घलेम्दी जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा

Jul 05, 2019 01:13 PM merolagani



उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ ।

आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयारीमा रहेको आयोजनाका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताए ।

उनका अनुसार आयोजनाको विद्युत् गृह, पेनस्टक पाइप, ‘सर्ज ट्याङ्क’, बाँध, बालुवा थिग्राउने पोखरी, बाँधदेखि पोखरीसम्म नहर निर्माण, डिसेण्डर बेसिनलगायत विद्युत् उत्पादनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएपछि आयोजना अन्तिम अनुगमनसहित परीक्षण उत्पादनको तयारीमा जुटेको हो ।

म्याग्दीमा निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक २०७१ सालबाट निर्माण थालिएको आयोजनाको सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिने भएको छ ।

आयोजनाको पहिलो चरणमा उत्पादन भएको विद्युत्लाई दानामा सबस्टेशन निर्माणाधीन अवस्थामै रहेकाले तातोपानी साना जलविद्युत् आयोजनाको प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । निर्माणाधीन दाना सबस्टेशन सञ्चालनमा नआउन्जेलसम्म तातोपानी साना जलविद्युत् आयोजनाको प्रसारण लाइनमार्फत नै प्रसारण गरिने कम्पनी सचिव रिजालले बताए ।

आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले खरीद गर्नेछ । वार्षिक साढे १८ करोड रुपैयाँ बराबरको विद्युत् खरीद गर्ने प्राधिकरणले बर्खायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत् खरीद गर्ने उल्लेख छ ।

म्याग्दीका उद्योगी, व्यवसायी र सर्वसाधारणको गरी कूल रु ९२ करोड लगानीमा शुरु गरिएको घलेम्दी जलविद्युत् आयोजनाको लागत बढेर रु १२० करोड पुग्ने अनुमान गरिएको जलविद्युत् आयोजनाका कम्पनी सचिव रिजालले जानकारी दिए ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।