नयाँ बीमा कम्पनीहरुले थाले साढे ७ अर्ब भन्दा बढीको आईपीओ ल्याउने तयारी, कसको पहिले आउँछ ?

Jun 08, 2019 Merolagani

-अरूण पाख्रेन।
याे बर्ष शेयर लगानीकर्ताहरूले बीमाको प्राथमिक शेयरमा लगानी गर्न लगानी गर्ने राम्रो अवसर पाउने भएका छन्।गत बर्ष सञ्चालनमा आएका १० वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनीहरूले सर्वसाधारणको लागि ७ अर्ब १८ करोड ५० लाख रूपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेका छन्।

जीवन बीमा तर्फ ६ अर्ब २८ करोड ५० लाख रूपैयाँ र निर्जीवन बीमातर्फ ९० करोड रूपैयाँ बराबरको आईपीओ आउन लागेको हो। 

नयाँ संचालनमा आएका बीमा कम्पनीहरूले आईपीओ निष्काशनको तयारी गरिरहँदा गत वर्षको लेखा परीक्षण प्रतिवेदन बीमा समितिबाट पारित भएकाे सूचनाकाे पर्खाइमा उनीहरू छन् । त्याे पारित भएपछि मात्र पूँजी बृद्धिको ढाेका खुल्छ । अहिलेसम्म एकवर्ष पुरा नभएर कम्पनीहरूको लेखा परीक्षण प्रतिवेदन आइनसकेकोले तत्कालको लागि चुक्ता पूँजी पुर्याउनु पर्ने दवाव नरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको  भनाई छ । प्रकृया पुर्याइ सकेपछि ती बीमा कम्पनीहरूले आईपिओ निष्काशन गर्न अनुमति पाउने समितिका कार्यकारी निर्देशक पौडेलले बताए ।

 

बीमा समितिको निर्देशन अनुसार चालु आर्थिक वर्षको अन्त्य सम्ममा जीवन बीमा कम्पनीले दुई अर्ब र निर्जीवन बीमा कम्पनीले एक अर्ब न्यूनतम चुक्ता पूँजी पुर्याउनुपर्ने छ । तर नयाँ संचालनमा आएका बीमा कम्पनीहरूको लागि भने यो व्यवस्था लागु नहुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

  • कुन कम्पनीको कति कित्ता आउँछ ?

प्रायजसो जीवन बीमा कम्पनीहरूले आईपिओ निष्काशनको प्रकृया थालिसकेका छन् । कतिपयले साधारण सभाबाट पारित गरेर बिक्री प्रबन्धकको छनौट गरी रेटिङ्ग समेत गराईसकेका छन् । बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब पूँजी कायम गर्न आईपिओ जारी गरेर पुर्याउने तयारी तीव्र भएको छ ।

१० वटै इन्स्योरेन्स कम्पनीहरूले जारी पूँजीको ७० प्रतिशत अर्थात संस्थापक तर्फको १४ अर्ब ६६ करोड ५० लाख रूपैयाँ चुक्ता पूँजी पुर्याइसकेका छन् । बाँकी ३० प्रतिशत अर्थात ६ अर्ब २८ करोड ५० लाख रूपैयाँ भने सर्वसाधारणलाई शेयर निष्काशन गरेर पूँजी संकलन गरिनेछ ।

सबैभन्दा धेरै एक अर्ब ७५ करोड रूपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रूपैयाँको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ५० करोड रूपैयाँ पुग्नेछ ।

चुक्ता पूँजी एक अर्ब ५४ करोड रूपैयाँ रहेको ज्योति लाइफले ६६ करोड रूपैयाँ आईपीओ निष्काशन गर्ने तयारी थालेको छ । ज्योति लाइफले २०७४ माघ १० गतेको साधारण सभाबाट जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड रूपैयाँ पुग्नेछ ।

