केबलकार निर्माण, जडान र सञ्चालनमा विश्वमा प्रसिद्धि कमाएका फान्सेली कम्पनीद्वय एडिपी र स्याष्ट्राले नेपालका पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनसँगको सहकार्यमा पाँच वर्ष लगाएर गरेको अध्ययनमा केबलकार परियोजना काठमाडौँ उपत्यकामा सञ्चालन गर्न सकिने सुष्पष्ट भएको हो ।
फ्रान्स सरकारले द्विपक्षीय सहयोगअन्तर्गत रु तीन करोड ४० लाख खर्च गरेर तयार पारेको काठमाडौँ उपत्यका केबलकार परियोजना सम्भव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारलाई हन्तान्तरण गरेको छ ।
नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले अध्ययन टोलीका सदस्य, नेपाली निर्माण प्रतिष्ठानका प्रतिनिधि तथा फ्रान्सेली प्रतिनिधिमण्डलको उपस्थितिमा आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई उक्त प्रतिवेदन हस्तान्तरण गरे ।
संभाव्यता अध्ययन प्रतिवेदनका मुख्य विषयवस्तुबारे सम्बन्धित इन्जिनिर र दुईपक्षीय सहायताबारे राजदूत कार्मोनाको मन्तव्य सुनेपछि मन्त्री महासेठले केही सातापछि नेपाल सरकारको निर्णय सुनाउने जानकारी दिए ।
“प्रतिवेदनबारे हामी गहन अध्ययन र छलफल गर्छौं, सम्माननीय प्रधानमन्त्री र लगानी बोर्डमा पनि यसबारे विचारविमर्श गरिनेछ,” आगामी एक महिनाभित्र केबलकार निर्माण परियोजना टुंगो लगाइसक्ने दृढता व्यक्त गर्दै उनले भने ।
काठमाडौँ उपत्यकाको बढ्दो सवारी चाप नियन्त्रण, वायु तथा ध्वनि प्रदूषणमा कमी, पैदलयात्रीका जोखिम र कठिनाइको समाधान र महानगरको सौन्दर्य विटुलिन नदिन केबलकार परियोजना कार्यान्वयन अपरिहार्य भएको पन्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले बताए ।
केबलकार स्टेशनका निम्ति जग्गा प्राप्तिजस्ता जटिल विषय सरकारले जुटाउनुपर्ने भएकाले महानगरपालिकाजस्ता निकायको पनि परियोजनामा उत्तिकै महत्वपूर्ण भूमिका हुने उनी बताउछन ।
कालीका समूहका प्रमुख कार्यकारी निर्देशक वत्सल पाण्डे सार्वजनिक निजी साझेदारीअन्तर्गत उक्त परियोजना कार्यान्वयन गर्न उपयुक्त हुने भएकाले आफ्नो समूहलाई फ्रान्सले अध्ययनमा समावेश गरेको बताए ।
ब्लूलाइन केबलकार सेवा विष्णुमतिबाट प्रारम्भ भई हनुमानढोका दरबार क्षेत्र–रत्नपार्क–डिल्लीबजार–भण्डारखाल–चाबहिलहुँदै बौद्धनाथमा टुंगिनेछ । जुनसुकै स्टेशनबाट यात्रा प्रारम्भ गरी जहाँ उत्रिए पनि हरेक नेपाली यात्रीले रु ४० भाडा तिर्नुपर्नेछ भने पर्यटकलाई त्यसैकिसिमको सेवाका निम्ति रु १५० शुल्क लाग्नेछ ।
त्यसैगरी गङ्गबु – बालाजु– सोह्रखुट्टे–कालिमाटी बल्खु– त्रिभुवन विश्वविद्यालय ‘रुट’ कायम हुनेछ भने कलंकी–टेकु–थापाथली–रत्नपार्क अर्को केबलकार मार्ग हुनेछ । लगनखेल–पुल्चोक–थापाथली–रत्नपार्कलाई पनि उक्त परियोजनाले समेटेको छ ।
विश्व बैंक, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक, युरोपेली लगानी बैंकजस्ता बहुपक्षीय संस्थाले काठमाडौँ उपत्यका केबलकार परियोजनामा लगानी गर्न अभिरुचि देखाएका छन् ।