विदेशबाट आयात गरिने तरकारी तथा फूलफूलमा बिषादी परीक्षण नगर्न भारतले पत्र पठाएर दबाब दिएको बारेमा आफुलाई जानकारी नदिईएको खुलासा प्रधानमन्त्रीले गरेपछि दुई तिहाई बहुमतका प्रधानमन्त्रीलाई गुमराहमा राखेर राज्य संचालन गर्नेहरु को हुन् ? भन्ने प्रश्न उठेको छ ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुलाई भारतीय पत्रबारे पहिले कुनै जानकारी नदिईएको र पछि मात्र थाहा पाएको बताएर अदृश्य शक्तिले देश हाँकिरहेको संकेत गरेका छन् ।
प्रधानमन्त्रीले टेलभिजन सम्बादमा भने, मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो ।’
तरकारी तथा फलफूलमा बिषादी परीक्षणबारे मन्त्रिपरिषदले गरेको निर्णय फिर्ता गरिएपछि प्रधानमन्त्रीले कसैले पत्र नपठाएको दावी गरेका थिए तर उनको भनाई सार्वजनिक भएको भोलिपल्टै संचार माध्यमहरुले भारतले पठाएको पत्र सार्वजनिक गरेर प्रधानमन्त्रीको भनाई झुटो सावित गरिदिएका थिए । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा समेत सरकारको कदमप्रति ब्यापक आलोचना भएको थियो ।
अहिले आएर प्रधानमन्त्रीले भनेका छन्, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस् मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपर्थ्यो ।
देशमा दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्रीको यति निरीह अभिब्यक्तिबाट प्रष्ट हुन्छ, देश कसले चलाईरहेको छ भन्ने कुरा । उनका सल्लाहकारहरु नालायक सावित भईसकेका छन् ।
यस मामिलामा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, संचार मन्त्री गोकुल बास्कोटा र मुख्य सचिव लगायतका आसेपासेहरु पुरै मुछिएका छन् । उनीहरु प्रधानमन्त्रीलाई घेराबन्दी गरेर सुसुचित गर्ने हैन, गुमराहमा राख्न उद्यत छन् भन्ने कुरा प्रष्ट भएको छ ।
यसरी आफैलाई गुमराहमा राख्नेहरुलाई पालेर प्रधानमन्त्री ओली एकपछि अर्को घटनाहरुमा फस्दै गएका छन् । आसेपासेहरुले स्वार्थबश गर्ने हर्कतले सरकार बदनाम भईरहेको छ तर कथित सल्लाहकारहरु सबैतिर राम्रो भईरहेको छ भन्ने कुरा प्रधानमन्त्रीलाई बताएर आफ्नो स्वार्थपुर्ति गरिरहेका छन् ।
सरकारको बदनामी र एकपछि अर्को निर्णयमा पछि हट्न परेकाले सत्ताधारी नेकपाको साख समेत दिनदिनै गुमेको छ र जनतामा अलोकप्रिय भईरहेको छ । यस मामिलामा पार्टी कमिटीलाई बाईपास गरेर अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेलले गर्दै आएका मनोमानीपूर्ण निर्णय पनि उत्तिकै जिम्मेवार छन् ।
यसमा उद्योगदेखि कृषि मन्त्रीसम्म मुछिएका छन्, आफु दोषी देखिएपछि उद्योगमन्त्रीले सचिव र कर्मचारीलाई दोष लगाएका छन् तर यो सरकारसँग हिम्मत छ भने पहिला तिनीहरुको बर्खास्ती हुनुपर्छ ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्रीका ज्वाँई ससुरालाई हटाएर सुझबुझपूर्णं राजनीतिक कमाण्डलाई देशको अर्थतन्त्रको नेतृत्वमा नपुर्याउने र कर्मचारीतन्त्रकै भरमा छाड्ने हो भने एक वर्षकै बीचमा देशले अकल्पनीय आर्थिक संकटको सामना गर्नुपर्ने संकेत पनि देखिईसकेको छ। अर्थमन्त्रीका ज्वाइँ ससुरा प्रधानमन्त्री ओलीका सबैभन्दा भरोसायोग्य सल्लाहकारको रुपमा देखिदै आएका छन् ।
पैसा, शक्ति र प्रलोभनबाट परिचालित हुने कर्मचारीतन्त्रको हातमा मात्र देश छाडेर कहिल्यै विकास र सुशासन हुँदैन, दृढ ईच्छाशक्ति भएको राजनीतिक नेतृत्वले नै पहलकदमी लिनुपर्छ।
प्रधानमन्त्री ओलीले आफ्नै राष्ट्रवादी छवीमा गहिरो धब्बा लाग्ने गरी गुमराहमा राख्ने कथित सल्लाहकारहरुलाई पालि राखेर आफु डुब्ने अरु गहिरो खाल्डो खनिरहने कि घेराबन्दीबाट बाहिर आएर देश र जनताको साथमा अगाडि बढ्ने ? निर्णय गर्न ढिला भईसकेको छ। सर्पलाई जति दुध पिलाएर पालेपनि आफैलाई डस्छ भन्ने कुरा प्रधानमन्त्रीले ढिला नगरीकन बुझ्नैपर्छ।