मेरोलगानी डटकमले लगानीकर्ताले चाहे आनुसारको शेयर बजारको जानकारी तथा सूचना प्रवाह एसएमएस सेवा मार्फत पनि सुरुवात गरेको हो। शेयर बजारका लगानीकर्ताको हितलाई मुख्य केन्द्रबिन्दुमा राखेर यसअघि पनि मेरोलगानी डटकमले सूचना, समाचार र विभिन्न तथ्याङ्कहरुको सेवा प्रदान गर्दै आइरहेको छ।
शेयर बजारका लगानीकर्तालाई इन्टरनेट पहुँचभन्दा बाहिर रहेको बखतमा समेत सेवा प्रदान गर्ने उद्देश्यका साथ नयाँ एसएमएस सेवा थप गरि सुरुवात गरिएको मेरोलगानी डटकमका प्रमुख कार्यकारी अधिकृत अतीतलाल श्रेष्ठले बताए।
एसएमएस सेवाबाट ग्राहकले शेयर बजारमा हाल जारी भैरहेका प्राथमिक निष्काशन तथा निकट भविष्यमा निष्काशन हुने तयारीमा रहेका (आईपीओ, एफपिओ, म्युचुअल फण्ड, डिबेञ्चर), हकप्रद, शेयर बजारमा कारोबार भएको आधारमा बजारको समीक्षा (नेप्सेको घटबढ, कारोबार कम्पनी, संख्या र रकम) तथा नाफा कमाउने र गुमाउने कम्पनीहरुको जानकारी, कारोबार रकमका आधारमा लगानीकर्ताको रोजाईमा परि धेरै कारोबार भएको कम्पनीहरुको विवरण तथा आफूले चाहेको कम्पनीको शेयरमूल्यको घटबढ तथा कारोबारको विवरण र समाचार अपडेडको पछिल्लो समाचारको शिर्षक र लिङ्क प्राप्त गर्नसक्ने सीईओ श्रेष्ठले बताए।
यो सेवा एनसेल सँगको सहकार्यमा सुरुवात गरिएकोले एनसेलको सिम प्रयोग गर्ने ग्राहकहरुले मात्र हाल यो सेवा प्रयोग गर्नसक्छन्।
मेरोलगानीले प्रदान गर्ने एसएमएस सेवा प्रयोग गर्न लगानीकर्ताले आफ्नो एनसेल सिमबाट मेरोलगानी डटकमलाई एनसेलले प्रदान गरिएको युएसएसआडीबाट सेवा लिन सक्नेछन्। जसका लागि *१७१७४# डायल गर्नुपर्छ। यसपश्चात ग्राहकको मोवाइलमा मेरोलगानी एसएमएस अर्लट्स योजना अन्तर्गतका सेवाहरु स्क्रिनमा देख्नेछन्। जस अन्तर्गत ग्राहकले आफ्नो प्लान अनुसारको सेवा एसएमएसमा जवाफ पठाएर सुचारु गर्न सक्नेछन्।
योजना अन्तर्गत एक हप्ता अवधिको लागि एक पटक मात्र मान्य हुने सेवा र हरेक हप्ता स्वत: नविकारण हुने एक हप्ता अवधिको योजना छ। यस्तै मासिक योजना अन्तर्गत पनि एक पटक मात्र मान्य हुने एक महिना अवधिको सेवा र हरेक महिना स्वत: नवीकरण हुने एक महिने सेवा योजना छनौट गर्न सक्नेछन्।
ग्राहकले एक हप्ता अवधिको सेवा लिनका लागि प्रतिहप्ता २५ रुपैयाँ ५३८ पैसा तथा मासिक योजना प्रति महिना ६३ रुपैयाँ ८४५ पैसा शुल्क तिर्नुपर्ने हुन्छ। स्वत: नवीकरण हुने योजना छनौट गरेका ग्राहकले सोही रकमको अनुपातमा साप्ताहिक अथवा मासिक रुपमा शुल्क तिनूपर्ने हुन्छ।
