बंगलादेश बैंकको जग्गा खरिद प्रकरणमा करोडौंको घोटाला, सुमार्गीको नाम पनि जोडियो

Jan 17, 2019 Merolagani

- तीर्थराज पौड्याल।
अजेयराज सुमार्गीको मुक्तीश्री प्रालिको नाममा रहेको जग्गा नेपाल बंगलादेश बैंकले मिलेमतोमा महंगो मूल्य हालेर किन्ने प्रकृया अन्तिम चरणमा पुर्याएको छ । १२१ आना जग्गा खरिद प्रकरणमा करोडौं रुपैंयाको कमिशनको खेलले बैंकलाई समस्यामा पार्ने देखिएको छ ।

वर्षौंदेखि जग्गा खरिद प्रकृयामा रहेको बंगलादेश बैंक घोटालाको विषय मिल्न नसकेका कारण नै अहिलेसम्म जग्गा खरिदको निर्णय हुन सकिरहेको थिएन । बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्रप्रसाद ढुंगाना आफै अबैध ढंंगले जग्गा खरिद समितिमा बसेर जग्गा गरिदको अन्तिम निर्णय गराउन लागेकाे श्राेत बताउँछ ।

समितिमा बस्न नमिल्ने व्यवस्था विपरित ढुगांना आफैं समितिमा बसेर जग्गा खरिद प्रकृयाको निर्णयमा हस्तक्षेप गरेका हुन् । बैंक तथा वित्तीय संस्थाहरुमा सञ्चालकहरुले व्यवस्थापन हाँक्ने गरेकोमा बंगलादेश बैंकमा भने ठीक उल्टो अवस्था छ । बैंकका प्रमुख कार्यकारी अधिकृतले नै बैंक सञ्चालक समितिलाई आफु अनुकुल रुपमा निर्णय गराउन लगाउँदै आएका छन्

यसै क्रममा जग्गा खरिद उपसमितिमा आफैं बसेर ढुंगानाले सुमार्गीको जग्गा महंगोमा किन्ने निर्णय गराएका छन् । आफुले ठुलो रकम कमिशनका रुपमा लिने योजना अनुसार जसरी पनि सोही जग्गा गरिद गर्ने पक्षमा ढुंगाना रहेकाे बैंककै असन्तसष्ट पक्षकाे  अाराेप छ ।

बंगलादेश बैंकको हालै बसेको संचालक समितिको बैठकले बिशालनगरस्थित सुमार्गीको मुक्तीश्री प्रालिको ७ रोपनी ९ आना जग्गा ८४ लाख रुपैंया प्रतिआनाको दरमा किन्ने निर्णय गरेको थियो ।

बैंक संचालक समितिमा जग्गा खरिद प्रकृया अपारदर्शी भएकाले अनियमितता भएको भन्दै फरक मत दर्ता गरेका सञ्चालक दीपक कार्की माथि सोही दिन बेलुका हातपात समेत भएको थियो ।

प्रमुख कार्यकारी ढुंगानाले बाहिरी मानिसहरु परिचालन गरी सञ्चालक समितिको बैठकबाट सबै सञ्चालक सहितको भोजमा कुटपीट गरेको सञ्चालक कार्कीको आरोप छ । संचालक समितिको बैठकमा फरक मत राखेकोमा बैठकपछि आयोजित रात्रि भोजमा बाहिरी मान्छे परिचालन गरी आफुमाथि कुटपीट भएको आरोप कार्कीले लगाएका छन् ।

कार्कीले भने, 'कुटपीटको मुख्य कारण जग्गा खरिद काण्ड नै हो । जसमा भएको घोटालालाई मैले मात्र औंला उठाउँदै आएको छु ।'

...[साधारण सभाको अघिल्लो दिन किन कुटिए बंगलादेश बैंकका सञ्चालक ?]...

