एनएमबि बैंकले उचाल्यो कारोबार रकम, एनएमबिको मात्रै कूल कारोबारको ३० प्रतिशत

Nov 07, 2019 04:22 PM Merolagani

पछिल्लो समय २० करोड हाराहारीको शेयर कारोबार भैरहेको शेयर बजारमा कार्तिक २१ गते बिहीबार ३७ करोड बढीको शेयर खरीद बिक्री भएको छ। मर्जर प्रक्रियाका कारण साढे ५ महिनादेखि दोस्रो बजारमा कारोबार रोकिएको एनएमबि बैंकको शेयर कारोबार खुलेसंगै बिहीबार उच्च कारोबार देखिएको हो।

एनएमबिसँगै मर्जर गरेको ओम डेभलपमेन्ट बैंकको  पनि १४ महिनादेखि शेयरधनीले कारोबार गर्न नपाएकाले बिहीबार लगानीकर्ताहरु एनएमबि बैंकको शेयर किनबेचमा झुम्मिएका हुन्।

यस दिन एनएमबिको मात्रै ११ करोड २६ लाख ४३ हजार भन्दा बढीको शेयर किनबेच भएको छ। यो बिहीबार भएको कूल कारोबार रकम ३७ करोड ४१ लाख ५० हजार रुपैयाँको ३०.१२ प्रतिशत हुन आउँछ। यस दिन १ सय ६३ कम्पनीको १२ लाख ९६ हजार ८८७ कित्ता शेयर किनबेच भएको छ। बैंकको ३ लाख २८ हजार १५१ कित्ता शेयर ९७१ पटक कारोबार भएको हो।

उच्च कारोबार भएपनि यस दिन एनएमबिको शेयरमूल्य भने १.२३ प्रतिशत अर्थात ४.३२ रुपैयाँ घटेको छ। मर्जरपछि पहिलो कारोबारको लागि नेप्सेले ३५१.३२ रुपैयाँ ओपनिङ्ग मूल्य तोकेको थियो। लामो समय कारोबार गर्न नपाएका ओम डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु विशेष गरी यस दिन नाफा सुरक्षित गर्न शेयर बिक्री गर्नतर्फ लागेको विश्लेषण गरिएको छ।

यस दिन प्रभु बैंकको ५ करोड ६५ लाख र नेपाल बैंकको करिब ३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। 

त्यसैगरी नबिल बैंक र प्रभु बैंककै संस्थापक शेयरको कारोबार रकम १ करोड नाघेको छ।

नेप्से परिसूचक यस दिन ६.०५ अंक घटेर ११३१.९७ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स १.४, फ्लोट ०.४६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४५ अंक घटेको छ।

  • साल्ट ट्रेडिङ्गको शेयरमूल्यमा सकारात्मक सर्किट

बुधबार सकारात्मक सर्किट लागेको साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्यमा दोस्रो दिन बिहीबार पनि सकारात्मक सर्किट लागेको छ। यस दिन कम्पनीको शेयरमूल्य ७२ रुपैयाँ बढेर ७९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनीको शेयरमूल्य बढेसंगै व्यापार समूहको परिसूचक पनि बढेको छ।

यसदिन कारोबार भएको ३ हजार २८५ कित्ता शेयर ब्रोकर नम्बर ५१ मार्फत मात्रै बिक्री भएको छ ।  यो ब्रोकर मार्फत मात्रै ३ हजार १६५ कित्ता कारोबार म्याचिङ्ग कारोबार भएको छ भने १२० कित्ता अन्य ब्रोकरलाई बिक्री गरेको छ।

यसदिन एनआईसी एशिया ग्रोथ फन्डको इकाईमूल्य ३.९३ प्रतिशत, सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य ३.८०, नेशनल हाइड्रोपावर कम्पनीको ३.७७ र रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २.९७ प्रतिशत बढेको छ।

 

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन ५.१९ प्रतिशत, ओरियन्टलको ४.४७, सिनर्जी पावर डेभलपमेन्टको ४, खानीखोलाको ३.५७ र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरको ३.०५ प्रतिशत घटेको छ।

  • ओम छुट्टिएपछि नेप्सेले विकास बैंक उपसमूहको परिसूचक मिलाउन सकेन

यस दिन १२ उपसमूहकै कम्पनीहरुको कारोबार भएपनि विकास बैंक उपसमूहको परिसूचक भने नेप्सेको आधिकारिक वेभसाइटबाट हराएको छ।

ओम डेभलपमेन्ट बैंक एनएमबिमा गाभिएपश्चात विकास बैंक उपसमूहको परिसूचक मिलान भइरहेका कारण वेभसाइटमा नदेखिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए। यद्यपी अन्य विकास बैंकहरुको कारोबार भने यस दिन भएको थियो ।

व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ६.१८ प्रतिशत बढेको छ भने म्युचुअल फन्डको ०.३८ र निर्जीवन बीमाको ०.२९ प्रतिशत बढेको छ।

होटल उपसमूहको परिसूचक यस दिन १.४५ प्रतिशत, जीवन बीमाको ०.७९, जलविद्युतको ०.७६, बैंकिङ्गको ०.६४, वित्तको ०.५८, अन्यको ०.५८, उत्पादनको ०.१९ र लघुवित्तको ०.०३ प्रतिशत घटेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।