स्वत: नवीकरण हुने योजनामा छनौट गरेका ग्राहकले आफूलाई सेवा लिन नचाहेको खण्डमा *१७१७४# डायल गरि जवाफमा ९ पठाएर सेवा बन्द गर्न सक्नेछन्। एक पटकको लागि मात्र सेवा लिने ग्राहकले पुन: सेवा लिन चाहेको खण्डमा फेरि सेवा सुचारु गर्नुपर्ने हुन्छ।
योजना अवधिभरका लागि एक पटक रकम तिरेपछि जतिसुकै वटा एसएमएस पठाएपनि सेवा समयावधिका लागि थप शुल्क लाग्नेदैन।
एसएसएस सेवा लिने ग्राहकहरुलाई मेरोलगानी आफैँले सार्वजनिक निष्काशनमा आउने आईपीओ तथा हकप्रद निष्काशन हुनुपूर्व नै निष्काशन हुने मिति, निष्काशनमा आउने शेयर कित्ता र बन्द हुने मिति समेत एसएसएस मार्फत पठाउनेछ ।जसबाट आईपीओ वा हकप्रद भर्न छुट्ने सम्भावना कम हुन्छ।
केही समयभित्रै ग्राहकले बाचलिस्टमा राखेका सर्ट लिस्टेड कम्पनीको शेयरमूल्यमा निश्चित प्रतिशत घटबढ हुँदा समेत एसएसएस मार्फत जानकारी पठाउने व्यवस्था गर्ने भएको छ। यसले रोजाइको कम्पनीको शेयरमूल्य घट्दा खरीद गर्न र शेयरमूल्य बढ्दा बिक्री गरेर मुनाफा आर्जन गर्नसक्ने अवसरको सिर्जना गर्ने विश्वास मेरोलगानीले गरेको छ।
एसएमएस सेवा मार्फत लगानीकर्ताले शेयर बजारमा निष्काशन भैरहेका र निकट भविष्यमा छिट्टै निष्काशनको तयारीमा रहेको कम्पनीको विवरण हेर्न सक्नेछन्। जसका लागि सेवा सुचारु गरेका ग्राहकले आईपीओ (IPO) टाइप गरि १७१७४ मा एसएमएस पठाउनुपर्ने हुन्छ।
यसपश्चात लगानीकर्ताले हाल जारी भैरहेको कम्पनीको विवरण, कूल निष्काशित कित्ता, शेयर निष्काशन भएको मिति र आवेदन गर्न पाउने अन्तिम मितिको जानकारी प्राप्त गर्न सक्नेछन्।
एसएमएस सेवा मार्फत लगानीकर्ताले शेयर बजारमा निष्काशन हकप्रद र निकट भविष्यमा छिट्टै हकप्रद निष्काशनको तयारीमा रहेको कम्पनीको विवरण हेर्न सक्नेछन्। जसका लागि सेवा सुचारु गरेका ग्राहकले आरजिटी (RGT) टाइप गरि १७१७४ मा एसएमएस पठाउनुपर्ने हुन्छ।
यसपश्चात लगानीकर्ताले हाल हकप्रद जारी गरिरहेको कम्पनीको विवरण, कूल निष्काशित हकप्रदको कित्ता, निष्काशन भएको मिति र आवेदन गर्न पाउने अन्तिम मितिको जानकारी प्राप्त गर्न सक्नेछन्।
- उच्च नाफा कमाउने पाँच कम्पनी
सेवा सुचारु गरेका ग्राहकहरुले टि जी (TG) टाइप गरि १७१७४ मा एसएमएस पठाउनुपर्ने हुन्छ। जसबाट ग्राहकले पछिल्लो कारोबार दिनको आधारमा उच्च मुनाफा कमाउने पाँच कम्पनीको अन्तिम कारोबार मूल्य, शेयरमूल्य वृद्धिको प्रतिशत, र कारोबार भएको शेयर कित्ताको विवरण प्राप्त गर्न सक्नेछन्।