युनियन लाइफले ६४ करोड ५० लाख रूपैयाँ आईपीओ निष्काशन गर्ने प्रस्ताव कम्पनीको यसअघिको साधारण सभाबाट पारित भइसकेको छ । एक अर्ब ५० करोड ५० लाख रूपैयाँ चुक्ता पूँजी भइसकेको युनियन लाइफको ३० प्रतिशत आईपीओ निष्काशन पश्चात दुई अर्ब १५ करोड रूपैयाँ चुक्ता पूँजी पुग्नेछ । इन्स्योरेन्सले निष्काशन गर्ने आईपीओलाई रेटिङ्ग कम्पनी इक्रा नेपालले इक्रा एनपि आईपीओ ग्रेड ४ प्लस प्रदान गरेको हो । ग्रेड ४ प्लस रेटिङ्गले कम्पनीको समग्र वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको भन्ने जनाँउछ ।

कम्पनीले यसअघि नै एसबिआइ मर्चेन्ट बैंकिङ्गलाई आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरिसकेको छ ।

यस्तै संस्थापकहरूबाट एक अर्ब ४७ करोड रूपैयाँ चुक्ता पूँजी कायम गरिसकेको रिलायन्स लाइफले ६३ करोड रूपैयाँको आईपीओ निष्काशन गरेर दुई अर्ब १० करोड रूपैयाँ चुक्ता पूँजी पुर्याउने तयारी गरेको छ । रिलायन्सले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्ति गरिसकेको छ ।

रिलायबल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स गरी छ वटा कम्पनी ६० करोड रूपैयाँका दरले ३ अर्ब ६० करोड रूपैयाँको आईपिओ निष्काशन गरेर बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्न जुटेका छन् ।

यी कम्पनीहरूले हाल संस्थापकबाट एक अर्ब ४० करोड रूपैयाँ चुक्ता पूँजी  पुर्याइसकेका छन् । प्रत्येकले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्दा सबै कम्पनीहरूको पूँजी बीमा समितिले तोके अनुसार दुई अर्ब कायम हुने छ ।

सन नेपाल लाइफले पनि आईपीओको रेटिङ्ग समेत गराइसकेको छ । सन नेपाल लाइफको आईपीओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ दिएको छ ।
सन नेपाल लाइफले गत फागुन ४ गतेको साधारण सभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

  • निर्जीवन बीमा कम्पनीको ९० करोड रूपैयाँको आईपिओ आउने

अजोड इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स गरी ३ निर्जीवन बीमा कम्पनीको ९० करोड रूपैयाँ बराबरको आईपीओ आउँदै छ । यी तीन बीमा कम्पनीहरू कुनैले पनि व्यवसायिक कारोबार सुरू गरेको एक वर्ष पुगेको छैन् । त्यस कारण आईपीओ निष्काशन प्रकृयाले समय लिनेछ ।

एक वर्षको लेखापरीक्षण प्रतिवेदन  बीमा समितिबाट पारित गर्नुपर्ने भएकोले नयाँ निर्जीवन बीमा कम्पनीहरूको आईपीओ निष्काशनको प्रकृया सुरू भएको छैन् । एक वर्षको लेखा परीक्षण प्रतिवेदन बीमा समितिबाट पारित भएपछि आईपीओ निष्काशन प्रकृया अघि बढ्ने अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले जानकारी गराए ।

तिनैवटा कम्पनीको हाल कायम चुक्ता पूँजी ७० करोड रूपैयाँ छ । न्युनतम एक अर्ब चुक्ता पूँजी पुर्याउन यी कम्पनीले ३० करोड रूपैयाँ बराबरको आईपीओ निष्काशन गर्नुपर्ने हुन्छ ।

कसको पहिले आईपीओ आउला ?

केही बीमा कम्पनीहरुले आबश्यक तयारी गरेरबिक्री प्रबन्धक समेत नियुक्त गरिसकेको हुँदा तिनीहरुको गत बर्षको बित्तीय विवरण स्वीकृतिका साथै संचालनको एक बर्ष पुग्नासाथ धितोपत्र बोर्डले अनुमति दिनासाथ शेयर बिक्रीमा आउँने छ । यसमा कसले बाजी मार्ला भन्ने कुरा यकिन भईसकेको छैन ।

जीवन र निर्जिवन बीमा कम्पनीहरुका साथै नेपाल पुनर्विमा कम्पनीको एक अर्ब ६० करोडको आईपीओ पनि बिक्री प्रक्रिया अगाडि बढेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।