नेपाल बंगलादेश बैंक स्रोतका अनुसार बैंकको केन्द्रीय कार्यालय बनाउने नाममा सुमार्गीको १२१ आना जग्गामा प्रतिआना २० लाख रुपैंयाभन्दा बढीको दरले करोडौं रुपैंया घोटालाको जालो बुनिएको हो । बैंक सञ्चालक समितिका साथै जग्गा खरिद समितिको पटक पटकको बैठकका निर्णयमा गरिएका परिवर्तनहरुले पनि यसलाई पुष्टि गर्ने आधार दिएको छ । बैंक सञ्चालक समितिका बैठकहरुमा पनि यस विषयमा फरक फरक निर्णयहरु भएको देखिन्छ ।

अन्तिम पटकको जग्गा खरिद समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ढुंगानाले घोटालाको विषय एक पछि अर्को गर्दै बाहिरिए पछि आफुलाई समितिको आमन्त्रित सदस्यबाट हटाएर जग्गा खरिदको निर्णयमा तिब्र दवाब दिएको खुलेको छ । निरन्तर समितिमा आमन्त्रित सदस्यका रुपमा बसेका ढुगांना अन्तिम निर्णयमा एकाएक निक समितिबाट बाहिरिए भन्ने पनि प्रश्नले पनि घोटालाको विषयलाई मलजल गरेको छ ।

बंगलादेश बैंकका बिदेशी संचालक एम शाह अलाम सर्बरलाई प्रभावमा पारी प्रमुख कार्यकारी ढुंगानाले जग्गाको मुल्य बढी राख्न लगाएर घोटाला गरेको स्रोतको दाबी छ । स्रोत भन्छ, 'यस अघि नेपाल इन्भेष्टमेण्ट बैंकले ६० लाख प्रतिआनामा नकिनेको जग्गामा बंगलादेश बैंक किन ८४ लाख हाल्न कम्मर कसेर लागेको छ ?'

यो बिचमा जग्गा खरिद समितिमा एम शाह अलाम सर्बर र दीपक कार्की मात्र भए पनि प्रमुख कार्यकारी ढुंगानाले आफुलाई आमन्त्रित सदस्यको रुपमा चिठी लेख्न लगाएर गैरकानुनी काम गरेका थिए । ढुंगानाको स्वार्थ जोडिएको थिएन भने किन उनले जग्गा खरिद समितिमा अबैध सहभागिता जनाए भन्ने कुरा स्पष्ट छ ।

बंगलादेश बैंकलाई केन्द्रीय कार्यालय निर्माणका लागि जग्गा आबश्यक भई लामो समयदेखि खोजी हुँदै आएको थियो । तर अहिले बैंकले किन्न लागेको सुमार्गीको जग्गा अपायक पर्ने र बैंक जस्तो संबेदनशील संस्थाका लागि सुरक्षित समेत नरहेको बताईन्छ ।

जग्गा खरिद काण्डलाई आफ्नो पक्षमा पार्न गत भदौदेखि रिक्त रहेको स्वतन्त्र अर्थात विज्ञ संचालक नियुक्त नगरी पद खाली राखिएको छ । बिज्ञ संचालकले जग्गा खरिद गर्न उपयुक्त रहे नरहेको राय दिने र निर्णयमा प्रभाव पार्ने हुनाले आफ्नो अनुकुल नहुने देखिएपछि त्यस्ता संचालकको नियुक्तिलाई पछि धकेलिएको बताईन्छ ।

बंगलादेश बैंकले जग्गा माग्दै सार्वजनिक सूचना निकालेपछि सुमार्गीले मुक्तिश्री सिमेन्टको नामको बानेश्वरको अर्को जग्गा पनि बिक्री गर्न निवेदन हालेका थिए भने अरु पाँच वटा निवेदन पेश गर्नेहरु पनि आफ्नो जग्गा बिक्री गर्न बोलपत्र हालेका थिए । तर बंगलादेश बैंकले किन अपायक पर्ने सुमार्गीको जग्गा नै रोज्यो भन्ने प्रश्न गंभीर छ ।

जग्गा बेच्नका लागि आवेदन दिएका अरु जग्गाधनीहरुले भने बैंकले शर्त मुताविक काम अघि नबढाएको, ढिलाई गरेको प्रतिकृया दिएका छन् । केही आवेदकले भने बंगलादेश बैंकसँगको जग्गाको विषयमा कुनै पनि प्रतिकृया नदिने भन्दै पन्छिए ।

प्रमुख कार्यकारी ढुंगानाले सुमार्गीको जग्गा किनेपछि त्यसमा भवन बनाउने योजना तत्काल अघि सार्ने बुझिएको छ  । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।