म्युचुअल फन्डजस्ता संस्थाले बजारमा व्यावसायिक विश्लेषण र दीर्घकालीन पूँजी परिचालन गर्न सक्छन् ।

व्यक्तिगत लगानीकर्ता दैनिक उतारचढाव र बजारको मनोविज्ञानबाट प्रभावित हुन सक्छन् । तर संस्थागत लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था, नगद प्रवाह, जोखिम र दीर्घकालीन प्रतिफललाई आधार बनाएर निर्णय गर्ने अपेक्षा गरिन्छ । तथापि संस्थागत सहभागिता बढाउने नाममा जोखिम सीमा र जवाफदेहिता कमजोर पार्नु हुँदैन ।

कार्यान्वयनमा देखिने चुनौती

नयाँ बेन्चमार्कको सफलताका लागि सबैभन्दा पहिले संस्थापक, प्रवद्र्धक, सरकारी, रणनीतिक तथा लकिङ अवधिमा रहेका शेयरको स्पष्ट वर्गीकरण आवश्यक छ । सर्वसाधारणको स्वामित्वमा रहेको सबै शेयर नियमित कारोबार हुन्छ भन्ने पनि छैन । त्यसैले कारोबारको आवृत्ति, रकम र मूल्यमा पर्ने प्रभावलाई समेत तरलताको मापदण्डमा समेट्नुपर्छ ।

कुन कम्पनी सूचकांकमा समावेश हुने, कुन बाहिरिने, एउटै कम्पनीको अधिकतम भार कति हुने र कति अवधिमा पुनरावलोकन गरिने भन्ने कुरा सार्वजनिक हुनुपर्छ । तथ्यांक अद्यावधिक गर्ने प्रणाली पनि भरपर्दो हुनुपर्छ । राजनीतिक, व्यावसायिक वा अन्य प्रभावबाट मुक्त निष्पक्ष छनोट संयन्त्र नभएसम्म नयाँ सूचकांकले अपेक्षित विश्वास आर्जन गर्न सक्दैन ।

सरकारको कार्ययोजनाले २०८३ मंसिर मसान्तसम्म नयाँ बेन्चमार्क ल्याउने लक्ष्य राखेको छ । अर्कोतर्फ, धितोपत्र बोर्डको कार्यपत्रमा प्रस्तावित सुधारका लागि चरणबद्ध तयारी र परीक्षणको आवश्यकता औँल्याइएको छ । त्यसैले समयसीमा पूरा गर्ने दबाबमा अपूर्ण प्रणाली लागू गर्नु उचित हुँदैन । पुरानो र नयाँ सूचकांकलाई केही समय सँगसँगै गणना गरी ऐतिहासिक तथ्यांक, भार परिवर्तन र बजारमा पर्ने प्रभाव परीक्षण गर्नु बढी व्यावहारिक हुनेछ ।

सुधारको मापन अंकले होइन, विश्वासले गर्नुपर्छ

नेपालको पूँजी बजारले लामो समयदेखि नीतिगत अनिश्चितता, कमजोर तरलता, सीमित वित्तीय उपकरण र लगानीकर्ताको विश्वाससम्बन्धी चुनौती सामना गर्दै आएको छ । नयाँ बेन्चमार्क यस समस्याको सम्पूर्ण समाधान होइन, तर सुधारको महत्त्वपूर्ण आधार बन्न सक्छ । यसलाई नेप्सेको पुनर्संरचना, संस्थागत लगानीकर्ताको विस्तार, बन्ड बजारको विकास, मार्जिन कारोबार, धितोपत्र सापटी तथा बिक्री र गैरआवासीय नेपालीको सहभागितासँग जोडेर अघि बढाउन आवश्यक छ ।

अब लगानीकर्ताले पनि बजारलाई केवल नेप्सेको दैनिक अंकबाट मूल्यांकन गर्ने पुरानो बानी परिवर्तन गर्नुपर्छ । समग्र बजारको अवस्था बुझ्न नेप्से अल इक्विटी र नयाँ बेन्चमार्क दुवै हेर्नुपर्छ । त्यससँगै कारोबार रकम, बढेका र घटेका कम्पनीको संख्या, बजारको तरलता र कम्पनीको वित्तीय अवस्था पनि विश्लेषण गर्नुपर्छ । नयाँ सूचकांकमा समावेश भयो भन्दैमा कम्पनी उत्कृष्ट हुने र समावेश भएन भन्दैमा कमजोर हुने निष्कर्ष निकाल्नु हुँदैन ।

अन्ततः पुँजी बजारको वास्तविक विकास परिसूचकले कति अंक छोयो भन्ने कुराले होइन, बजारमा कति पारदर्शिता आयो, लगानीकर्ताले कति सही सूचना पाए, पूँजी परिचालन कति प्रभावकारी भयो र दीर्घकालीन लगानीप्रति कति विश्वास बढ्यो भन्ने कुराले मापन हुन्छ । नयाँ बेन्चमार्कको उद्देश्य नेप्सेको अंक बढाउनु होइन, बजारको वास्तविकता अझ निष्पक्ष रूपमा देखाउनु हो । यदि यसको गणना वैज्ञानिक, छनोट पारदर्शी र कार्यान्वयन विश्वसनीय हुन सक्यो भने यसले नेपालको पूँजी बजारलाई केवल कारोबारको थलोबाट संस्थागत, विविधीकृत र लगानीयोग्य बजारमा रूपान्तरण गर्ने यात्रामा महत्वपूर्ण योगदान दिन सक्छ ।