प्रिमियर इन्स्योरेन्सले तोकिएको चुक्ता पूँजी पुग्ने गरी घोषणा गर्यो बम्पर बोनस

May 31, 2019 Merolagani

प्रिमियर इन्स्योरेन्स (PIC) ले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सको जेठ १७ गते बसेको संचालक समितिको बैठकले झण्डै ८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७९.७९ प्रतिशत बोनस तथा ४.२० नगद लाभांश गरी कुल ८३.९९ प्रतिशत लाभांश घोषणा गरेको हो ।

 कम्पनीले हाल कायम चुक्ता पूँजी ५८ करोड ४० लाखको ७९.७९ प्रतिशत बोनस बापत ४६ करोड ६० लाख वितरण गर्ने छ भने कर प्रयोजनका लागि २ करोड ४५ लाख वितरण गर्नेछ । बोनस बितरण पश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब ५ करोड नाघ्नेछ ।

अघिल्लो बर्ष एफपिओ बिक्री गरेको कम्पनीले १३.५२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा ६४ करोड १९ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको बीमा कोषमा ४७ करोड ८८ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ४ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ३२ पैसा, प्रतिशेयर नेटवर्थ २९९ रुपैयाँ ४३ पैसा र मूल्यआम्दानी ३१.७० गुणा छ।

बीमा समितिको निर्देशन अनुसार कम्पनीले असार मसान्तभित्र एक अर्ब पूँजी कायम गर्नुुपर्नेछ । हाल यो कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता शेयर झण्डै १२ सय रुपैयाँ बराबरमा कारोबार भईरहेको छ ।

comments powered by Disqus