अहिलेसम्म तीन वटा वाणिज्य बैंक र केही लघुवित्तहरुले गत वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।
हरेक कम्पनीहरुमा लाभांश घोषणा भएको दिनमा शेयरको माग धेरै हुने हुँदा सो दिनको मौका छोपेर लगानीकर्ताले बिक्री चाप बढाउँदा लाभांश घोषणा गर्ने कम्पनीको शेयरमूल्यमा उल्टो असर देखिएर शेयरमूल्य घट्ने गरेको देखिएको छ।
लाभांश घोषणाका दिन शेयरमूल्य घटेर उच्च कारोबार हुनुले पनि त्यसलाई पुष्टि गर्दछ। लाभांश घोषणाका दिन वा भोलिपल्ट अन्य दिन तुलनामा कारोबार संख्या र रकम दुबै बढेर ठूलो परिमाणमा शेयर आपुर्ति चाप थेग्न नसक्दा शेयरमूल्य घट्ने गरेको हो। ठूला कारोबारीहरुले पनि शेयर बिक्री गर्न यस्ता दिनहरुमा अवसर छोप्ने गरेका छन्।
लाभांश घोषणा गरेका अधिकांश वाणिज्य बैंकहरुको शेयरमूल्य घटेको छ भने केही लघुवित्त कम्पनीहरुको शेयरमूल्य बढेपनि अन्यमा सोही प्रवृत्ति देखिएको छ ।
बुधबार मात्रै लाभांश घोषणा गरेको एनआईसी एशिया बैंकको शेयरमूल्य प्रतिकित्ता ८ रुपैयाँ घटेर ४३९ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष १० प्रतिशत बोनस बाँडेको बैंकले यस बर्ष दोब्बर लाभांश वितरण गर्ने प्रस्ताव गरेपनि शेयरमूल्यमा भने उल्टो असर देखिएको हो।
बैंकले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश घोषणा गरेको थियो। बुधबार बैंकको ७२ हजार ६८५ कित्ता शेयर ३६७ वटा कारोबारबाट ३ करोड २० लाख ९४ हजार ४१८ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।
यसैगरि बुधबारै लाभांश घोषणा गरेको अर्को वाणिज्य बैंक कुमारीमा पनि सोही प्रवृत्ति देखिएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ८.५० प्रतिशत बोनस वितरण गरेकोमा गत आवमा १० प्रतिशत पुर्याए पनि शेयर मूल्य बढ्न सकेन। बुधबार बैंकको शेयरमूल्य प्रतिकित्ता २०३ रुपैयाँमा नै स्थिर छ। यसदिन बैंकको एक लाख ७२ हजार ४५३ कित्ता शेयर २८४ वटा कारोबारबाट ३ करोड ५० लाख २० हजार ६७५ रुपैयाँमा शेयर खरिद बिक्री भयो।
उता सामुदायिक लघुवित्तको शेयर प्रतिकित्ता २८ रुपैयाँले घटेर ७४१ मा झरेको छ । बुधबार कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ३४.४५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १. ८१ गरि कूल ३६.२६ प्रतिशतको आकर्षक लाभांश प्रस्ताव गरेपनि शेयरमूल्यमा गिरावट आउने क्रम रोकिएन। बुधबार लघुवित्तको १४६ वटा कारोबारबाट ८ हजार ९३१ कित्ता शेयर ६७ लाख ५ हजार ६०३ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।
भदौ ९ गते सोमबार बजार बन्द भएपछि लाभांश घोषणा गरेको सिटिजन्स बैंकको शेयरमूल्य भोलिपल्ट प्रतिकित्ता ३ रुपैयाँले बढेपनि बैंकको शेयर कारोबार सामान्य परिवर्तन मात्र भयो । सो दिन बैंकको ३० हजार ५६२ कित्ता शेयर १३१ वटा कारोबारबाट ६६ लाख ६९ हजार ३२६ रुपैयाँमा खरिद बिक्री भयो। स्मरण रहोस् अघिल्लो वर्ष ५.२७ प्रतिशत लाभांश बाँडेको बैंकले गत आवको वितरणयोग्य नाफाबाट यस बर्ष ३ प्रतिशत बोनस र १२ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ ।
लाभांश घोषणा गरेका अन्य लघुवित्त कम्पनीहरु समीट माइक्रोफाइनान्स, फस्ट माइक्रोफाइनान्स, आशा लघुवित्त, नेपाल एग्रो, स्वरोजगार लघुवित्त, गणपति माइक्रोफाइनान्स लगायतका कम्पनीहरुको शेयरमूल्य पनि लाभांश घोषणा गरेको दिनमा थोरै बढेपनि लाभांशका कारण स्थिर रहन सकेको देखिँदैन्।
अघिल्लो आको तुलनामा गत आवको मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेपनि शेयरमूल्य घट्नुलाई बजारको लगानीकर्ताको मनोबिज्ञानसँग जोडेर हेर्न सकिन्छ। लगातारको गिरावटका कारण लगानीकर्ता बजारको अवस्थालाई हेरेर शेयरमा लगानी बढाउनुभन्दा खरिद चाप आएको बेला बिक्री गरेर निस्कन थालेको स्पष्ट हुन्छ।