सेवा सुचारु गरेका ग्राहकहरुले टि एल (TL) टाइप गरि १७१७४ मा एसएमएस पठाउनुपर्ने हुन्छ। जसबाट ग्राहकले पछिल्लो कारोबार दिनको आधारमा उच्च गुमाउने पाँच कम्पनीको अन्तिम कारोबार मूल्य, शेयरमूल्य गिरावटको प्रतिशत, र कारोबार भएको शेयर कित्ताको विवरण प्राप्त गर्न सक्नेछन्।
- लगानीकर्ताको रोजाईमा परेको शिर्ष पाँच कम्पनी
एसएमएस सेवा मार्फत लगानीकर्ताले दैनिक कारोबार रकमको आधारमा शेयर बजारमा उच्च कारोबार भएको शिर्ष पाँच कम्पनीको विवरण पनि हेर्न सक्नेछन्। जसका लागि सेवा सुचारु गरेका ग्राहकले टि एस (TS) टाइप गरि १७१७४ मा एसएमएस पठाउनुपर्ने हुन्छ। जसबाट ग्राहकले पछिल्लो कारोबार दिनको आधारमा उच्च रकमको कारोबार भएको पाँच कम्पनीको अन्तिम कारोबार मूल्य, शेयरमूल्य वृद्धि।गिरावटको प्रतिशत, र कारोबार भएको शेयर कित्ताको विवरण प्राप्त गर्ने सक्छन्।
एसएमएस सेवा मार्फत लगानीकर्ताले शेयर बजारको दैनिक समीक्षाको विवरण समेत हेर्न सक्नेछन्। जसका लागि सेवा सुचारु गरेका ग्राहकले एम एस (MS) टाइप गरि १७१७४ मा एसएमएस पठाउनुपर्ने हुन्छ। जसअन्तगर्त नेप्से सूचकमा भएको वृद्धि/गिरावट अंक र प्रतिशत, कारोबार संख्या, दैनिक कारोबार भएको कूल रकम र कूल बजार पूँजीकरण हेर्नसक्छन्।
- कुनै एक कम्पनीको विस्तृत जानकारी
एसएमएस सेवाबाट ग्राहकले आफ्नो चासोमा रहेको कम्पनीको विस्तृत विवरण एसएमएस सेवा मार्फत पाउन सक्छन्। जसअन्तर्गत ग्राहकले कम्पनीको अन्तिम कारोबार मूल्य, घटबढ भएको प्रतिशत, घटबढ भएको रुपैयाँ, अन्तिम पटक कारोबार भएको शेयर कित्ता र सम्बन्धित कम्पनीको दिनभर कारोबार भएको कूल शेयर कित्ताको विवरण हेर्न सक्नेछन्।
जसका लागि एस पि स्पेस दिएर आफुले हेर्न चाहेको कम्पनीको नेप्सेमा कारोबार हुने संकेत टाईप गरि १७१७४ मा एसएमएस पठाउनुपर्ने हुन्छ। उदाहरणका लागि नबिल बैंकको विस्तृत विवरण हेर्नका लागि एसपि स्पेस एनएबिआइएल (SP NABIL) टाइप गरि १७१७४ मा एसएसमएस पठाए पश्चात नबिल बैंकको विस्तृत विवरण प्राप्त हुन्छ।
एसएमएस सेवाबाट मेरोलगानी डटकममा प्रकाशित पछिल्लो समय अपडेट भएको ताजा समाचारको शिर्षक र सो समाचारको लिङ्क प्राप्त गर्न सक्छन्। जसका लागि ग्राहकले एनईडब्लुएस (NEWS) टाइप गरि १७१७४ मा एसएमएस पठाउनुपर्ने हुन्छ।
नयाँ प्रयोयकर्ताले मेरोलगानीले प्रदान गर्ने सेवा कसरी लिने भन्ने सम्बन्भमा लगानीकर्ताले एचइएलपि (HELP) टाइप गरि १७१७४ मा एसएमएस पठाउन सक्छन्। यसबाट मेरोलगानीको एसएमएस सेवा लिने तरिका प्राप्त हुन्छ।