अहिले मद्रासले तयार गरेको सफ्ट्वेयरले सहज रुपमा डाटा प्रमाणीकरण नगर्दा कार्ड छपाईमा समस्या देखिएको छ । जसका कारण लाखौं सवारी चालकहरु स्मार्ट लाइसेन्स समयमा नपाउँदा समस्यामा परेका छन् ।
यस अघि लाइसेन्स प्रिण्टिगंमा मात्र समस्या देखिएको आम बुझाई थियो । यहि अवस्थामा नीजि क्षेत्रबाट मालिका इन्कर्पोरेशनले स्मार्ट लाइसेन्स छाप्ने काममा चासो दियो । विभागले पनि पहिलो चतणमा आफुसँग रहेको ५ लाख कार्ड डेढ महिनामा छापिसक्नु पर्नेभन्दै मालिकालाई स्वागत गर्यो ।
मालिकाले पनि आफुसँग भएका आधुनिक प्रविधिको मद्धतमा डेढ महिनाभन्दा छिटो विभागको स्टकको लाइसेन्स छाप्ने योजना लिएर काम सुरु गर्यो ।
अहिले मालिकालाई विभागको लाइसेन्स छपाईको काम टाउको दुखाईको विषय बनेको छ । २० वटा प्रिण्टिगं मेसिन तथा सोही अनुसारका प्राविधिकहरु विभागको कार्यालयमा राखेर कार्ड छाप्न थालेको मालिकाले २ महिनाको अवधिमा डेढ लाख हाराहारी मात्र कार्ड छाप्न सकेको छ ।
‘डेढ महिनामा सबै कार्ड छाप्ने भनेर सुरु गरियो । तर डाटा उपलब्ध नभएका कारण हामीले योजना अनुसार नतिजा पस्किन सकेनौं । अहिले भने अवस्थामा केही सुधार आएको छ । आशावादी छौं ।’ मालिका इन्कर्पोरेटका प्रबन्ध निर्देशक सुरेन्द्र ढकालले मेरोलगानीसँग भने ।
यद्यपी डाटामा इरर आउने समस्या कायमै रहेका कारण चुस्त रुपमा लाइसेन्स छपाई हुन नसकेको उनको भनाई छ ।
उता यातायात व्यवस्था विभागले पनि प्राविधिक विषय भएकाले मालिकाले मागे अनुसारको डाटा दिन नसक्दा कार्ड छपाईमा ढिलासुस्ती आएको स्वीकार गरेको छ । विभागका प्रवक्ता गोकर्ण उपाध्यायले अहिले मालिकाले दैनिक १४ हजारको हाराहारीमा स्मार्ट लाइसेन्स छपाई गरिरहेको बताए । विभागले यस अघि सम्झौता गरेको मद्रास सेक्युरिटिजले पनि दैनिक ३ हजार हाराहारी गरेर दैनिक १७ हजार हाराहारीमा लाइसेन्स छपाई भैरहेको उपाध्यायले बताए ।
अहिले समस्याहरु न्युनिकरण हुँदै गएको बताएका प्रवक्ता उपाध्यायले केही समय पछि प्रदेश कार्यालयबाट पनि लाइसेन्स छापाई तथा बितरण सुरु भए पछि अहिलेको समस्या हट्ने दाबी गरे । प्राविधिक विषय भएका कारण समस्याहरु आउने बताएका उनले त्यसको समाधान गरिँदै लैजाने बताए ।
भिडियोमा प्रवक्ताको भनाई हेर्नुहोस् ।
सुन्दा अनौठो लाग्ने अर्को विषय भनेको यातायात व्यवस्था विभागको सबै तथ्यांक मद्रास सेक्युरिटिजको नियन्त्रणमा छ । कुनै पनि किसिमको साधारण समस्या आएको खण्डमा विभागको कार्यालयमा रहेका मद्रासका प्राविधिक आफ्नो मोबाइलको ह्वाट्स एपबाट मद्रासमा रहेको आफ्नो मुख्य कार्यालयमा डाटाको समस्या समाधानका लागि च्याटमार्फत आग्रह गर्छन् ।
यसरी नेपाल प्रतिनिधिले जानकारी गराएको समस्यालााई मद्रासस्थित सेक्युरिटीको कार्यालयबाट समाधानको पहल गर्ने गरेको देखियो । यसरी आम नेपालीको सबै विबरण भारतको एउटा कम्पनीको नियन्त्रणमा हुनु सकरात्मक विषय हुन सक्दैन ।
विभागलाई समस्याका बारेमा जानकारी मात्र हुन्छ । सरकारी निकायले सबै तथ्यांकको नियन्त्रण एउटा भारतीय कम्पनीलाई दिएका कारण अहिले विभाग आफैंले चाहेर पनि सहज रुपमा डाटा मात्र नभई अन्य कुनै पनि किसिमका काममा आफैं सक्रिय हुन सक्ने अवस्थामा छैन ।
विभाग जस्तो सरकारी संयन्त्रमा रहने नेपाली नागरिकको व्यक्तिगत तथ्यांकमा भारतीय कम्पनीको नियन्त्रणले भोलिका दिनमा कुनै पनि किसिमको जोखिम नआउला भन्न सक्ने अवस्था पनि छैन । अहिले विभागले २ वर्षभन्दा लामो समयसम्म स्मार्ट लाइसेन्स छपाई कार्यलाई प्रभावकारी बनाउन नसक्नुको मुख्य कारण पनि यही नै हो ।
यदि मद्रासले विभागको डाटामा हालीमुहाली नगरेको हुन्थ्यो भने आफैंले जडान गरेको प्रिण्टिगं प्रणालीबाट माग अनुसारको लाइसेन्स आफैंले छपाई गर्न सक्थ्यो । तर अहिले विभागले लाइसेन्स छपाईका लागि नीजि कम्पनीलाई भित्र्याउँदा पनि डाटा इररको समस्या ज्यूँका त्यूँ हुनु अनि विभागले सुधार हुन्छ मात्र भनिरहनु तर सुधारमा माखो नमार्नुको मुख्य कारण पनि यही नै हो ।
मालिका इन्कर्पोरेटले अहिले एउटा प्रिण्टरबाट ४० सेकेण्डमा एउटा लाइसेन्स छाप्न सक्छ । उता मद्रासले पनि झण्डै सोही अवधिमा लाइसेन्स छपाई गर्न सक्छ । मद्रासले अहिले ४ वटा मेशिनबाट लाइसेन्स छापिरहेको छ भने मालिकाले २० वटाबाट ।
अब प्रश्न उठ्छ, यति धेरै कार्ड छाप्ने संयन्त्र हुँदा हुँदै कार्ड किन छाप्न सकिएन ? यसको मुख्य कारण नै मद्रास सेक्युरिटिजले तयार गरेको सफ्ट्वेयरले सवारी चालकको डाटा प्रिण्टरले मागेको अनुपातमा उपलब्ध गराउन नसक्नु हो । जुन कुरालाई विभागका प्रवक्ताले स्वीकार गरिसकेका छन् ।
कसरी छापिन्छ स्मार्ट लाइसेन्स ? भिडियोमा हेर्नुहोस् ।
मद्रास सेक्युरिटिजले यातायात विभागलाई यहि डिसेम्र महिना भित्रमा स्मार्ट लाइसेन्स छपाईको सम्पूर्ण प्रणाली पूर्ण रुपमा बुझाई सक्नु पर्ने हुन्छ । त्यस पछि मद्रास यो कामबाट बाहिरिनेछ भने अहिले नै अचकल्टो अवस्थामा रहेको प्रणालीले अरु कति समस्या निम्त्याउने हो त्यसको आँकलन अहिले नै गर्न सक्ने अवस्था छैन ।
मद्रास आफैंले पूर्ण रुपमा प्रणाली नियन्त्रण गर्दा पनि नतिजा शुन्य प्रायः अवस्थामा रहँदा विभागले त्यो प्रणालीलाई २०१९ को सुरुवातबाट कसरी प्रभावकारी रुपमा सञ्चालन गर्छ र सेवाग्राहीले छिनभरमा लाइसेन्स हातमा पाउँछन् भन्ने चासोलाई महत्वका साथ हेरिएको छ ।